Tuesday, May 13, 2014

बुद्ध बिशेष


सुखका जरा
दुखहरु कतिपय आफैं पनि पलाउँछन्    
सुखहरु भने कसैले नरोपी फल्दैनन
बुद्ध
हाम्रा सुखहरु जसले रोप्यो
तीप्रति कृतज्ञता !
हामी पनि दुखहरु छिचोलेर
सुखका जरा रोप्न सकौं |



बाहिर / भित्र
मायाबतिले भनिन
बुद्ध
आँखा खोल
बाहिर यत्रो झरी परिरहेछ
सडक सडकै पानी बगिरहेछ
पाखा पाखै बादल हिंडिरहेछ
अब जाग
प्रकृतिको पनि चिन्तन गर
आभा खुल्दै गएको यो रमाइलो बिहानीलाई नगुमाऊ

बुद्धले भने
आमा
म यो सब देखिरहेछु
झरी छ, बजिरहेछ
मनभित्रका तारहरु गुनगुनाई रहेछन
बादल छ, सल्बलाईरहेछ, मनका ज्वारहरु पनि बगिरहेका छन् 
प्रभातका किरणहरु आशाका लाखौँ दीप बनेर
भित्र भित्रै चम्चमाईरहेछन्
बाहिर जो छ
त्यो भित्र झन् स्पष्ट छ,
सुन्दर, गहिरो र आनन्दमयी छ |


आवेग
तिलोत्तमाले भनिन्
गौतम, 
तिमी आवेग रोक्न भन्छौ 
शान्त रहन भन्छौ 
बिना आवेग कुनै सृष्टि भएको कहाँ छ ? 
तिमी पनि त आबेगमै निस्केथ्यौ, 
रात-बिरात घर छोडेर ! 

Sunday, May 4, 2014

सुनाई

सानो शंख बोकेर ल्यायो छोराले कतैबाट 
र मेरो कानमा छुवाउंदै भन्यो-
बाबा, यसमा सागर सुसाएको सुन,
नभन्दै, सागर पो .....!

त्यसपछि मैले   
पहराको ढुंगामा
खोलाको कलकल र 
जंगलको ठुटो-काठमा
कोइलीको गीत सुन्न थालें
हुँदा हुँदा
कति बर्षदेखि नलगाएको
मेरो थोत्रो जुत्तामा समेत  
आफ्नै पाइलाहरु अनबरत बजेको सुनें

अब म सचेत छु,
कुनै कुराको सम्झना नछोडेर
म बिल्कुल नरहँदा पनि कतै
मेरो आँगनको माटो उठाएर
कसैले देशप्रेमको धड्कन नसुनोस् ! 

javascript:void(0)