Sunday, January 8, 2017

झ्याल र पर्दा



संगसंगै जुटेका हौँ हामी
झ्याल र पर्दा भएर
तर, त्यहींबाट शुरु भयो हाम्रो टक्कर

संगसंगै बसेको नाता
हामी संगसंगै खुल्नुपर्थ्यो
हामी संगसंगै बन्द हुनुपर्थ्यो
झ्याल बन्द हुँदा समेत
पर्दा अझै खुल्न मिल्थ्यो

छ्या, शितल बतास र न्यानो प्रकाश
तिमीलाई किन निको नलागेको ? 

तिमी पर्दा भएर सोच्यौ – म त पर्दा हुँ
खुल्नु आबश्यकता नै होइन मेरो
म झ्याल भएर सोचें – म त झ्याल हुँ
खुल्नु धर्मै हो मेरो
यस्तै हठलाई
हामीले आ-आफ्ना पराक्रम ठान्यौं

आखिर, आजित भएर टुटें म एकदिन   
तिमीलाई ख्यालै भएन

कारण, तिमी बाहिर हेर्दैनथ्यौ
घाम चिन्दैनथ्यौ, जुन चिन्दैनथ्यौ
झरी नजान्ने, हुरी नजान्ने तिमीलाई
गमलामा हुर्कंदै गरेको मनिप्लान्ट
खतरामा छ भन्ने के थाहा ?

लौ म हिंडे,
ए, भित्र कोही त होला
  यो कक्रिएको पर्दालाई पन्छाएर 
एकपल्ट बाहिर चियाइहेर्नु 
यतिन्जेलको मेरो उफानी सकस 
चर्केका खापाका डोबहरुमा पढ्नु |

Sunday, January 1, 2017

स्फटिक सोच


















भाई, सिंढीमा नबस्नु
हजार मानिसहरुले टेकेर गएका छन् यहाँ
अँ त नि, जुत्ताहरुको मैलो,
भैगो  !

बाबु, यस्तो भुइंमा पनि नबस
कपडा बिग्रेला  
शरीर चिलाउला
हो त नि, भैगो !

शीतले भिजेको छ चौतारी,
अक्षता पातीले रङ्गीन छ -
मन्दिरको आँगन पिंढी सबै   
चराले बिष्ट्याएको छ
अलि ठूलो ढुंगामा पनि
न रेस्टुरेन्ट, न सफा बिसौनी

चौरमा पनि
सुक्न आँटेको गाईको गोबर
प्लास्टिक, कागत र बदामका बोक्रै बोक्रा
भैगो !
हिंड, आजलाई बस्ने गतिलो ठाउँ नै भेटिएन

साँच्चि, किन होला धर्तीमा
धान फलेको यस्तैमा
कमल फूलेको यस्तैमा
सुन लुकेको यस्तैमा 
किसान रमेको यस्तैमा
यो गोरा पनि घुम्दै हिंडेको यस्तैमा

किन बनेन,
ब्रह्माको गीलो माटो र
हाम्रा पुर्खाको खरानी सबै स्फटिक ?

javascript:void(0)