Tuesday, December 31, 2013

आलु (र ) कविता




















एकदिन म
कविताको बिषय खोज्दै थिएँ,
चेतनले भन्यो,
हामी स्कूलको होस्टेल बस्दा 
आलु ताछ्थे एकजना दाई,  
चालीस बर्ष
आलु ताछेरै बित्यो उनको,
आखिर एकदिन
आलु ताछ्दाताछ्दै 
ड्यांङ्ग लडेर बिते उनी,
आह ! जीबन यसरी पनि कट्दो रहेछ !

उस्का कुरामा कुनै काब्य-तत्व नभेटेर
भित्तातिर फर्कें,
र एकछिन सोचिरहें,
हठात् सम्झें, 
म पनि चालीस बर्ष पुगें
थाहै नभई,

टीक-टीक बजिरहेको भित्तेघडी देखाएर
बुझक्कड झैं, उसलाई भनें –
हेर, धेरै सालपछि भेट्यौं हामी,  
संसारलाई यसरी कुदाउने घडी त
आफु जहाँको त्यहीं रहन्छ,  
र एकदिन प्वाक्क खसेर फुट्छ, भुइंमा  
जीवन त्यस्तै न हो !  

उसले के बुझ्यो, कुन्नि !  
आफ्नै उत्तरले असन्तुष्ट म भने
अझै पटक पटक झस्किन्छु -
कतै म पनि
आलु ताछिरहेको त छैन,
यस्तै कविताको नाममा ? 

Sunday, December 29, 2013

मौन- सम्बोधन


-१-

मनमनै भनें,

सबै कुरा भनें,

भगवानलाई भनें,

यसो गर्दा-

कसैसंग बाझाबाझ हुने गुन्जायस रहेन !


-२-

यो हजुरको कथन

सधैं रहोस् मनन् -

कि, हजुर श्रीखण्डको गींड

हामी खुर्पाका बींड,

हरपल टलपल ढलपल

हजुरको दम्भ

चलमल, अलमल गर्न नमिल्ने

हामी स्तम्भ,

होशियार छौं पलपल,

जब चढ्छ सरकारको पारो

खसिजान्छ नभको तारो

संसार बन्छ अँध्यारो


हजुर श्रीपांच - लवज! ठाँट!

हामी घाँस, पलाँस

हजुर दानी, अन्तर्यामी

हामी छुद्र, अज्ञानी

बात हजुरका महाबाणी

ईश्वर, नश्वर मुग्ध दिवानी,

कोही छिर्छ जब तारिफ गाउँदै

लुसुक्क, हजुरको दरबार

पाउँछ रे किमती उपहार, पुरस्कार

तैपनि घट्ने नाम लिन्न रे,

हजुरको अथाह भण्डार !


हजुर कुलीन, सुगन्धी-मगमग

हामी कीट-पतंग, रगरग

हजुर, मानिसभन्दा माथि

तैपनि बित्थैं दाँजिने हर्कत

गर्छ किन यो अटेरी छाती ?



रोकेर करले यसको धड्कन

जनाउँछु आफ्नो पूर्ण समर्थन

कि यो बातमा, म छु दृढ,

हजुर पावन श्रीखण्ड-गींड

हामी नगन्य खुर्पाका बिंड !

Tuesday, December 17, 2013

झोला
















लामो यात्रासंगै
म अत्यन्त थकित भैसकेको थिएँ,
हतार हतार झोला निकालेर
सिरानीमुन्तिर आड लगाउंदै 
लजको खाटमा
पल्टें र भुसुक्कै निदाएं,
हठातको मेरो निर्णय देखेर  
झोला सोचमग्न देखिन्थ्यो

कति बेला हो कुन्नि
झोलाका दुई फिता
दुई हात झैं बनेर उसका
पहिले सुस्त..री मलाई
र पछि आफैलाई छामेको देखें
एक एक गरी
गन्तीको शैलीमा झोला भट्टयाउँदो रहेछ -
अलिकति चिउरा र दालमोठ 
एक बोतल पानी, एक सानो मग  
आधि खोलेको बिस्कुट
आधा चाउचाउ,
यहाँ उहाँ टन्नै कोचिराखेका कपडा
एउटा टर्चलाइट, एकजोर थप ब्याटरी
एक पुरिया साबुन
फेरि अलिकति धुलो डिटरजेन्ट पनि
प्लास्टिकमा बाँधी राखेको,
रेजर, ब्रश र दंतमन्जन
सेभिंग क्रिम र सन्स्क्रिन
ओडोमस – लामखुट्टेको कवच  
एक तौलिया र एकरोल टिस्सू छुट्टै
क्यामेरा र चार्जरहरु
शिरैमा थपक्क राखेको
आइफोन, चश्मा र घडी 
बाहिरी खल्तीमा केहि किताबहरु
एउटा कलम, नोटबुक र नक्सा पनि
अलिकति औषधिहरु र घाऊ छोप्ने टेप
अरु खासै केही भेटिएन,
यति भएपछि यात्रा बन्दो रहेछ
लामै यात्रा,   

एकाएक बिजुली चम्के झैं
झोलाको अग्रभागमा
दुई आँखा झिमिक्क खुले
र झोला चलमलायो,
उसलाई मनमनै लाग्यो होला -
तिमीसंग भएको सबै त मैसंग छ 
आफैं एउटा यात्रा हिंड्छु अब

साँच्चै, पुलुक्क मतिर हेरेर
झोला हिंड्यो
गंडयौला झैं घिश्रेर ढोकासम्म,
ऊ बाहिर निस्कनासाथ
ठूलो आबाज आयो
भर्यांगको दंगदंग पछि   
एक्कासि भुइंमा पछारिएको आवाज !

मेरो निद्रा खुल्यो
बेशक झोला ठाउँमा थिएन
निस्की हेर्दा  
पर्खालले घेरेको लजको आँगनबाट
लाख प्रयाश गर्दा पनि
कतै बाहिर उम्किन नसकेर   
थकित, गलित, धुलित
र बेहिसाब घाइते भएको मेरो झोलाले   
आँखा तर्दै मसित भन्यो –
यसरी बिस्मयी नजरले हेरेर
मलाई लज्जित नपार,
एउटा उन्मुक्त यात्राको भ्रममा हिंडेका  
तिमी पनि त मजस्तै
झोला हौ कसैका !
javascript:void(0)