Saturday, February 18, 2012

बन्दुक र बिवेक

किसुनजी भन्नुहुन्थ्यो -

अत्याचारीको

भ्रष्टाचारीको

र बन्दुकधारीको संगत नगर्नु !

म सोध्थें -

अत्याचार र भ्रष्टाचारको त निकै चर्चा हुन्छ

खबर पढिन्छ,

गोष्टि सम्मेलन चल्छन तिनका बिरुद्धमा

तर बन्दुकको उस्तो बिरोध सुनिदैन

बन्दुक बोकेपनि

बन्दुकधारी हामी जस्तै होइन र ?


उहाँ भन्नुहुन्थ्यो- होइन,

बन्दुक बोकेपछि ऊ बेग्लै हुन्छ,

आज्ञाकारी भएपनि

बन्दुकधारी सधैं अहंकारी हुन्छ,

जिम्मेवारी बढ्ला शायद उसका

बन्दुक सम्हालेपछि,

समझदारी भने

स्वात्तै घट्छ उसको माथाबाट

त्यसैले, धेरैजसो

ऊ आफ्नो भाषा बोल्दैन

बन्दुकको भाषा बोल्छ,

आफ्नो हाउभाउ गर्दैन

बन्दुककै हाउभाउ गर्छ,

बन्दुकले जे पनि गर्नसक्छ भन्ठान्छ ऊ

इतिहास बन्दुकले नै रचेको बिश्वास गर्छ

जितेको एउटा बन्दुक मात्रै देखेको छ उसले

हारेर ढलेका,

रक्त आहालमा गढ़ेका,

कुच्चिएका,

खिया परेका बन्दुक देखेको छैन उसले


हुन त,

बन्दुकले दागेका मानवता,

यसले लल्कारेका बन्धु-बात्सल्यता,

यसले निलेका सुन्दर सम्भावनाहरु पनि

कस्ले पो गनी बसेको छ र ?


तैपनि

अक्सर बन्दुक बोक्ने मानिस

कस्को बन्दुक हो, त्यो भुल्छ,

किन बोकेको हो, त्यो भुल्छ,

सबैले आफ्नो चरण ढोगुन भन्छ,

सबै आफ्नो शरण परुन भन्छ,

बन्दुक छुटेपछि मात्रै

आफ्नो ठम्याईको दम भेट्छ उसले

बन्दुकप्रतिको खपिनसक्नु आस्थाले

आफु आफु नरहेको चाल पाउँछ


हेर , जहाँ पनि

आफ्नो चलुन्जेल बन्दुक संरक्षक/अंगरक्षक भएको छ

थोरै नचल्नासाथ त्यही राक्षस/भक्षक भएको छ

निहत्थालाई त सधैं तर्साउँछ यसले ,

बन्दुककै घेराभित्र पनि बन्दुक मात्छ

बन्दुककै पर्खालमा पनि निशाना साध्छ

कोतपर्वदेखि दर्बारकाण्डसम्म हेर

पाकिस्तान, तालेबान र अफगानिस्तान हेर

न्यायका निरिह आवाजलाई कुल्चनखोज्ने बन्दुक

सधैं आफ्नो हुन्छ भनेर भर नपर्नु

अक्सर बन्दुकले बिबेक हराउँछ

त्यसैले

बन्दुकधारीको संगत नगर्नु !

Friday, February 17, 2012

माकुराको अठोट

पुछ्दै थिएँ है घरका कुनामा

देख्छु म क्वै अड्किय झैं थुनामा

दायाँ र बायाँ मसिना रसी छन्

माथि र मुनी पनि झन् कति छन्


सोधें यहाँ लौ थुनियौ कसोरी

साह्रै ठुलो कर्तुत पो थियो कि ?

कस्को शिफारिस् कति हो सजायं ?

बेला छँदै, धन्न ! म हेर्न आएँ


बोल्यो उ-मेरो घर हो, मनुवा

को हुन्छ आफ्नै घरमा थुनुवा ?

घुरेर हेर्दै किन हो पिरेको ?

आफ्नो छ के काम, त्यतै गए भो


मैलें भनें-धत् ! घर यो त मेरो

जीवन् भरीको धनले बुनेको

कब्जा गरौंला भनि यो नठान

छोडेर जाऊ, कि त फाल्छु, जान


निस्की रुँदै ऊ पर गै करायो

भैगो, ल मेरो सबथोक् हरायो

आफ्नो भएमा घर बुन्ने शिल्प

जस्तो पनि र् सहजै ठडिन्छ


तिम्रो सिमादेखि परै बसौंला

छिट्टै म अर्को घर जो रचौंला

सारा कलाले सिपले सजौंला

देखेर तिमी ईषले जलौला


यति भनेर माकुरा आफ्नो बाटो लाग्यो | एकदिन अफिसबाट फर्कंदा बाटैमा एउटा रुखबाट तुन्ग्रुंग झुन्डिएर उसले मलाई आफ्नो घर हेर्ने निम्ता दियो | त्यसको बयान मैले यसभन्दा अघि नै (September,2011 मा) गरिसकेको छु|

javascript:void(0)