Monday, January 30, 2012

शहिदहरुप्रति

प्रिय शहिदहरु !
तिम्रा सपनामा मैले आफूलाई समाहित गरेको छु
तिम्रा बलिदानमा मैले आफूलाई प्रवाहित गरेको छु
म आँसु चुहाउन्न, मानिसका आँसु कृतिम भैसके
म श्रद्दान्जली छपाउन्न, खोक्रा औपचारिकता भर्दिन
न जुलुस धाउँछु, न शालिक सजाउँछु
आस्थाविहिन विवेकहीन भीडमा किन सल्बलाउँछु?
कुनै कृतज्ञता होइन त्यो, प्रिय सपुतहरु
तिमीले आफूलाई बलिबेदीमा चढाएर देशको माया गर्यौ
हामीले बाँचेरै पनि देशको माया गर्न सक्नुपर्छ
तिमीले सहादत भएर देशलाई स्वतन्त्रता दियौ
हामीले बाँचेरै त्यसको रक्षा गर्नुपर्छ
र औजारहरु बोकेर देश निर्माणमा जुट्नुपर्छ
खोइ, यहाँ त सधैंभरि युद्द र कटाक्षका कुरा चलेका छन्
आफ्ना कृत्य कुकृत्यमा जोसुकैले 'शहिद' बोलेका छन्
प्रिय शहिदहरु
इमान्दारीपूर्वक
मैले आफ्नो बारीमा सुंदर सब्जीहरु उब्जाउँछु
मैले आफ्नो खेतमा सुनौला अन्नहरू लहलहाउँछु
मैले जागिरमा आफ्नो उत्तरदायित्व निभाउँछु
मैले ब्यापारमा आफ्नो धर्म राख्छु
म पढाउँछु र देशका नागरिक बनाउँछु
यसरी प्रत्येक पेशामा आफ्नो पौरख अर्पनु
यो पनि तिम्रै सपना होइन र शहिदहरु
नारा र भाषण भन्दा बेग्लै
छुट्टी र सडक नामाकरण भन्दा बेग्लै
एउटा कलाकारको सुंदर कलाकृति पनि तिम्रै सपना होइन र ?
एउटा कविको सुंदर कविता पनि तिम्रै सम्झना होइन र ?
माटोका प्रत्येक कण कण सजाउने तिम्रो सपना
बगैंचाका प्रत्येक छेउ कुना रंगाउने तिम्रो संकल्प
सबैले आफ्ना आफ्ना काँधहरु थापेर देशलाई बोकिदिए....
सबैले आफ्ना आफ्ना औंलाहरु चलाएर माटोलाई गोडीदिए.....
कुर्चीहरुले कर्तब्य नलत्याईदिए....
झन्डाहरुले गन्तब्य नबिर्सिदिए.....
हामीले आफ्नो शिर उठाउन केही गर्यौं भने
देश आफैं माथि उठ्ने छ
हामीले आफ्नै पैतालामा उभिन केही गर्यौ भने
देश दह्रोसंग उभिने छ
प्रिय शहिदहरु
मैले त शहादतलाई धड्कनमा सजाएको छु - जीवन वहार मानेर
मैले त बलिदानलाई स्पन्दनमा अटाएको छु - जीवन उपहार भनेर
तिम्रो उपकारको ऋणी छु म,
त्यसैले
एकमिनेट मौनधारण नगरेरै पनि तिम्रो आवाज सुनेको छु
प्रभातफेरीमा नझुल्केरै पनि तिमीले हिंडाएको बाटो चिनेको छु !

Saturday, January 21, 2012

असन्तुष्टिका दुई स्वर


बिडम्बना

घाम देख्न खोजिरहेछ

बादल छेक्न खोजिरहेछ

घाम टेक्न खोजिरहेछ

बादल अँचेट्न खोजिरहेछ

घाम लेख्न खोजिरहेछ

बादल मेट्न खोजिरहेछ

हरे, यो घम्साघम्सीले

जुग रेट्न खोजिरहेछ

-------------------


कटाक्ष

धरोधर्म,

कसैले बुझेको भए

मरिजानु , तिम्रो कविता !

यो के भनेको हो,

"विसंगत जिजीबिषा"?


शब्दका ठेलीमा बल्छी खेलेर

दुरुह अभिव्यक्तिको झ्यांग जेलेर   

विद्वताको नाममा बिचित्रै रमिता !

यो के भनेको हो,

“निर्बासित अस्मिता”?


जब मैले लेख्छु सीधा सीधा कुरा

तिमीलाई लाग्दो हो, ‘कठै, बेसुरा!’

फुटी-कौडी भेटिएन, काव्यिक संहिता ?

तर भावले टिलपिल ! देख्यौ नि पुरा ?


Friday, January 13, 2012

कसम

तिलोत्तमाले भनी-

गौतम !

तिम्रा कवितामा निकै उपदेश छन्

प्रशस्तै संदेश छन्

देश त झन् हरफैपिच्छे छन्

बिदेश भोगेका अवशेष पनि छन्

तर तिनमा

म प्रतिको अनुराग कहीं भेट्दिन म,

आशक्तिको थोपो देख्तिन म !

हेर न,

कविहरु कस्ता मीठा मीठा गीत-गजल लेख्छन

प्रियतमको साथमा मोहनी भेट्छन्

तिमी खाली हावामा तैरिरहेका छौ

निर्जन मरुभूमिमा फैलिरहेका छौ


मैले भनें -

तिलोत्तमा !

देश जल्दा मन पनि जल्दोरहेछ

देश बल्दा मन पनि बल्दोरहेछ

समस्याले पो खोप्दो रहेछ मेरा कविता

सन्तुष्टिले छोप्दो रहेछ मेरा कविता

कहिलेकाहीं झसंग हुन्छु -

म त कलम मात्रै न रहेछु !


पर्ख प्रिय,

यो कसम भो ,

तिम्रो लागि पनि लेखुँला

बिहानको घाममा डुबेको

यौटा उज्यालो कविता !

पूर्ण चन्द्रले भिजेको

यौटा मोहक कविता !

Saturday, December 31, 2011

हिउँप्रतिको अनास्था












खासैमा हिउँ

टाढाको एउटा मोह रहेछ

तृष्णाको फोस्रो आरोह रहेछ

पहाडहरु माथि चुलिएर

रंगबिरंगले सजिएर

दिनमा चारपटक रुप फेरेपनि

हिउंसंग

खासै सौहार्द्रता केही रहेनछ

खासै आत्मियता केहि रहेनछ


मुक्तिनाथ यात्रामा निस्केका हामीहरु

हिउँ हेर्न भनेर दंग थियौं

हिउँमा हिंड्ने भनेर फुरुंग थियौं

पहाड माथिबाट जहाज उड्दै गर्दा

एक चोक्टा हिउँ कतै देखेपनि

‘ऊ हिउँ’ भनेर कराउँथ्यौं

हिउँको बिशाल फाकट कल्पेर

रहस्यको नगरीमा हराउँथ्यौं

अब भने हामी आफैंप्रति हाँसिरहेछौं

हिउँका चालबाजीका कथा गाँसी रहेछौं


बताससंग फुर्र फुर्र उडेर

आँखा आँखामा बिझाउन आउने

ढिस्का ढिस्का खसेर

ठाउँ कुठाउं

बाटो खोल्सो एकसमान जमाउने

यो के गरेको हो हिउँले ?

हिंड्दा हिंड्दै गुमराह भयौं हामी

खच्चड पो बन्यो हाम्रो कोलम्बस त्यसपछि

उसका पाउछाप हाम्रा राजमार्ग !


यार, त्यत्रो दोस्ती बोकेर गइयो हिउँ भनेर

दिनभरी उसकै प्रदेशमा हिंडियो, लखतरान हुँदै

हर्हरी खरो त उठायो नै,

अनुहारभरि पोतोले डामेको रहेछ

भुवै भुवाले

अटेसमटेस जीउ ढाक्दा पनि

रातै हुनेगरी

नाक, कान र औंलामा छामेको रहेछ

दिउँसो त अरु हेर्न मन भएन,भएन

राति सपनामा पनि

सुकलाम्य सेतोपनले गिथोल्न आइपुगेपछि

हामी हतार हतार घर फर्क्यौं


ए हजुर ,

आफु त्यस्तो चिसो भएर पनि

आगो झैं भत्भती पोल्न खोज्ने

हिउँको बेइमानीको के कुरा गरौँ

घामसंग आफु हारेको रिसमा

पाइला पाइलामा अरुलाई चिप्ल्याउने

हिउँ त खुनी, बैगुनी पो रहेछ


बहुरुपी भएपनि

हिउँ उसैलाई भनेर मरिमेट्नु पर्ने

बहुगुणी चिज होइन रहेछ

हिउँ, ‘आहा’ भनेर मक्ख हुँदै

छुनजाने चिज होइन रहेछ !

Saturday, December 17, 2011

केहि थुंगा / केहि गुच्छा

ईन्द्रधनुष

त्यतिन्जेल नटांग

कि माकुराले जाल हालोस्

--------------------------

रुख नढाल 

तार फेरि चुँडिन्छ

बत्ति पर्खीबस्नेको मन कुंडिन्छ

------------------------------------

सुनसान जंगल

हतार-हतार हिंड्दा

आफ्नै प्रतिध्वनि

--------------------------

हल्का हिमपात

घामको हस्तक्षेप

सबथोक धुवाउंछ

--------------------------

तीखा कांस

हरेकको टुप्पामा

शीत उनेको

---------------------------

खेतको ठूलो ढुङ्गो

उप्काएर फालेपछि

गहिरो भ्वांग !

------------------------

युद्धका महानायक

बुद्धका गायक 

पैसाको पायक !

----------------------


नेपालको राजनीति

बाह्रै मास फुल्ने

तर कहिल्यै नफल्ने

ओत/छायाँ पनि राम्रो नदिने

बतास पनि छेक्न नसक्ने

तैपनि

सबैलाई अल्झाईरहने

अजबको रुख

के हो भनि कसैले सोधे भने

भन्दिनु,

त्यो यहि कविताको शिर्षक हो |

------------------


झाल र रुख

लहरे झाललाई हेरेर

रुखको अन्दाज नलाउनु

बर्खामा

झालहरुले छपक्कै छोप्छन रुखलाई

झालका पातलाई नै रुखका भन्ठानौला

झालका डाँठलाई नै रुखका भन्ठानौला

त्यो गल्ती नगर्नु

झाल पन्छाएर हेर्नु

बरु यसो गर्नु ,

हिउंदमा पढ्नु रुखलाई !

----------------


मणिहरु

मणिहरु असाध्यै सफा थिए

निकै उज्यालो चहक थियो तिनमा

हजारौं रंगीबिरंगी स्वप्नहरुको

आभा छल्किन्थ्यो

दुर्भाग्यबश ती घुले

खूब चाख मानेर, पानीमा

बर्षौंसम्म यसरी घुलिरहे कि   

पानीको बदलिँदो स्वादको

हेक्कै भएन तिनलाई

अब संतृप्त भएर

फेरि केही उत्रेका छन् सतहमा

जे पनि घुलेर

पानी सहिनसक्नु फोहोर भएको ज्ञान छ तीसँग

तर घुल्न तयार भै बसेका

अरु नयाँ सफा मणिहरु

त्यो कुरो पटक्कै सुन्न चाहंदैनन |

Friday, December 2, 2011

देश फर्कने कुरा

थुइक्क!

स्टेट्स र क्यानाडाको मौसमको कुरा छाडेर

लन्डन ओलम्पिकको रमझमको कुरा छाडेर

सिड्नी र पेरिस घुम्दाका प्रसंग नजोडेर

किन प्वाक्क सोधें हुँला मैले

जाबो देश फर्कने कुरा ?

गफै निकाल्नलाई

एप्पल र गुगल पनि त थिए नि !

शेयर मार्केटको उतार चढाव

'रिसेसन' र 'बबल' पनि त थिए नि !

------------------------------------------------------------

परदेशमा

हामी संगै एउटा रात्रिभोजमा छौं

भित्तामा देशकै तस्वीर टाँसिएको छ

तिनकुने झन्डा समेत टांगिएको छ

माहोल पनि किन्चित भिन्न छैन देशको भन्दा

तिमी भन्दैछौ-

“हेर्नुस्,

संबिधान अझै बनेको छैन

बन्ने छाँट पनि देखिंदैन

हड्ताल, बन्द र चंदाबाजी उस्तै छ

हत्या, अपहरण र गुन्डागर्दी उस्तै छ

यत्रतत्र राजनीतिक हस्तक्षेप छ

सर्बत्र घुसपैठ र दाउपेच छ

केहि गर्न खोज्नेलाई पनि

गरिखान दिए पो,

देख्नुभएन

अस्ति एउटा उद्दोग नै बन्द भो ?“


म सुनिरहन्छु、

“अँ, हो ” पनि भनिरहन्छु、

तिमी अझै थप्छौ-

“यहाँ यस्तो राम्रो, ब्यबस्थित छ

सबकुरा सफा, सुन्दर, सुरक्षित छ

बच्चाबच्ची पनि रमाएकै छन्

महिनावारी भत्ता समेत पाएकै छन्

बिजुली, पानी सबथोक फालाफाल छ

हेर्नुस् त काठमान्डूमा के हाल छ ?

किनेर खाने चिजमा कुनै छैन भरोसा

पढिहाल्नुभो होला नि गुद्पाकको तमाशा ! “


म मुण्टो हल्लाउँछु

तिमी झन् उत्साहित हुँदै भन्छौ-

“बरु हजुर,

बिदेशमै बसेर

हामीले देश बचाएका छौं

अर्थतन्त्र गिर्न नदिन

रेमिटान्स पठाएका छौं

चाडबाडमा जमघट गरेर

संस्कृति समेत जोगाएका छौं

देशको माया कसलाई हुँदैन र ?

सकेसम्म त राखेकै छौं नि स्वदेशको नाम

अब उतैकाले गरे पो हुन्छ राम्रो काम !

हैन र हजुर ?”


बिस्तारै तिमी यसो पनि भन्छौ-

"पाखुरीमा बल छउन्जेल

२/४ पैसा कमाउने बेलामा

यस्तो स्वर्गजस्तो ठाउँबाट

देशै भनेर फर्कने कुन मुर्ख होला र ?”


बिदा हुने बेलामा

लामो अभिवादन गर्दै

मनमनै तिमीलाई भनिरहें -

“यत्तिका जानकार,

दिग्गज होनहार,

तहैपिच्छेका छात्रवृत्ति,

मानपदवी, अलंकार

तिमी नै यसो भन्दैछौ

उसोभए

कसले बनाइदिएर

कहिले देश फर्कौला तिमी ?”

--------------------------------------------------------------

देश नफर्कनलाई तिमीसंग अनगिन्ती तर्कहरु छन्

देश फर्कनलाई तिमीसंग अनगिन्ती शर्तहरु छन्

तिनको झारफुक समाधान नदेखेर हो कि

तिम्रा शब्दका अस्थिपंजरमा विदेश पलाइरहेको देख्छु म

तिम्रो देशप्रेमको परिभाषाबाट देश डराइरहेको देख्छु म !


javascript:void(0)