Wednesday, December 2, 2015

नाकाबन्दी र हामी


यो हाम्रो बुद्धको धर्ती, यो हाम्रो शिवको भूमि
जन्मेथे बाल्मिकी, ब्यास, यहीं सारा ऋषिमुनि
सीताको माइती यै हो, भृकुटी यहिँ जन्मिइन्
यो पुण्यभूमि कैल्यै नि थिएन कान्तिले बिहिन् 

तपले जपले तन्त्र मन्त्रले मुग्ध यो थियो   
संस्कृति, सभ्यता, शान्ति, ज्ञानले युक्त यो थियो
पाटी,पौवा र मन्दिर, अद्वितीय कला थिए  
हिमाल वारीपारि नै चर्चाका शृंखला थिए  

बीरको के कुरा गर्नु, फिरंगी हारेकै त हुन्
पानी थुनेर तिन्ले नि, अबला मारेकै त हुन्
तैपनि बलभद्र र भक्ति थापा डगे कहाँ ?
यो गाथा लेखिएकै छ राष्ट्रको इतिहासमा |

फेरि यस्तो बेला आयो, नाकामै चलखेल छ
फिरंगी शैलीमै तिन्का दासको जालझेल छ
रोक्दैमा ग्यास र तेल, को झुक्छ यिन्का पाउमा   
हाँडीको कालो खोस्रेर, पोत्छन् यी आफ्नो नाउँमा !

लंकामा खेल्नु खेलेर, गुमेथ्यो सब इज्जत
अझै छ दुष्ट आकांक्षा, मुखिया बन्न उद्धत ?  
नाकाबन्दी गरी आफ्नै नाक काट्ने बिचार यो  
छि ! तिम्रो लोकतन्त्रको गज्जबै उपहास भो |

पाशुपत्य भूमिमाथि यस्तो अन्याय पोख्ने हो ?   
लाग्ला है शिवको श्राप, पापको भार बोक्ने हो ?
जो भांड्न खोज्दछौ व्यर्थै, घुसेर अरुको घर,
जाला पन्जाब टुक्रेर, जाला बङ्गाल, के भर ?

नेपाली धुक्धुकी भन्छ, दुष्टको नगरौं भर
आफ्नै पौरखको बलमा, उभिने गर्नु तर्खर
पहरा फोड्नुपर्ला रे, फोरेरै खोलुँ उत्तर
नदी छन् बिजुली खिपौं, अल्झिनुपर्ने के छ र ?

आफ्नो स्वार्थको खातिर जो देशै बेच्न हिंड्दछ
त्यस्ताको नाडी छामेरै दुष्टले घांटी थिच्दछ 
चाहारी अरुको दैलो भिखारी झैं जो बोल्दछ
तिन्को लाचारी देखेर देशको मुटु पोल्दछ 

जल, जंगल के छैन, यत्तिका जडिबुटी छन्
पाहार लाग्ने पाखा छन्, खजाना अनगिन्ती छन्
खोज्नु आफ्नै धराभित्र, आफ्नै भित्र जो स्वप्न छ 
अदम्य स्वाभिमानको बिउ आफैंले रोप्नु छ |     

तृष्णा

ऊ भित्र गहिरोमा बस्छ
कुनै गुमनाम तपस्वी झैं
तर सबैभन्दा भड्किलो उही छ

उसको कामै के छ
मलाई बस्त्र बनाएर ऊ न्यानो ताप्छ
मेरा पैतालाबाट ऊ हिंड्छ
मेरा नजरबाट उसले हेर्छ
फेरि मैलाई हावामा उचालेर यसै यसै
फुत्रुक्क भुइंमा छोड्छ
मनको पहाडलाई कुटुकुटु खान्छ कतिबेला
र हठात् गहिरो पहिरो चलाउँछ

के भन्नु
आधा आधी होशको हाँगामा टेकाएर
आधा आधी बेहोशीको,
मदहोशीको पींगमा मच्चाएर
असंख्य चेहराहरुको फाँट फाँटै हिंडाएको छ उस्ले मलाई
अनन्त आँखाहरुको  डीलडीलै बगाएको छ उस्ले मलाई
रङ्गीन रहरहरुका स्वप्निल छायाँहरु टेकाएर 
बलौटे बगरहरुमा
मलाई आफ्नो एकलौटी घोडा बनाएर
कुदाएको कुदायै छ उसले

म पनि उस्तै छु,
एकदिन उसैलाई तबेलामा बाँधेर
एक्लै कतै हिंड्न मन गर्छु मात्रै 

Monday, November 2, 2015

चियामाथिको प्रश्न














एक कप तातो चिया
आहा !
तपाईंले सम्झाइदिनुभो, नरेन सर्

हामीकहाँ पनि त्यसैगरी चिया पकाउनेहरु छन्
राजमार्गमा, स्टेशनमा, रेस्टुराँमा, घरमा
ठीक त्यसैगरी, बाक्लो दुध र चिनीमा  
हुनसक्छ,
एउटै नदीको पानी राखेको हुनसक्छ त्यसमा
पहाडबाट बग्दै जाने कोशी, कर्णालीको,   
उनै हातले टिपेको चिया पनि हुनसक्छ
इलामे, दार्जलिंगे, सिक्किमे या आसामेलीले  

आहा,
रात्रिबसबाट झर्दा सडकछेउमै पाकेको
एक कप तातो चिया 
म पनि खूब सम्झिन्छु

नरेन् सर,
आजभोली किन हो, चिया पाकेको छैन उस्तरी  
गाडी पनि उस्तो चलेका छैनन्
वरपरका पसलहरु पनि रित्तिएका छन्
चिया पकाउनेलाई पनि ठुस्स देख्छु म

यी किन कोसँग रिसाएका हुन् ?
भन्दैछन् यिनका परिवार र लालावाला पनि छन्,
भन्दैछन् यिनको लिनुदिनु केहि छैन राजनीतिसँग
घरमा बिरामीलाई ओखती नमिलेको
र केटाकेटीको स्कूल बन्द भएको झोंकमा
यिनी चिया पकाउन पनि गनगन गर्दैछन् !

अहो,
जाडो लाग्दै गर्दा समेत 
एक कप तातो चिया 
किन बिरानो जस्तै हुन लागेको हो ?

Wednesday, July 8, 2015

क्रान्ति

गाउँमा 
तिमी भत्केको घरको छाना मिलाउँदै थियौ
मैले भनें- भाई,
बल्ल तिमी साँचो क्रान्ति गर्दैछौ 
तिमी भुतुक्कै भयौ ,
मैले थपें-
हाम्रो यहाँ क्रान्तिको परिभाषा सरल छ,
नपढेकाले स्कूल भर्ना हुनु,    
ओछ्यान परेको बिरामी उठ्नु,
या बाँझो खेत खनजोत हुनु  
क्रान्तिकै अनुपम उदाहरणहरु हुन्

मेरो हकमा    
धेरै दिनपछि घरबाट निस्कनु
र गाउँ बस्ती डुल्न जानु
या बिदामा केही दिन घरै बस्नु
घाममा सुकुल बिछ्याउनु 
र नयाँ किताब पढ्न कस्सिनु
या नयाँ गीत सुन्नुलाई 
क्रान्तिकै अग्रगामी छलांग सम्झिन्छु म

पर्ख,  एकदिन तिमी र म 
कहीं कविता सुन्न जाऊँ 
र एउटा अर्को  क्रान्तिमा सहभागी बनौं  

यसपल्ट भने तिमी  बित्पातै  हाँस्यौ |

Tuesday, June 23, 2015

आश / बिकास














कुनै उपनिबेशबाट भर्खरै छुटेको
नयाँ स्वतन्त्र राज्यमा झैं
गर्वसाथ
यहाँ ठाउँ ठाउँमा लेखिएको थियो-  
‘यो खुल्ला दिशामुक्त क्षेत्र हो’
वरपर कुनै सौचालय भने थिएनन्
बसबाट ओर्लेर
मानिसहरु दायाँ बायाँ झ्यांगतिर लागे
बरु, मलाई साँच्चिकै चाहिएको
" खुल्ला, झन्झटमुक्त वाईफाई क्षेत्र ” थियो |










स्थायी/अस्थायी











भीमसेन थापा मरेको धेरै भैसक्यो  
उनको धरहरा ढल्दा पनि
देश
किन अझै त्यहींबाट उठ्न खोज्छ ?
कठै, कसैले पिएर फालेको
चुरोटको ठूटो जत्ति बाँकी
त्यो क्षतबिक्षत धरहरा
किन सबैको मनमा बसेको छ ?

राजन्
तिमी जेलाई ‘स्थायी’ देख्छौ 
त्यो ‘अस्थायी’ कै एउटा भाग रहेछ
र जेलाई अन्त भन्छौ,
त्यो अनन्तकै एक अंश रहेछ
तिमीले पूर्ण ठानेको चिज  
अपूर्णतामा ज्याद्रै अल्झिएको हुँदोरहेछ
जो बाहिर देख्छौ तिमी,   
नदेखिएको संसारको एउटा झ्याल मात्रै रहेछ

यी ‘अटल’ भीमकाय पहाडहरुलाई समेत
जसले यसरी हल्लायो,
हाम्रा लोभ, भोग र दम्भका स्तम्भहरुमा
त्यो नचढ्ला ?  

अहिले तिमी 
आफ्नो मनको सत्ताभित्र सुन्दै छौ नि,
धन, धर्म र धूलोको सिम्फोनी ! 
  

Monday, April 13, 2015

फूल र पुतली

एकदिन सानु छोरालाई सोधें _
थाहा छ,
पुतली कसरी बन्छ, छोरा ?

उसले निर्धक्क भन्यो –
बाबा, त्यो फूलबाट निस्केको हुनुपर्छ  
फूलका पत्ता जस्तै छन् उसका प्वाँख
फूलका धब्बा जस्तै छन् उसका आँखा
फूलका नली जस्तै छन् उसका हातपाउ
संगत पनि उस्को, फूलसंगै छ




भैगो,
लार्भा र प्युपा उस्कै गुरुहरुले सिकाउन्
अब मैलाई लाग्न थाल्यो -
कतै झर्दाझर्दै
फूलको मन  
पुतली बनेर उडिसकेको त हुँदैन ? 

Friday, March 6, 2015

शब्द/तर्क र टीआइए

“ साले, टि. आइ. ए.,
बंगुरको खोर !”

ए, डा. थानेश्वर !
दुईसाल अघि ताजमहल हेरेर फर्किंदाका  
तिम्रा यी घनघोर क्रोधी शब्दप्रति
अब मेरो कुनै आपत्ति रहेन |

यतिबेला मनमा तर्क उठेको छ,
सरकार साँच्चिकै पक्षपाती छ
साझा प्रकाशनले
हाम्रा अमर महाकविका हरेक पुस्तकमा   
स्व. लक्ष्मीप्रसाद भनेर लेख्ने भएपछि     
सरकारले पनि
उसंग भएको यौटैमात्र  विमानअड्डालाई 
स्व. त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल किन लेख्तैन ?  

Wednesday, February 4, 2015

स्टुडियो शहर

कुनै मेला उत्सबमा झैं
शहर आजपनि व्यस्तै थियो  
देख्नासाथ उसले सोध्यो –
यात्रु, आऊ, तिमी कस्तो तस्वीर  चाहन्छौ ?
मसंग थरि थरिका हिमालहरू छन्, पर्खाल झैं बसेका
ढांचा ढाँचाका पहाडहरू छन्
खोला छन्, नदी छन्, गुफा, झरना छन्
भन, कहाँ बसेर खिच्छौ ?
छतमा कि झ्यालमा ?
डाँडामा कि तालमा ?
गुराँसको फूल या झोलुंगे पुलसित ? 
पृष्ठभूमिमा यो हिमाल नै खूब चल्छ
त्यसलाई पनि दायाँ बायाँ सार्न सकिन्छ  
रङ्ग पोतेर 
रातो, पहेंलो र गुलाफी पार्न सकिन्छ  
आज दिनभरी घामसंगै घुम्नु मात्रै ,
जंगलबाट बिस्तारै उठेर
माछापुछ्रेमा घुम्टो राख्दै निकाल्दै गरेको बादल, 
अकस्मात खनिएर 
बलेंसीमा तर्र झरेको  वर्षा , 
कुनै सिलसिला नछुटाउंला 
तिमी ढुक्क हुनु,
बेजोड सुन्दर र ताजा तस्वीरहरुको लागि 
यहाँभन्दा अन्त नसोच्नु,
तिम्रा रहरैपिच्छे घाम छायाँ मिलाउने   
म स्टुडियो शहर हुँ
तिम्रो मनकै एल्बममा चम्कीबस्ने 
क मोहक, बेदाग जादुगर हुँ |

javascript:void(0)