Thursday, April 28, 2011

गुप्तचर

एकदिन मैले उसलाई साहित्यकारकहाँ भेटें

खुब गफ्फिंदै भन्दै थियो -

साहित्यकारको कामै के छ

छ्यास्स लेखिदियो

ट्यांस्स टाँसिदियो

पत्रिकामा छापिदियो

बस्


अर्को दिन उसलाई

प्राध्यापकको घरमा भेटें

ऊ भन्दै थियो -

मास्टरी जागिर

उही पढ्यो

उही पढायो

भुरा भुरीलाई रटायो

बस्


फेरी अर्को दिन

डाक्टरकहाँ भेट भयो ऊ

भन्दै थियो -

नाडी छाम्यो

पैसा डाम्यो

बस्


संयोगले

बिमानचालककहाँ पनि भेटें उसलाई

भन्दै थियो - पाइलटको काम

ह्यान्डल उठायो, भुर्र उडायो

ह्यान्डल दबायो, भुइंमा गुडायो

बस्

(कुरा सुनिरहेका छिमेकी बाले

झोकै चलेर प्वाक्क सोधे-

अनि के चैं गाह्रो छ त यो दुनियामा ?

ऊ बोलेन, कुरा अन्तै मोड्यो


त्यसदिन संगसंगै फर्किंदा

उसले मलाई सोध्यो -

होइन सर,

म पुग्छु ज-जसको घर

यहाँलाई नै भेट्छु बरोबर

तपाईं कसको गुप्तचर ?
javascript:void(0)