(पोखरेली युवा साँस्कृतिक परिवार, पोखराले केही बर्ष पहिले भ्रष्टाचारको बिरोधमा कविता लेख्ने यौटा बिशेष कार्यक्रम चलाएको थियो आफू त्यसमा उपस्थित नभएपनि त्यसको भावनासँग मेल खाने गरी हालसालै लेखिएका दुई टुक्राहरू प्रस्तुत गरेको छु)
घर छोड्न पाउँदिन
भो साथी
तिम्रो बिहेमा म आउँदिन
घर छोड्न पाउँदिन
सुन्छु, निकै पैसा कमाएका छौ
अनेकौं नयाँ साथी पाएका छौ
जन्तीमा पुरानाको गन्ती होला र ?
आफैं पनि बेहद नयाँ भएका छौ !
भो साथी
तिम्रो बिहेमा म आउँदिन
अफिसमा छुट्टी पाउँदिन
समयले धेरै कोल्टो फेरिसक्यो
सबैजनाको औकात हेरिसक्यो
तिमीले त छिट्टै चुली टेकेका छौ
'आँट' र 'गाँठ'को नाता देखेका छौ
भो साथी
तिम्रो बिहेमा म आउँदिन
आफन्तकै बिहे छ, भ्याउँदिन
अट्किने/खट्किने के नै होला र ?
बाजागाजा, सज-धज, होटल, मोटर
महंगा कपडा, गहना, फर्निचर
बिदेशी रक्सी र विशिष्ट अतिथि
तिम्रा बैभव-यात्राका सहचर
भो साथी
तिम्रो बिहेमा म आउँदिन
तराई बंद छ, बस पाउँदिन
नरिसाऊ है साथी, म आउँदिन
कोट अलि फाटेको छ, भो सिलाउंदिन
कम्प्लेक्स मान्छेहरु
अचेल जहाँतहीं बाक्लै मान्छेहरु बिझाइरहेछन
टोलमा गल्लीमा
गाउँमा बस्तीमा
मान्छेका अनुहारहरुले गिज्याईरहेछन
तिनको शिर
अनेकपल्ट भाँचिएका अस्थि-अडेसाहरुमा
अझैपनि स्थिर अडिएको छैन
तिनका आँखामा
अनौठा स्वप्नहरू
कचेरा झैं लपक्क टाँसिएका छन्
र
सोझो हिंडेका छैनन् तिनका पैतालाहरु
एकदिन
माछापुच्छ्रेले मलाई सोध्यो -
यो तलाउमा ऐना हेर्न
किन अरु कोही नआएका हँ ?
मसंग जवाफ थिएन
मनमनै सोचें,
हुन त अचेल
चौतारीमा बिसौनीमा
चोकमा बजारमा
जहाँतहीं लस्करै मान्छेहरु भेट्छु
गम्केका, चम्केका र लम्केका पनि देख्छु
मसंग खासै बोल्न नचाहेपनि
दास झैं
कसैको वरपर घुमिरहेको देख्छु
हजूर हजूर भनिरहेको देख्छु
के को चक्करमा छन् कुन्नि यिनीहरु?
माछापुच्छ्रेले फेरि सोध्यो
यसरी
पाखा पखेरामा गुराँस फुलेको बेला
यति मीठो बतास चलेको बेला
यो नदीमा नुहाउन
किन कोही नआएका हँ ?
अन्यौलमै मैले जबाफ भेट्टाएँ
भनिदिएँ-
प्यारो हिमाल !
मान्छेहरु अचेल "कम्प्लेक्स" भएका छन्
तिनका दिनचर्या र स्वभाव पनि बदलिएका छन्
एक अन्जुली सङ्ग्लो पानी लिएर
घट घट पिउन त डराउँछन्
अब यत्रो जलाशयमा
डुबुल्की लाउन कहाँ आउँछन् ?
Download Bulbul : Episode-14
8 hours ago





