Thursday, March 26, 2020

प्रश्नहरुमा चरा



















चराले आकाशलाई के भन्दो हो ?
चराले धर्तीलाई के ठान्दो हो ?
सुखदुख त उसको हाँगामै कट्ने हो,
चराले रुखलाई कति मान्दो हो ?

उड्दा उड्दैका चरा यसै कहाँ खस्छन र ?
चरालाई खस्ने डर कति हुँदो हो ?
आंधीको संकेत उस्ले पक्कै बुझेको हुनुपर्छ,  
फेरि आंधीमै फसेमा ऊ कति रुँदो हो ?

ऐना त देखिन्न चराको गुँडमा, बिचरा !
चराले आफू अर्को कसरी चिन्दो हो ?
कम्ता खट्दैन ऊ यौटा गुंड बनाउनलाई,
त्यही फेरि चट्टै छोडी कसरी हिंड्दो हो ?

माउले फेरि बचेरा कहिले भेट्दो हो ?
बचेराले उही आकाश कति रुन्ग्दो हो ?
कहिलेकाहीं लाग्छ म पनि चरा भएर हेरुं,
आकाश बाँडियो भनी मलाई कति ठुन्गदो हो ?

चराले आकाशलाई............?

Wednesday, March 25, 2020

खलाँसी
















एउटा मैलो ध्वाँसे रङको चेग्वेरा टी-शर्ट बाहिर
जम्मै टाँक फुस्केको कमिज लगाएको
थोरै लामो कपाल पालेको
एक कानमा मुन्द्रा समेत लगाएको
कतै रंगीन र कतै खुइलिएर 
सेतो धब्बा भैसकेको पेटी बाँधेको  
ठाउँ ठाउँमा घोट्टिएर र च्यातिएर  
अलिकति घुंडा समेत देखिएको  
धोल्ले जिन्स पाइन्ट पहिरेको
पातलो स्यांखुले मानिस 
जब तिर्खाले आत्तिएर  
खिइएको चप्पल पड्काउँदै
साँझमा तल सडकबाट
एक अंखोरा पानी माग्न आएको थियो
मैले उसलाई खलाँसी भनेर चिनिहालें
र पानीको साटो मोही दिएर पठाएँ |

श्रीमान्, हजुरले के सोचिबक्स्यो कुन्नि, 
मलाई मेरै सासुआमाले भन्नुभएको हो-
“टाढाको यात्रामा   
खलाँसीभन्दा भगवान अरु हुनै सक्तैन
र उसको गुन पुरै तिर्न पनि सकिंदैन !

एउटा दुधे बालकलाई काखमा च्यापेर
अर्कोलाई बायाँ हातको औंलाले डोर्याएर
पीपी झोलामा यावत लुगाफाटा र अरु कुराहरु
अटेसमटेस खाँदेर 
सकी नसकी बोक्दै
भाइसंग बिदाइको हात हल्लाएर   
उतिबेला म बन्दीपुरबाट बिराटनगर जाँदा
हात तानेर मलाई बसमा चढाईदिने
हात थामेर मलाई बसबाट झराइदिने
एकैछिन बच्चालाई काखमा लिईदिने
उसको दाजुलाई ललिपप किनेर ल्याइदिने
र मलाई प्लास्टिकको झोला हातमा थमाएर
उल्टी नआउने दवाई खोज्न दगुर्ने   
कहिले झ्याल खोलिदिने
र कहिले त्यही बन्द गरिदिने
कहिले सीट उठाइदिने
र कहिले त्यही सुताइदिने
अन्तिम स्टेशन पुगेपछि पनि फेरि
ऊ... परको रिक्सा बोलाएर
मेरा केटाकेटी र झोला समेत चढाएर
मन्दिरको बायाँतर्फको गल्ली देखाउंदै  
मलाई यहाँसम्म पुर्याईदिन लगाउने   
बाटोको मेरो यौटै भगवान् उही थियो |”

श्रीमान्, आमाको काखको त्यो दुधे बालक
जरुर पनि हजुर नै हुनुपर्छ|

आमा भन्नुहुन्थ्यो-
“जसका आँखा दूरबीनजस्ता तीक्ष्ण  
र मन नौनी जस्तो कोमल हुन्छ,
कालकुट बिष समेत पचाउन सक्ने
जसको निलकन्ठको जस्तो घांटी हुन्छ
हेर्दा जस्तोसुकै होस् ऊ
जो बुध्द र मुहम्मदले झैं
सबैको सबैबेला ख्याल राख्छ
र सबैलाई उसैगरी सेवा गर्छ  
जो वृन्दावनका कृष्णले जस्तै
हाँस्दै, हँसाउदै, नाच्दै, नचाउँदै
आफू किन्चित नसुतेर   
सुतेकालाई समेत उठाएर
गन्तब्यमा झारिदिन्छ
त्यो भगवान नभए अर्को को हुन्छ ?”

जब जब घरमा 
कुनै खलाँसीको कुरा उठ्थ्यो  
आमाको अनुहार धपक्क बल्थ्यो र
उसैलाई सम्झेर आमा भन्नहुन्थ्यो -
“बुहारी,
टाढाको असजिलो यात्रामा    
खलाँसीभन्दा अर्को भगवान कुनै हुनै सक्तैन !”

Sunday, March 8, 2020

फेरि पनि महाराज जुद्धसम्शेरकै नाममा


















महाराज जुध्दशमशेर,
धत्तेरिका !
कसले लुट्यो हजुरको मास्क ?
कि हजुरले नै
कसैलाई दिईबक्सेको हो, करुणाबश ?

बर्षौंदेखि यो काकाकुल शहरको
धुलो, हिलो, धुवाँ र दुर्गन्धले
आजित भैसकेको म,  
विश्व बाताबरण दिवसको साइतमा
प्रदुषणमुक्त शहरको सपना बोकेर सखारै
'स्वच्छ, सफा, हराभरा काठमाण्डौ' को प्लेकार्ड उचाल्दै  
जब गुज्रंदै थिएँ न्युरोड-गेट हुँदै
झट्ट हजुरको शालिक देखेर
मैले नै चट्ट लगाईदिएको थिएँ
हजुरको मुखमण्डलमा एउटा मास्क !
त्यसपछि
कहिलेकाहीं त हेर्ने गरेकै हुँ मैले  
गुगल इमेजमा हजुरको त्यही तस्बीर |   

तर,
म भोरमा परें, मालिक !
माफी बक्स्योस,
यो सरकार फरार भएको देशमा  
कहिले प्याजको भाउ सोध्दै बजार बजार भौतारिंदा
कहिले लसुनको भाउ सोध्दै पसल पसल चाहार्दा
मैले ध्यानै दिन भ्याएनछु हजुरलाई
आज
कोरोना भाइरसको हल्लाले चिमोटेर   
मास्ककै भाउ बुझ्न हिंड्दा बजारमा
बल्ल याद आयो हजुरको !

मालिक, त्यो को हो,
जसले थुत्यो हजुरको मुखैबाट मास्क ?
र जसले गायब गर्यो सारा बजारबाट समेत,
हजुरले च्याप्प समातिबक्सन पर्दैनथ्यो त्यसलाई ?
र जोर थप्पड लगाईदिबक्सन्थ्यो भने त्यसको गालामा ?
हजुरको एकदुइ शब्द गर्जनैले पनि
सातो उड्थ्यो त्यसको,   
नब्बे सालको महा-भूकम्पपछि  
हजुरको हुकुमैले काठ तस्करको हुर्मत लिएको  
कसले भुलेको छ र ?

होइन,
कि हजुर निदाईबक्सेको थियो ?

मालिक !
अबदेखि ध्यान दिईबक्सेला,
हजुरको शालिक बरु साँचो होला    
यो शहरमा धेरै कृतिम मानिसहरु छन्
कृतिम हल्ला फिंजाएर देशलाई
फनफनी भूमरीमा जाक्नेहरु छन्
आकासमा चील उडेको देखाएर
भुइंका कुखुरा ताक्नेहरु छन्
हजुरको गद्दी टुटेको  
यो सत्तरी सालपछि पनि
उतिबेलाको संस्कार टुटेको छैन  
सिंहदरबारमा
सातसय पल्ट बदलिएपनि
झन्डावाल र कुर्चिवाल
हाम्रो मनोबल अझै उठेको छैन
महाराज, अबदेखि 
हजुर साबधान होइबक्सेला,
समय बदलिए जस्तो देखिएको मात्र हो,
धोका नखाईबक्सेला
बिन्ति, अबदेखि ननिदाईबक्सेला ! 

Friday, February 7, 2020

माड्साबलाई सुझाब

















जोसंग नङमासु छ बलियो सरकार
जोसंग हातेमालो खोज्छ समुद्रपार  
त्यस्ता विज्ञहरुको तर्कमाथि प्रहार ?

माड्साब, यो त भएन
जोड-घटाउ जानेको आधारमा
गणितलाई बिज्ञानसंग नजोड्नुस् 
थरि थरिका जीवनतत्व एकत्र गरी
हिसाबको जुंगेकोष्टभित्र बलजफ्ती नछिराउनुस्
हेर्नुस् त,

E=mc2,     g = 9.8 m/sec2
h2=p2+b2,    x = [- b ± √( b2-4ac)]/2a

यी अंकमाथि अंक बुई चढेका संख्याहरू
यी अक्षरमाथि समेत अंक चढेका समीकरणहरु,
कठै, यो नचाहिँदो सकस र भार
कलिला मस्तिष्कमाथिको अत्याचार !

घोक्न नसकेर ऐच्छिक गणितका साइन-कस  
खप्न नसकेर लठ्ठी, गाली र उठबस
बिज्ञान छोडेर स्कूलमा कक्षा सर्ने मै छु     
गैर-गणित कार्यक्रम खोज्दै मुश्किलसंग  
प्रविणता प्रमाणपत्र तह पढ्ने मै छु
कम्ता ऐंठन त पारेन यसले यार !      
मैले बिर्सिसकेका उबेलाका कुरा
सम्झी सम्झी भन्न बाध्य नपार्नुस्

स्कूल पढ्न छोडेर
३६० गीगाटन बिषालु कार्बनको डल्लो बोकेर
संसार हल्लाउँदै हिंड्ने 
ग्रेटा थनबर्ग किन चाहियो हामीलाई ?
सोलार कम्पनीकै मिस्त्री आउने भएपछि
घामको पाता कति डिग्रीमा कता फर्काउँदा ठीक हो,   
त्यो नालीबेली किन चाहियो हामीलाई ?
उत्तर चीनबाट हिमाल काटेर आउने रेल
किलोमीटरमा गुड्छ कि माइलमा,
किन सोधिराख्न पर्यो हामीले ?

वाइघात,
पल्लो डाँडामा स्कूलको घन्टी बजेपछि
घरबाट झोला बोकेर दगुर्ने हर्कबीरको प्रवेग 
मकै पिन्ने पानीघट्टको आरपीएम 
नयाँ धरहराले धान्ने भूइंचालोको रेक्टर स्केल
नदीको छालको चाल बताउने अभिव्यक्ति
टाढा पुछ्रेताराबाट आएको तरंगको आवृत्ति
फुस्रेमाथि भर्खर बनेको पुलको सेफ्टी फ्याक्टर
कृष्णभीर खसाल्नसक्ने झरीको मिलिमिटर
अकस्मात बारा छिरेको विध्वंसक आंधीको गति
कोशीबाढको क्युसेक र जिउधनको क्षति  
चिल्लो लड्डुको रंगमा सिसाको मात्रा  
दुर्घटनाको तथ्यांक र राजमार्गको यात्रा   
फेवातालमा जलकुम्भीको बिस्तार दर   
हिमालमा जलबायु परिवर्तनको असर
शहरमा दमकलको माग र क्षमता
माटोको चिस्यान र हावाको आर्द्रता  
सम्भावित पश्चिमी वायुको प्रभाव
( उफ् यो बिश्वब्यापिकरणको युगमा )
हैन, कतिबिधि गणना चाहिएको !
शेषनागका हजार जिब्राजस्ता  
नानो, पिको, मेगा र टेरा रटाएर
कति साह्रो यातना रचिएको !

त्यसैले,
छोड्नुस्, माड्साब, छोड्नुस्
यो असह्य यातनाको बोटलाई नगोड्नुस्
प्रकाश बर्षका कुराले भुलाएर  
यो असीम अन्धकारमय तथ्यलाई नमोड्नुस
सरकारसंग मिलेर उद्धारमा जुटेका
स्वप्नदर्शी विज्ञहरुको प्रतिकुल नबोल्नुस् 

कृपया,
बिज्ञहरुले बुझे जसरी नै बुझ्नुस् 
बिज्ञहरुले बुझेजत्ति नै बुझ्नुस् 
कमलको निर्मल फूलको कुरा गर्दा बिज्ञहरुले 
हिलोभित्र त्यसको जरा नखोज्नुस्, 
माड्साब, गणितलाई बिज्ञानसंग नजोड्नुस् 
javascript:void(0)