Thursday, February 25, 2016

फेरि पांच थुंगा


नराम्रा कुराहरु र कविता
जानिराख,
चर्चित हुनु राम्रो कुरा होइन
चर्चित हुनुको भोलिपल्टैदेखि
तिमीले एउटा पर्खाल ठड्याउन थाल्नु पर्छ
कम्ता छन् र मानिसहरु पनि !
त्यहीं भर्यांग राखेर चियाउने छन्

सुन्दर हुनु पनि राम्रो होइन
सुन्दर हुँदाको भोलिपल्टदेखि
तिमीले कैद हुने कुरा सोच्नुपर्छ
पसल जाँदा पनि कोही तिम्रो पछि लाग्नेछन्

कबिता लेख्नु त झनै राम्रो होइन
कबिता लेखेको थाहा भयो भने चाहिं
मानिसहरु तिमीभन्दा पर पर भाग्नेछन् |

टौवा र बुबा
पराल थप्दै जाँदा
टौवा अग्लिंदै गयो
र संगसंगै अग्लिनु भयो बुबा पनि
केटाकेटीहरु झुम्मिएर हेर्न आए
उनीहरुको मनमा एउटै डर थियो
अब बुबा कसरी झर्न सक्नुहोला ?


सपनाका रेल
जीबन प्लेटफर्ममै उभिई रह्यो
सपनाहरु रेल झैं कुदिरहे
जति टाढा गयो
स्वप्नका रेलहरु झन् बेगले कुदे 
सुमात्राबाट निस्केको सुनामी जस्तै
र अब त झन् ती
उडिरहे झैं लाग्दैछन् |

फाँट-मोह
ए मुर्ख !
किन समथर फाँटहरु मात्रै टिपेर
छातीमा बेरिरहेछौ फनफनी ?
एकपल्ट  
आफ्नो शरीर हेर ऐनामा
र विचार गर
जम्मै समथर हुँदाको परिणाम ?

धुलो र हावा 
सर्लक्कै धोएर सुकाएथें रुमाल
सोचेथें एउटै  बाँकि छैन धुलोको कण 
हावाले अनगिन्ती टाँसेर गएछ |

javascript:void(0)