Wednesday, December 2, 2009

जवाफ

(पोखरेली युवा साँस्कृतिक परिवार, पोखराले केही बर्ष पहिले भ्रष्टाचारको बिरोधमा कविता लेख्ने यौटा बिशेष कार्यक्रम चलाएको थियो आफू त्यसमा उपस्थित नभएपनि त्यसको भावनासँग मेल खाने गरी हालसालै लेखिएका दुई टुक्राहरू प्रस्तुत गरेको छु)


घर छोड्न पाउँदिन

भो साथी
तिम्रो बिहेमा म आउँदिन
घर छोड्न पाउँदिन


सुन्छु, निकै पैसा कमाएका छौ
अनेकौं नयाँ साथी पाएका छौ
जन्तीमा पुरानाको गन्ती होला र ?
आफैं पनि बेहद नयाँ भएका छौ !

भो साथी
तिम्रो बिहेमा म आउँदिन
अफिसमा छुट्टी पाउँदिन

समयले धेरै कोल्टो फेरिसक्यो
सबैजनाको औकात हेरिसक्यो
तिमीले त छिट्टै चुली टेकेका छौ
'आँट' र 'गाँठ'को नाता देखेका छौ

भो साथी
तिम्रो बिहेमा म आउँदिन
आफन्तकै बिहे छ, भ्याउँदिन

अट्किने/खट्किने के नै होला र ?
बाजागाजा, सज-धज, होटल, मोटर
महंगा कपडा, गहना, फर्निचर
बिदेशी रक्सी र विशिष्ट अतिथि
तिम्रा बैभव-यात्राका सहचर

भो साथी
तिम्रो बिहेमा म आउँदिन
तराई बंद छ, बस पाउँदिन

नरिसाऊ है साथी, म आउँदिन
कोट अलि फाटेको छ, भो सिलाउंदिन




कम्प्लेक्स मान्छेहरु

अचेल जहाँतहीं बाक्लै मान्छेहरु बिझाइरहेछन
टोलमा गल्लीमा
गाउँमा बस्तीमा
मान्छेका अनुहारहरुले गिज्याईरहेछन

तिनको शिर
अनेकपल्ट भाँचिएका अस्थि-अडेसाहरुमा
अझैपनि स्थिर अडिएको छैन
तिनका आँखामा
अनौठा स्वप्नहरू
कचेरा झैं लपक्क टाँसिएका छन्

सोझो हिंडेका छैनन् तिनका पैतालाहरु

एकदिन
माछापुच्छ्रेले मलाई सोध्यो -
यो तलाउमा ऐना हेर्न
किन अरु कोही नआएका हँ ?
मसंग जवाफ थिएन

मनमनै सोचें,
हुन त अचेल
चौतारीमा बिसौनीमा
चोकमा बजारमा
जहाँतहीं लस्करै मान्छेहरु भेट्छु
गम्केका, चम्केका र लम्केका पनि देख्छु
मसंग खासै बोल्न नचाहेपनि
दास झैं
कसैको वरपर घुमिरहेको देख्छु
हजूर हजूर भनिरहेको देख्छु
के को चक्करमा छन् कुन्नि यिनीहरु?

माछापुच्छ्रेले फेरि सोध्यो
यसरी
पाखा पखेरामा गुराँस फुलेको बेला
यति मीठो बतास चलेको बेला
यो नदीमा नुहाउन
किन कोही नआएका हँ ?

अन्यौलमै मैले जबाफ भेट्टाएँ
भनिदिएँ-
प्यारो हिमाल !
मान्छेहरु अचेल "कम्प्लेक्स" भएका छन्
तिनका दिनचर्या र स्वभाव पनि बदलिएका छन्
एक अन्जुली सङ्ग्लो पानी लिएर
घट घट पिउन त डराउँछन्
अब यत्रो जलाशयमा
डुबुल्की लाउन कहाँ आउँछन् ?

Friday, November 13, 2009

हामी बांचेका होइनौं, बचेका हौं

(भूपी शेरचन या हरिभक्त कटुवाल (जस्तो लाग्छ), कुनै एकजना प्रतिष्ठित कविले आफ्नो कविताको अन्तिम हरफमा 'हामी जीवनमा फँसेका हौं' भनेर लेख्नुभएको छ धेरै पहिले पढेको हुनाले मैले कविताको शिर्षक समेत भुलें, क्षमा चाहन्छु तर उक्त कविताको आधुनिक संस्करणको रुपमा मैले यो कविता प्रस्तुत गरेको छु)

हामी बांचेका होइनौं, बचेका हौं
मर्ने त मरीगए, धन्य भए
हामी बांकी जो छौं, फँसेका हौं

जीवन त आफ्नो स्वेच्छाले बाँच्ने पो!
दिनभरी काम गरी निर्भय हाँस्ने पो!

हामी त प्रत्येक पल तर्सेका छौं
बिहान घरबाट निस्केको मान्छे
मुश्किलले साँझमा फर्केका छौं
भोलिको झन भयाबह दृश्यमा
आधाजसो निंद्रा खर्चेका छौं

हामी मुठभेडमा नपरेका हौं
पर्ने त परी गए, धुलो- पीठो भए
बांकी जो छौं, शिर-पाउ डरेका हौं
















जीबन त आफ्नो पौरख कुँद्ने पो !
जीबन त आफ्नो गौरब उन्ने पो !

रोजानै महंगी र बेरोजगारीको पीर
उसमाथि अनिकाल र महामारीको पीर
पीरै पीरमा मीठो बैंश अर्पेका छौं
(सरकार त लुलो छ, उस्कै पीर ठूलो छ)
एकै पुरिया जीवनजलको निम्ति
पशुपतिनाथतिर फर्केका छौं

त्यसैले,हामी लाशका ह्राशमा छुटेका हौं
मर्ने त मरीगए, रामराम भए
बांकी ढुन्मुनाउँदै उठेका हौं

रोजै अपहरणकारी छल्दै बंचेका छौं
नशाचुरका सवारी छल्दै बंचेका छौं
चंदाका फन्दाको त हिसाबै छैन हजुर
दश-थरि बंदूकधारी छल्दै बंचेका छौं

हामी फिरौतिमा नजंचेका हौं
तिर्ने त फर्कीआए, पुनर्जन्म पाए
नतिर्नेको खबर सोद्धै बसेका हौं

हामी सुराकीमा नपोलिएका हौं
पोलिने त छोडी गए, उठीबास भए,
बांकी अर्को सूचि कुर्दै घोरिएका हौं

आफ्ना रंगले कोर्ने जीवन, खोइ ?
आफ्ना धुनले भर्ने जीवन, खोइ ?
















हामीसंग जीवन छैन,ज्यान मात्रै छ
त्यो पनि
बाटो छोड़दै बग्ने कोशीतीरको कृपा
बाटो तोडदै बग्ने कृष्णभीरको कृपा
कृपै कृपामा नुहेका छौं
नुहिन त पर्यो उसै, भोलेनाथका पाउमा
फोहोरका डङ्गुर पनि सुंघेका छौं

हामी बांचेका होइनौं, बचेका हौं
मर्ने त मरीगए, मुक्त भए
हामी बांकी जो छौं, फँसेका हौं


Tuesday, October 27, 2009

जुनको वर्षा















आज जुन झरी भएर बर्षियो
पानीका प्रत्येक बुँद बुँदमा
जुनको आभा छल्कियो
भोलिलाई जुन बाँकि नरहे नरहोस
आजलाई जुन धर्ति डुब्ने गरी घर्कियो

आफ्नो त जुनसंग बर्षौंको नाता
जुनकै उजेलीमा खेलियो हुर्किईयो
आज जुन छानै छाना ओर्लिंदाखेरि
बलेंशिमै शिर थापी पर्खिईयो
म त पग्लें साथी जुनले भिजेपछि
जुन मन बराल्दै दर्कियो
भोलिलाई मन बाँकि नरहे नरहोस
आज मन जुनसंग सल्कियो

आँगनमा सल्बलाएर झर्नै लाग्दा जुनले
अधैर्य भै अश्रुधारमा टल्किइयो
जुन पनि पुलुक्क फर्कियो
अंगालोमा बेरयो साथी मलाई त जुनले
जुन अझै हौसिंदै चर्कियो
अब जुनको भएपछि जुनसंगै बग्नलाई
तन पनि जुनलाई अर्पिइयो
भोलिलाई दिन बाँकि नरहे नरहोस
जुनकै खातिर एक जिन्दगी खर्चिइयो

भोलिलाई जुन बाँकि नरहे नरहोस
आज जुन एक जुग भै बर्षियो !

Wednesday, October 7, 2009

तिहार














यौटा जुन सयौं तारा रातको सहारा
मनको दियो बाल्नेलाई सधैं तिहार

ठूलो आकाश ठूलै धर्ती सानो संसार
आँट बोकी हिंडे टाढा छैन किनार
मनको फाँट फैलाएमा साथी हजार
मनको दियो बाल्नेलाई सधैं तिहार

अमूल्य छ जिन्दगी यो, मूल्य नहार
शीत, वर्षा, हुरी भनी हिंड्न नछाड
सपनीमा घाम साँचे सधैं पाहार
मनको दियो बाल्नेलाई सधैं तिहार

गुराँस फुल्छ पहरामा, हाँसो अपार
पौरखीले आफैं खोप्छन आफ्नो निधार
मनै काँडा, मनै फूल, मनै बहार
मनको दियो बाल्नेलाई सधैं तिहार

यौटा जुन सयौं तारा रातको सहारा
मनको दियो बाल्नेलाई सधैं तिहार

Wednesday, September 2, 2009

दशैंको कविता
















शरद छायो
सयपत्री गोदावरी पाख्‌पाखैमा
सयपत्री गोदावरी आँख्‌आँखैमा

सुनौला धर्ती, सफा आकाश

चिसो बतास, मीठो सुबास
मखमली मालती बाट्‌बाटैमा
पुतली माहुरी पात्‌पातैमा


दशैं आयो
शंख घन्टी, पूजा आराधना
धूपबत्ती प्रसाद, मन्‍दिर परिक्रमा
अक्षतापाती ढोक्‌ढोकैमा
बिराना साथी चोक्‌चोकैमा

पीङको रौनक, हाटको रौनक
पोतिएर सजिएका घरको रौनक
हतारो चटारो टोल्‌टोलैमा
च्‍यांग्राका हूल मोल्‌तोलैमा

देश ?
द्वन्‍दको दशक, हिंसा, संत्राश
मुर्झाएको मुलुक व्‍युँतने अत्याश
शान्तिको आकांक्षा श्‍वास्‌श्‍वासैमा
उज्यालो भविष्‍यको आश्आशैमा

सयपत्री गोदावरी पाख्‌पाखैमा
सयपत्री गोदावरी आँख्‌आँखैमा
चढाएँ हजुरलाई हात्‌हातैमा
शुभकामनाको साथ्‌साथैमा

कविताको दशैं





















शरद लागेपछि
एक जिस्ता खाली कागज लिएर
सोचें-अब फूलसंग कविता माग्छु
अब जुनसंग कविता माग्छु
पहाडसंग, खोलासंग, रुखसंग.......
सबै सबैसंग कविता माग्छु


फूलसंग भनें - तिम्रो अलिकति मात्रै महक दियौ भने
मेरो कविता उत्कृष्ट हुनेछ
फूलले भन्यो - कविताका जरा माटोमा हुनुपर्छ
मेरोजस्तै,
तिम्रो कविताका बिउहरु माटोमा रोपिहेर,
समय लाग्छ


जुनसंग भनें - तिम्रो अलिकति मात्रै चहक दियौ भने
मेरो कविता श्रेष्ठ हुनेछ
जुनले भन्यो - कवितामा पुर्णिमाको रोशनी भर्नलाई
अँध्यारोमा एक्लै सुत्नुपर्छ केहि रात
मैलेजस्तै,
समय लाग्छ


भएन,
सबैले यसरी जवाफ फर्काएपछि
मैले कवितालाई भनें-
कविता !तिमी आफैं कोरिए कसो होला मेरो जिस्तामा ?
पर्ख - कविताले पनि भन्यो,
समय त लाग्छ नै
मलाई उमार्नुपर्छ


उसले मसंग बीउ माग्यो
अलिकति बीउ दिएँ
उसले माटो पनि माग्यो
आफ्नै बारी टारीको
अलिकति माटो दिएँ
यसरी नै,
उसले मागेका सबैथोक दिएपछि
कविताले भन्यो-सुन,
तिम्रो जिस्तामाथि मलाई रोपेपछि
अंध्यारोमा केहिदिन गुम्स्याएर राख
कहिलेकाहीं जलसिंचन गर


त्यो दिन घटस्थापना रहेछ
एकसाता पछि
कविता जमरा भएर पो उम्रियो !
रंगीन अक्षताको शिर्षक थपिदिंदा
पूर्णिमाको चहक
र फूलको महक
दुवै पायो,
मेरो त हर्षको सीमा रहेन,
सबैलाई बोलाएर भनेँ-
लौ, दशैं आयो

Sunday, August 30, 2009

आमा र मामा

आमा र मामाको सम्बन्ध
नेपाल र हिमालको जस्तै रहेछ
आमा नेपाल भए
मामा हिमाल हुनुहुँदोरहेछ

















(तस्बीर: मामा)


आमा हँसिली भए
मामा उज्यालो हुनुहुँदोरहेछ
आमा निन्याउरी भए
मामा अँध्यारो हुनुहुँदोरहेछ

आमा शान्त, सन्तुष्ट भए
मामा अग्लिनु हुँदोरहेछ
आमा तप्त, रुष्ट भए
मामा पग्लिनु हुँदोरहेछ

आमालाई सुखी, खुसी देखे
मामाको धाक बढ्दो रहेछ
आमालाई दुखी देखे
मामाको शाख गिर्दो रहेछ

आमालाई सम्झंदा
मामालाई बिर्सन मिल्दो रहेनछ
मामालाई सम्झंदा
आमालाई बिर्सन मिल्दो रहेनछ