Monday, January 30, 2012

शहिदहरुप्रति

प्रिय शहिदहरु !
तिम्रा सपनामा मैले आफूलाई समाहित गरेको छु
तिम्रा बलिदानमा मैले आफूलाई प्रवाहित गरेको छु
म आँसु चुहाउन्न, मानिसका आँसु कृतिम भैसके
म श्रद्दान्जली छपाउन्न, खोक्रा औपचारिकता भर्दिन
न जुलुस धाउँछु, न शालिक सजाउँछु
आस्थाविहिन विवेकहीन भीडमा किन सल्बलाउँछु?
कुनै कृतज्ञता होइन त्यो, प्रिय सपुतहरु
तिमीले आफूलाई बलिबेदीमा चढाएर देशको माया गर्यौ
हामीले बाँचेरै पनि देशको माया गर्न सक्नुपर्छ
तिमीले सहादत भएर देशलाई स्वतन्त्रता दियौ
हामीले बाँचेरै त्यसको रक्षा गर्नुपर्छ
र औजारहरु बोकेर देश निर्माणमा जुट्नुपर्छ
खोइ, यहाँ त सधैंभरि युद्द र कटाक्षका कुरा चलेका छन्
आफ्ना कृत्य कुकृत्यमा जोसुकैले 'शहिद' बोलेका छन्
प्रिय शहिदहरु
इमान्दारीपूर्वक
मैले आफ्नो बारीमा सुंदर सब्जीहरु उब्जाउँछु
मैले आफ्नो खेतमा सुनौला अन्नहरू लहलहाउँछु
मैले जागिरमा आफ्नो उत्तरदायित्व निभाउँछु
मैले ब्यापारमा आफ्नो धर्म राख्छु
म पढाउँछु र देशका नागरिक बनाउँछु
यसरी प्रत्येक पेशामा आफ्नो पौरख अर्पनु
यो पनि तिम्रै सपना होइन र शहिदहरु
नारा र भाषण भन्दा बेग्लै
छुट्टी र सडक नामाकरण भन्दा बेग्लै
एउटा कलाकारको सुंदर कलाकृति पनि तिम्रै सपना होइन र ?
एउटा कविको सुंदर कविता पनि तिम्रै सम्झना होइन र ?
माटोका प्रत्येक कण कण सजाउने तिम्रो सपना
बगैंचाका प्रत्येक छेउ कुना रंगाउने तिम्रो संकल्प
सबैले आफ्ना आफ्ना काँधहरु थापेर देशलाई बोकिदिए....
सबैले आफ्ना आफ्ना औंलाहरु चलाएर माटोलाई गोडीदिए.....
कुर्चीहरुले कर्तब्य नलत्याईदिए....
झन्डाहरुले गन्तब्य नबिर्सिदिए.....
हामीले आफ्नो शिर उठाउन केही गर्यौं भने
देश आफैं माथि उठ्ने छ
हामीले आफ्नै पैतालामा उभिन केही गर्यौ भने
देश दह्रोसंग उभिने छ
प्रिय शहिदहरु
मैले त शहादतलाई धड्कनमा सजाएको छु - जीवन वहार मानेर
मैले त बलिदानलाई स्पन्दनमा अटाएको छु - जीवन उपहार भनेर
तिम्रो उपकारको ऋणी छु म,
त्यसैले
एकमिनेट मौनधारण नगरेरै पनि तिम्रो आवाज सुनेको छु
प्रभातफेरीमा नझुल्केरै पनि तिमीले हिंडाएको बाटो चिनेको छु !

Saturday, January 21, 2012

असन्तुष्टिका दुई स्वर


बिडम्बना

घाम देख्न खोजिरहेछ

बादल छेक्न खोजिरहेछ

घाम टेक्न खोजिरहेछ

बादल अँचेट्न खोजिरहेछ

घाम लेख्न खोजिरहेछ

बादल मेट्न खोजिरहेछ

हरे, यो घम्साघम्सीले

जुग रेट्न खोजिरहेछ

-------------------


कटाक्ष

धरोधर्म,

कसैले बुझेको भए

मरिजानु , तिम्रो कविता !

यो के भनेको हो,

"विसंगत जिजीबिषा"?


शब्दका ठेलीमा बल्छी खेलेर

दुरुह अभिव्यक्तिको झ्यांग जेलेर   

विद्वताको नाममा बिचित्रै रमिता !

यो के भनेको हो,

निर्बासित अस्मिता”?


जब मैले लेख्छु सीधा सीधा कुरा

तिमीलाई लाग्दो हो, ‘कठै, बेसुरा!

फुटी-कौडी भेटिएन, काव्यिक संहिता ?

तर भावले टिलपिल ! देख्यौ नि पुरा ?


Friday, January 13, 2012

कसम

तिलोत्तमाले भनी-

गौतम

तिम्रा कवितामा निकै उपदेश छन्

प्रशस्तै संदेश छन्

देश त झन् हरफैपिच्छे छन्

बिदेश भोगेका अवशेष पनि छन्

तर तिनमा

 प्रतिको अनुराग कहीं भेट्दिन म,

आशक्तिको थोपो देख्तिन म !

हेर न,

कविहरु कस्ता मीठा मीठा गीत-गजल लेख्छन

प्रियतमको साथमा मोहनी भेट्छन्

तिमी खाली हावामा तैरिरहेका छौ

निर्जन मरुभूमिमा फैलिरहेका छौ


मैले भनें -

तिलोत्तमा !

देश जल्दा मन पनि जल्दोरहेछ

देश बल्दा मन पनि बल्दोरहेछ

समस्याले पो खोप्दो रहेछ मेरा कविता

सन्तुष्टिले छोप्दो रहेछ मेरा कविता

कहिलेकाहीं झसंग हुन्छु -

म त कलम मात्रै रहेछु !


पर्ख प्रिय,

यो कसम भो ,

तिम्रो लागि पनि लेखुँला

बिहानको घाममा डुबेको

यौटा उज्यालो कविता !

पूर्ण चन्द्रले भिजेको

यौटा मोहक कविता !

javascript:void(0)