Thursday, October 27, 2011

उर्जा

घाम कहीं त पर्छ, हावा कतै त चल्छ

हेर नदी बगेको, छाँगो कतै त झर्छ

खोज्छौ कहाँ बिकल्प, उर्जा छ यत्रतत्र

तानी निकाल्नु पर्छ, उर्जा छ आफ्नै भित्र


छन् यत्तिका बुट्यान, इन्धनका बोट होलान्

उर्जा समेल्न मिल्ने भान्सा र गोठ होलान्

टिपेर उर्जा निस्कौं, दियो यहीं त बल्छ

दियोले दियो बाल्छ, उर्जाले तिर्छ खर्च


संतापमा अल्झी बस्नु, होइन यो राम्रो तर्क

उर्जा खिपेरै हामी सम्बृध्द बन्नु पर्छ

संसार जो गर्न सक्छ, हामी नसक्ने के छ ?

हाम्रै पसिना, पौरख, उर्जाले बन्छ देश |


शुभ दिपावली तथा भाईटीकाको हार्दिक मंगलमय शुभकामना !

Friday, October 14, 2011

रुख भएपछि......

एकाएक म रुख भएँ

जरा हालें,

हाँगा हालें,

र पातहरु पलाएं,

भनें -

अब कहीं जान्न

यो ठाउँ छोडेर,

बरु अग्लो भै हेर्छु यहींबाट


स्थिर उभिएर,

धर्तीलाई छायाँ दिएँ मैले

पक्षीलाई मायाँ दिएँ

घाम-जुनको साथी बनें

झरी-हुरीको साक्षी बनें

र भनें-यो पनि जीवन रहेछ,

गहिराइले थाम्दो रहेछ यसको उचाईं !


धेरै भएको थिएन ,

कहाँ कहाँबाट पथिकहरु आए

हाम्रो यो बगैंचा हेरेर रमाए

र भने -

अहा, क्या रुखहरु रहेछन !

क्या बगैंचा !

हामीले पनि यस्तै बेर्ना सार्न पाए हुन्थ्यो

हामीले पनि यिनका बिउ उमार्न पाए हुन्थ्यो !

बाबु, त्यो पैसा हो !

भर्खरै भरिभराउ भएर

एउटा बस हुइंकिएर गयो

चमेरो झैं झुन्डिएर जाने आँट भएन

सडक-पेटीमा उभिएर

हामीले ट्याक्सी रोक्दै गर्दा

चप्पल पडकाउँदै

लखर लखर हिड्दै गयो एउटा मान्छे

एकाध घण्टा पछि

बजारमै फेरि जम्काभेट भयो उसंग

छोरोलाई अनौठो लागेर सोध्यो-

बाबा, यो मान्छे त अघि हिडदै थियो

हाम्रो घरैअघिबाट

यहाँसम्म ऊ किन हिंडेको ?

मैले मनमनै भनें -

बाबु त्यो पैसा हो, उसलाई हिंडाउने

ऊ त बस , सके ट्याक्सीमै पनि आउन चाहन्थ्यो

सरर गाडी चढ्न कसलाई मन हुँदैन ?


अर्को दिन

लुगा-कपडाको पसलमा

ओल्टाई पल्टाई गर्दै

कुनै चिज हेरिरहेको देखें उसलाई

निकै बेरपछि टोकरीमा हाल्यो त्यो  

लम्किंदै हिंड्यो ढोकातिर

अलिपर पुगेपछि

के के सम्झेर

टक्क उभियो ,

एकछिन टोलायो

र वर पर हेर्दै

लुसुलुसु फर्की आएर

उठाएको चिज त्यहीं थुपुक्क राखेर

अनिच्छाले खुट्टा लतार्दै

पसलबाट सुटुक्क बाहिरियो

यसरी कि,

मानौं, त्यहाँ आएकै थिएन

काँधमा बसेको मेरो सानो छोरोले

मलाई सोध्यो -

बाबा, त्यो मान्छे किन नकिनी गएको ?

मैले मनमनै भनें -

बाबु, त्यो पैसा हो, किन्न नसक्ने

मानिसलाई त अझै किन्न मन थियो

मन परेको कुरा किन्न कसलाई मन हुँदैन ?


घरबाहिर घुम्न निस्कंदा

पटक पटक

छोरो यसरी नै प्रश्न गर्छ मसंग

जब देख्छ

खाजाघरको डिस्प्ले-मेनुनेर कोही घोरिइरहेको  

या हाटबजारमा रित्तैझोला घुमिरहेको

अक्सर भोको या निनाउरो

छायाँ जस्तो अनुहार 


उसलाई बताउन मिल्ने जवाफ नहुनाले

चंगा देखाएर दंग पार्न खोज्छु उसलाई

बेलुन दिएर भुलाउँछु


तैपनि,

ऊ ठूलो र बुझ्ने हुँदासम्म

यस्ता प्रश्नहरु नरहिदिए

कति खुशी हुन्थें होला  !

javascript:void(0)