Monday, April 13, 2020

नयाँ बर्ष र भयाक्रान्त स्वरहरु











पाठक महोदय !
यो कविता होइन, समाचार हो 
र यसमा आजैको खबर छापिएको छ 
अघि कहिल्यै कसैले नजानेको  
यो 'लकडाउन' र 'क्वारेन्टाइन'को समयमा सुनिएका 
अनपेक्षित र अनमेल आवाजहरू 
यहाँ यथारूप प्रेषित गरिएका छन् 
  
खबर आफैंबाट शुरु गरौं,
मध्यरातमा
चराहरु सधैं झैं निदाइसकेका हुन्छन्
सडक चकमन्न हुन्छ,
एकाएक कोठाभित्र
किताबको दराज मचक्क गर्छ,
झ्यालका खापा कक्रक्क पर्छन्,
ढलानघरको छतको रड टन्ग्रंग बज्छ
र टिनको छाना समेत कटक्क गर्छ 
बादल एकपल्ट गडंग गर्छ
र पानीका दुइचार थोपा मात्रै झारेर 
हठात् चुप लाग्छ,
कुनामा थन्क्याएको मेरो किबोर्ड समेत 
आफैं कर्र कर्र गर्छ
यसरी शुरु हुन्छ, यो पल्टको नयाँ बर्ष !

अब देशका कुरा गरौं,
धेरै भयो, अखबार आएका छैनन्
तर खबर असाध्यै धेरै आएका छन्
प्रधानमंत्रीको 'भिडियो कन्फरेन्स'देखि  
पत्रकारका 'लाइभ रिपोर्टिंग' समेत 
कुनै क्षण खालि छैनन् 
कोरोनाबिरुद्ध सरकारको तयारी र 
राहत वितरणका समाचारहरुले,  
तर, 
कतैबाट पनि आश्वस्त हुन नसकेर 
यसैबीचमा 
भोकले मर्नुभन्दा 
बहुलाउनु निको ठानेर 
मध्यरातमै कोही मजदूर
फिटिक फिटिक चप्पल बजाउंदै
सात आठ दिनको संकल्प गरेर  
राजधानीबाट मधेश झर्छ
र उ हिंड्दा हिंड्दै 
लखतरान भएर सुस्ताएको बेला 
बाटैमा शुरु हुन्छ नयाँ बर्ष !

त्यसरी नै
सीमापारिको क्वारेन्टाइनबाट भागेर  
पुलिसलाई छल्दै छल्दै
झाडी, बस्ती र खरबारी छिचोल्दै
अबैध बाटोबाट घर फर्किन
बिल्कुलै जनावरजस्तै चारपाउ गर्दै
मध्यरातमै कोही जंगलमा खसर खसर गर्छ  
या महाकालीमा झ्वाम्लांग हाम्फालेर
फ्याँ-फ्याँ गर्दै वारि तर्छ,
यसरी शुरु हुन्छ यो पल्टको नयाँ बर्ष !

हुन त म पत्रकार हुँदै होइन 
तैपनि, 
कुनै कबिताभंदा आकस्मिक 
आजको समाचार भएको छ 
हामी बाँचेको यो मुलुकमा 
संबिधान र सरकार बर्करार छँदा छंदै
यी पछिल्ला 
भयाक्रान्त आवाजहरुले 
मेरो अस्मितामा प्रहार भएको छ 
मेरो स्वाभिमान डगमगाएको छ| 

त्यसैले 
पाठक महोदय .............



Friday, April 10, 2020

आमाको काबु






















आमा विदेश घुम्न गएका दुई महिना 
घर बेकाबु थियो
गमलाका फूल सुकेर झरिसकेका थिए
करेसाका कलिला सिमी 
पाकेर फुटिसकेका थिए 
र यी दुबैथरिका बोट 
घामले खंग्रंग र खैरो भैसकेका थिए
तिनको ठाउँमा 
हलहली पलाएको अग्लो झारले
रजाईं गर्दै थियो
भान्साकोठामा कमिला बाहेक 
भुसुना र साँग्ला पनि
प्रवेश गर्ने तयारीमा थिए
भण्डारकोठामा मुसा र पुत्ला घुसेर 
बित्पात मच्चाउन तम्तयार थिए
बारीमा फतक्कै एकैसाथ पाकेर ३/४ घरि केरा
मलाई आच्छु आच्छु पारिरहेका थिए
म बिल्कुल अनाडी थिएँ
र बिस्तारै जटिल बन्दै गएको परिस्थितिदेखि   
असुरक्षित महसूस गर्दै थिएँ

आमा आएकै दिनदेखि 
सारा चिज काबुमा आउन थाल्यो
किनेको दूध हरेकपल्ट बिग्रिजान छोड्यो
मलाई कुनै सुइँको नदिई
भित्तामा र कहिलेकाहीं भाँडामा समेत
माकुराले जालो लगाइहाल्न पाएन
बाटोदेखि उड्दै आएर
कार्पेट, कुर्ची र झ्यालमा समेत लपक्कै जमी बस्ने
धूलोले सताउन छाड्यो
र तेलाम्य चुलो समेत टलक्क टल्क्यो 
फेरि अर्को खेप सिमी फल्यो
फेरि अर्को खेप साग उम्रियो, झारको बदलामा
गमलामा अर्काथरी फूल अन्कुराए   
मुसा, भुसुना, कीरा, कमिला
साराका सारा काबुमा आए
आमा नहुँदा
घर यतिबिघ्न अलपत्र होला भन्ने मलाई लागेको थिएन
ममाथि यतिथरी चिजले
एकैसाथ आक्रमण गर्छन् भन्ने कुनै अन्दाज थिएन

अर्को एउटा कुरा पनि मेरो हेक्का रहेनछ
मैले सोचेको थिएँ
यी चराहरु पनि त्यस्तै आक्रमणकारी हुन्
बिस्कुन चोर्ने लुटेराहरु हुन्
होइन रहेछ,
आमाले यिनलाई दिनदिनै कनिका छरिदिनुहुँदो रहेछ
सानो थालीमा 
पानी पनि राखिदिनु हुँदोरहेछ छतमा
बिस्कुन बढ्तै पोखे भने 
'हा..., अब जाओ !' पनि भन्नुहुँदो रहेछ 
आमाले माया गरेको बुझे पनि, नबुझे पनि
त्यसमा यिनलाई बानी परेको मलाई थाहा थिएन 

घरमा आमा नहुँदा 
यिनीहरुले पनि शायद
मैले जस्तै व्यग्रतापूर्वक
आमालाई नै कुरिरहेका थिए !

javascript:void(0)