Thursday, January 25, 2018

बट्टा र भित्ताको कथा

भित्तामा एउटा खोपा थियो
तिनकुने सानो खोपा  
र मास्टरबाले अटाइ नअटाइ
त्रिफला चूर्ण राख्थे त्यहाँ
त्यो सकियो
त्यही बट्टामा
मास्टरनी आमैले भरिन्
नौनी खारेपछिको घ्यू
र राम्ररी बिर्को कसेर
त्यसैगरी राखिन् त्यही खोपामा
अटाइ नअटाइ !

















मध्यरातमा खोपा चरक्क चर्कियो
भित्तामा दह्रार पर्यो
दलिनको जोर्नी सर्कियो
र जस्तापाता व्हांग पर्यो
त्यहींबाट शीत खसेर
मास्टरबाको बुढी औंला हुँदै
मझेरीमा झरेर
अंगेनातिर बग्दै रहेछ
चिसोले उनी ब्युँझे र
सबैतिर नियालेर भने-
हरे, ओखतीको काम !

   

Wednesday, January 24, 2018

किनाराको खण्डन














जहाँबाट छुटेको हो पानी
त्यहींबाट छुटेको हो किनारा
जहाँबाट फुटेको हो मूल
त्यहींबाट फुटेको हो किनारा

पानी बर्सनु अघि नै
या हिउँ पग्लनु अघि नै
किनाराको कुरै हुन सक्तैन
पानी भएर नै किनारा भएको हो
अथवा भनुं  
पानीको आफ्नै भाँडो हो किनारा
गाउँका पँधेरामा तेर्स्याइएको
बाँसको 
आधा कप्टेरो झैं मात्र हुनसक्छ यो
र बाँकी आधा (उर्ध्व)भाग पनि
हामीले देखेकै छैनौं 














वल्लो र पल्लो किनारा ?
होइन, त्यो एउटै हो  

लौ, एकछिनलाई मानिदिएं  
पानीको किनारा भनेर
तर हरेक बुँद पानी बेग्लै हो
यसको किनारा छुट्टै आफ्नै हो  
पानीको सत्व, निजत्व भएकाले   
पानी आकासिंदा किनार आकासिन्छ
पानी भासिंदा किनार भासिन्छ  

अँ, त्यो भासिएको छ पनि नदीहरुमा
र माथि आकाशबाटै माछा देख्ने चीललाई
अलि गहिरो छलांग मार्नुपर्छ त्यहाँ

आफ्नै भारले गर्दा
पानी सीधा हिंड्न सक्तैन
र बांगिन्छ पटक पटक

जहाँदेखि बांगिन्छ पानी
त्यहींदेखि बांगिन्छ किनारा,
जहाँदेखी निख्रिन्छ पानी 
त्यहींदेखि टुंगिन्छ किनारा ! 

javascript:void(0)