बुद्ध !
म लेख्न खोजिरहेछु
तृष्णाको एउटा लामो कथा
जस्को सकिने अझै टुंगो छैन
धेरैपल्ट
म डील डीलसम्म पुगेर फर्केको हुं
आंखाका भीरको
तिनले मलाई देखेनन्
वा वास्ता गरेनन्
त्यो तिनकै कुरा
धेरै पल्ट
म तीर तीरै हिंडेको हुं
छालहरू हेर्दै
नशाका खोलामा उर्लिएका
तिनले पनि मलाई पत्याएनन्
र भिजाउने चेष्टा गरेनन्
म पुगेथें
निस्पट्ट घना जंगलको छेउसम्म
र उच्च पहाडी छांगोको शिरसम्म पनि
घना आबाद बस्तीको रंगमंचनेरै समेत
म गएर उभिएथें
त्यसरी हिंडेकोमा
कसैले पीछा गरेन मेरो
कसैले इर्ष्या गरेन
र समाएर तानेन पछाडिबाट
त्यो बेग्लै कुरा
म गएकै हुं
कौतुहल या करैले गएको हुं
म जिन्दगीसंग निथ्रुक्क भिज्न चाहन्थें
डुब्न चाहन्थें खसेर यसमा
शायद मसंग
चाहिंदो वजन भैसकेको थिएन खस्नलाई
डुब्नलाई गुरूत्व
र बग्नलाई आयातन
त्यसैले म फर्केर आएं
हरेस खाएको छैन
मेरो तृष्णाले
अझै मलाई धकेलिरहेछ
अन्तरिक्षयानलाई
रकेटले झैं
बुद्ध,
तृष्णाको यो अनंत कथा लेख्न छोडेर
खै म कहिले शरण परूंला तिम्रो ?
No comments:
Post a Comment