एउटा त्यस्तो बगैंचा
जहां
चौतारीमा संगसंगै बस्छन्
कोइली र कवि
खोला किनारमा बात मार्छन्
बैज्ञानिक र वाममाछा
चराले सोझ्याइदिन्छ
बच्चाहरूले उडाएको चंगालाई
बुढो रूखले कथा सुनाउंछ
तन्नेरी केटाहरूलाई
बतासमा, एउटै तालमा
नाच्छन्
फूल र स्कूले नानीहरू
गुफामा लुकामारी खेल्छन्
चमेरा र केटाहरू
तोपचरा कुरा गर्छ
गुन्द्री बुन्दै गरेकी फुपूसंग
सम्वाद भैरहन्छ
कहिले पानीसंग
हत्केला राखेर
फुट्नै लागेको मुलमाथि
कहिले विरूवासंग
बढ्दै गरेको लहरालाई
औंलामा बेरिन दिएर
कहिले फूलको पत्तासंग
बिस्तारै बदलिंदै गरेको रंग हेरेर
कहिले हावासंग
थापिदिएर गाला
बिस्तारै चिस्सिंदै गरेको वतासलाई
समय बित्छ
कहिले धैर्यसाथ कुरेर
झुसिल्किराबाट पुतली निस्कुन्जेल
कहिले सुमसुम्याएर
भर्खरै जन्मेका
चराका बच्चाहरूलाई
गुंडमै पुगेर
कहिले दौडेर खरायो संगसंगै प्रतिस्पर्धामा
कहिले बोलाएर
दुलोभित्र लुक्ने प्राणीलाई समेत
एउटा त्यस्तो स्वप्न बगैंचा
जहां
रोलर कोस्टरको र्याईं र्याईं जरूरी हुन्न
खेल्नुपर्दैन टिकट काटेर
खेलौना रेल र रोपवे
जहां फुल्छन्
ऋतुपिच्छेका फूलहरू
अनगन्ति
र फल्छन्
ऋतुपिच्छेका फलहरू पनि त्यत्तिकै
म त्यस्तो स्वप्न बगैंचा देखिरहेछु ।
No comments:
Post a Comment