Thursday, December 18, 2014

ढुंगाको शहर

एकदिन शहरलाई भनें-    
तिमी ढुंगै ढुंगाको शहर हौ  
दुइपाटे चौरको शिर भएपनि  
तिम्रो घांटीमै भीमढुंगा 
छातीमै ढुंगे बगर 
मुटुमा साँढे झैं बसेको चिप्लेढुंगा 
कम्मरमा नागढुंगा र
पाउमा ढुंगे-शांघु छन्
शहरले तात्तातै जवाफ दियो -
तैपनि, यहाँ
ढुंगा चिरेरै नदी बगेको छ
ढुंगाकै बिचमा तलाउ जमेको छ
ढुंगा खोपेरै गुफा बनेका छन् र
ढुंगाकै कापबाट झरना फुटेका छन्
ढुंगाले कोमलतालाई कहाँ रोकेको छ ?
ढुंगामाथि नै फूल फक्रिन्छ यहाँ  
मेरो सिरपोश भै बसेको माछापुछ्रेमा समेत   
ढुंगैमाथि हिउँ पोतिन्छ |
सोचें-
दुनियाका तारिफले नथाक्ने शहरलाई
जिस्काउनु व्यर्थै हो !

Saturday, August 30, 2014

बाटो र याद

  
ढुंगाका छपनी टाँसेर
ढुंगाकै बिसौनी राखेर
वरपर पर्खाल उठाएर
फूल र रुखहरु लगाएर 
कसले बनायो होला यो बाटो
पछिसम्मलाई सोचेर

यो बनाउँदा उसको हरेक साँझ
बाटोकै चिन्तनमा डुब्यो होला
सपनामा बाटो नै घुम्यो होला
बिहान उठेर धेरैबेर
छपनीकै छनौटमा गम्यो होला
हिंजोभन्दा आज बोटहरुको उचाई
आँख-आँखै दांज्यो होला
छिटछिटो भएको हेर्ने हतारो या   
बेचैनीले गाँज्यो होला

मनको लामो शृंखलाबाट निकालेर
त्यत्रो धैर्यका साथ
कसले जन्मायो यो सुन्दर कला ?

ख्वै,
ऊ कहाँ छ, पत्तो छैन
बर्षौंअघि बितेको पनि हुनसक्छ
बाटो बनाएकै कहिले हो, थाहा छैन
तैपनि हरेक बटुवा उसलाई कल्पन्छ | 

Tuesday, August 26, 2014

धर्ती-पुत्र


धर्तीले बाक्लो हुस्सु ओढदा
मैले पनि पछ्यौरी ओढें
धर्तीले तातो सास फेर्दा
मैले पनि पसिना काढें
धर्तीले हिउँको दोसल्ला बेर्दा
मैले पनि बक्खु भिरें
धर्ती रुझ्दा म रुझें
धर्ती खुल्दा म खुलें
त्यसैले
धर्ती खुम्चिंदा म पनि खुम्चिन्छु
धर्ती टुक्रिंदा म पनि टुक्रिन्छु 
किनभने म धर्ती-पुत्र हुँ | 

झरीको किनार


हिंड्दा हिंड्दै झरी पर्यो  
रुझिनबाट बच्नलाई होला
मानिसहरु ओत खोज्दै दौडिए
झरी बिसाउने आशामा पर्खिरहे
म भनें झरीमा छिरें, लहडमै    
निथ्रुक्क भिज्दै हिडें   
आखिर मलाई थाहा भयो    
झरीको पल्लो किनार पनि हुँदोरहेछ     
जहाँबाट भेटिंदो रहेछ,
अथाह घामको साम्राज्य |

Monday, June 30, 2014

अंतर्ध्वनि

आज  सन्तुष्ट छु, आज संतृप्त छु
म त फूलमा रमेको भंवरा बनें
एक नदि जो तरी बेग संग्रामको
पारि चौरमा सुतेको बटुवा बनें

धूपमा खूब जलें, शीतमा खूब गलें
चर्को हावा, हुरी र झरीमा कूदें
आज घामको पाहार, मन्द वायु बहार
कलकल पानी र चिरबिर चखेवा सुनें

स्वर्ग देख्नु कहाँ, नर्क भेट्नु कहाँ
आज अंतस्करणको कुटीमा टेकें
एक अँध्यारो गुफा निस्की हेर्दा, आह़ा
सच्चा ईश्वर अरुकै खुशीमा भेटें

आज धर्म चिनेँ, आज कर्म चिनें
सारा मन्दिर र मक्का मदिना चिनें
एक शहर जो घुमी खूब झिलमिलको
ज्यादा लालच बेचेर करुणा किनें


Tuesday, May 13, 2014

बुद्ध बिशेष


सुखका जरा
दुखहरु कतिपय आफैं पनि पलाउँछन्    
सुखहरु भने कसैले नरोपी फल्दैनन
बुद्ध
हाम्रा सुखहरु जसले रोप्यो
तीप्रति कृतज्ञता !
हामी पनि दुखहरु छिचोलेर
सुखका जरा रोप्न सकौं |



बाहिर / भित्र
मायाबतिले भनिन
बुद्ध
आँखा खोल
बाहिर यत्रो झरी परिरहेछ
सडक सडकै पानी बगिरहेछ
पाखा पाखै बादल हिंडिरहेछ
अब जाग
प्रकृतिको पनि चिन्तन गर
आभा खुल्दै गएको यो रमाइलो बिहानीलाई नगुमाऊ

बुद्धले भने
आमा
म यो सब देखिरहेछु
झरी छ, बजिरहेछ
मनभित्रका तारहरु गुनगुनाई रहेछन
बादल छ, सल्बलाईरहेछ, मनका ज्वारहरु पनि बगिरहेका छन् 
प्रभातका किरणहरु आशाका लाखौँ दीप बनेर
भित्र भित्रै चम्चमाईरहेछन्
बाहिर जो छ
त्यो भित्र झन् स्पष्ट छ,
सुन्दर, गहिरो र आनन्दमयी छ |


आवेग
तिलोत्तमाले भनिन्
गौतम, 
तिमी आवेग रोक्न भन्छौ 
शान्त रहन भन्छौ 
बिना आवेग कुनै सृष्टि भएको कहाँ छ ? 
तिमी पनि त आबेगमै निस्केथ्यौ, 
रात-बिरात घर छोडेर ! 

Sunday, May 4, 2014

सुनाई

सानो शंख बोकेर ल्यायो छोराले कतैबाट 
र मेरो कानमा छुवाउंदै भन्यो-
बाबा, यसमा सागर सुसाएको सुन,
नभन्दै, सागर पो .....!

त्यसपछि मैले   
पहराको ढुंगामा
खोलाको कलकल र 
जंगलको ठुटो-काठमा
कोइलीको गीत सुन्न थालें
हुँदा हुँदा
कति बर्षदेखि नलगाएको
मेरो थोत्रो जुत्तामा समेत  
आफ्नै पाइलाहरु अनबरत बजेको सुनें

अब म सचेत छु,
कुनै कुराको सम्झना नछोडेर
म बिल्कुल नरहँदा पनि कतै
मेरो आँगनको माटो उठाएर
कसैले देशप्रेमको धड्कन नसुनोस् ! 

Tuesday, April 8, 2014

मौसम-आग्रह

घामका मधुर किरणसंगै 
बाहिर झलमल्ल हिमाल खुलेको छ
को बसिरहला घरभित्रै यतिबेला ?
निस्क, यो उत्सब हो
जो संसारभरकै दुर्लभ हो
झ्याल झ्यालमै हिमाल उभिदिएपछि 
व्यस्तैलाई समेत एकछिन फुर्सद हो

अरे ! चिन्ता छोड, 
कसैका कुरा नकाट आज ! 

यो सफा दिन, यो ताजा हावा 
यो छिन छिनमा रंग फेर्ने हिमाल
त्यो तालमाथिको लच्किँदो बादल
यी पहाड, बेंसीका घर 
यो झपक्क बोगेंभिलाले ढाकेको शहर  
निस्क, खुला मन भिरेर निस्क

दुश्मन भेटे पनि बोल आज
उसलाई समेत बोल्न मन छ तिमीसंग !

यो बरदानजस्तै उल्लासमयी घडीमा
आज मौसम गाउँदै जाउँ, जहाँसम्म पो पुगिएला !
आज मौसम बजाउँदै जाउँ, जहाँसम्म पो पुगिएला !
यो सुन्दर शहरको एक सुन्दर बिहान
सुतेर नगुमाउँ
यो सुन्दर जीवनको एक सुन्दर पल
हृदयभरि चुल्याएर मनाउँ !!! 

ओदाने जुन

जुन यसैगरी कुद्थ्यो
हिंजो पनि
थाकासाकी लाइन या 
चुकुवा एक्सप्रेसको प्रतिस्पर्धामा 
आज पनि यो कुदिरहेछ, 
बर्दिया निकुन्जको माथि-माथि  
खप्तड यातायातको हतारोसंग ताल मिलाउंदै,
       
म पर्दा सारेर
झ्यालका कापबाट निरन्तर हेरिरहन्छु 
फरक यत्ति छ
जुनको ऐनामा  
उतिबेला म घर खोज्थें,
साँझको टुकी बालेको
पहाडफेदीको आफ्नो घर
यतिबेला, सागरपारि साकुरादेशमा 
आफ्नो परिवार खोज्दैछु  

जीबन दोलक बनेको छ,
समयको ढोलकलाई अन्यौलले पिटेपछि !

निरुपाय
जुनमै बिसाएर आफ्ना तमाम बोझहरु  
जब म झपक्क निदाउंछु
सपनामा फेरि उभिन्छ यसपाली   
एउटा झल्झलाकार ओदाने जुन   
जसको प्रार्थनामा
म बेहिसाब गाउँछु,
सबेरसम्म गाइरहेकै पाउँछु आफुलाई !

Saturday, February 15, 2014

नाङ्गोपनको पक्षमा

नांगिनुलाई तिमी अनैतिक नभन
बरु नांगिएरै नैतिक बनेका छन्
कैयौं अनैतिकहरु
हेर,
नांगाहरु कति नजिक छन् एकआपसमा,
कति आत्मीय छन्,
केही नभएरै पनि साथमा
बाँडिरहेका छन् निस्फिक्री प्रेमको माधुर्य   
सृष्टीको अमर, अमुल्य उपहार  
त्यसैले
मुटु चोपेर बनाउँछन् नांगा तस्वीर, कलाकारहरुले
आगो र नौनी एकैसाथ मुछ्न सक्छन तिनीहरु,  
कविहरु खाली छटपटाउंछन् मात्रै,
शब्दहरु खश्रिएर अड्किन्छन - तिनका घांटीमा !

हरे बेहोशी,  
जब प्वाँख लगाएर भुरुरु उड्छ नांगो पुतली  
जब घुम्टो फ्याँकेर फक्रिन्छ नांगो गुलाफ
जब डोल-परेली खुल्छन नायिकाका  
या नांगो ओंठ फुस्फुसाउंछ,      
हजार केसिकाहरु एकैसाथ खिचिंछन् -
दर्शक अन्तस्करणमा,
र कौतुहलका हजार घिर्निहरु एकैसाथ चल्छन - घुरुरुरु
समय सुक्ष्म निद्राको ओडार छिरी निस्कंदा      
देख्छ,
निमेष ननिभेका नयनभित्ते दियोहरु  
अविराम अनुभूत भैरहेको तिनको न्यानोपन     
पिंग-मन मच्चिएर उरालिइरहेको        
र बेजोड सिर्जनाहरु लहलहाइरहेका स्वप्न-बगानमा !
तिनलाई समेल्ने मोह-बाजीमा       
कोही मिहिन सर्का गाँसेर अमर बन्छन्
(कोही भद्दा धर्का टाँसेर हराउंछन् )
चोक चोकमा
थप नांगा आकृति उभिन्छन्
(भीड जम्छ संग्रहालयमा ! )
र युगले सभ्यताको अर्को पुंजी थप्छ
त्यसैले,
नांगिनुसंग नडराऊ
नांगिनेसंग नकराऊ  
ए नांगिनेहरु हो,
निस्फिक्री, आफुखुशी नांगिऊ
यसरी कि,   
संसार आनन्दित बनोस् ,
भुलोस् उसले आफ्ना निरस तानाबाना
र एकैछिन किन नहोस्
निसंकोच तारिफ गर्दै हेरिरहोस्
रातो फुललाई झैं !  

Tuesday, February 4, 2014

सगुनको बेला

एअरपोर्टको लोडरले भन्यो-
यो साल झन् धेरै भित्रिए,                                 
काठका बाकसहरु काठमाडौँमा |

फूल थाप्दै गरेका    
यस्तै बाकसहरु टुलुटुलु हेर्दै
हातैको पासपोर्ट अझ दह्रोसित थामेर   
ऊ विदेशिएको थियो -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

आफन्तहरु भन्दैथिए –
बाबु, उता नहेर,
यो सगुनको बेला हो |

--------------------------------

जहाज उडिरहेकै बेला
अनिद्रामै उसले देखेथ्यो     
कहालीलाग्दो
भीर-भीरै दौडिरहेको सपना !
अघि कहिल्यै नदेखेको
त्यो सपनालाई
उसले साँच्चिकै आफ्नो भन्ठानेन |

बिचबाटोमा संगीहरु झैं    
अनिच्छापूर्बक उसले पुछेथ्यो  
आफ्नो निधारको रातो अक्षता |

दिर्घायुको आशिर्बाद  
त्यहि चम्किलो अक्षता झैं
गाउँभरका सबैलाई थाहा थियो
उसको परदेश बसाइं-अबधि |

सगुनको बेला
लटरम्म सपनाहरु मात्रै आफ्ना थिए | 


Tuesday, January 7, 2014

धनगढी, अझै चिस्सिऊ, अझै चिस्सिऊ

घामलाई हावा खुस्केको भकुण्डोलाई झैं निचोरेर

रद्दीको टोकरीमा कतै फालिदेऊ

हावालाई रेफ्रिजेरेटरबाट निकालेर

ढुंग्रीले फुक्दै उडाऊ

पानीमा जमीनको तातो बाँकी छ भने

त्यहि हावाले सेकाऊ, (या भ्याकुम लगाएर तान !)

त्यतिले मात्रै कहाँ पुग्छ ?

रातिदेखि नै  

सेतो, बाक्लो भिजेको सिरक खोजेर

टपक्क दायाँ बायाँ मिलाएर ओढ्न नबिर्सिऊ

धनगढी अझै चिस्सिऊ, अझै चिस्सिऊ

  
यहाँ सडक छेउमै फोहोर बालेर

आनन्दले आगो ताप्नेहरु छन् ,

यहाँ निद्रै लाग्नेगरी हिटर रन्काएर

बिदेशी पैसाका गाडी हाँक्नेहरु छन् ,

बजारमा अभाव भएपनि

लुकीछिपी ग्याँस खूब बिकेको छ,  

मुसाले अन्न ओसारे झैं

पटक पटक

जंगलबाट काठ दाउरा बाहिरिएको छ,

रिक्सावाला र ट्रक ड्राइभर 

संगसंगै भट्टी छिरेका छन् ,

जोरी खोज्दै महिनादिन अघिसम्म 

अलग अलग सुत्ने दम्पति 

जाडोकै निहुँमा फेरि मिलेका छन्  

चिया पसलमा पनि भीड छ, 

होश गर है, धनगढी, होश गर,

सडकमा बुंङ्ग धुलो उड्ने हुनाले

तिम्रो नजरले धोखा खाएको हुनसक्छ !



फागुन देखि नै जोरी खोज्दै आउने  

बाँकी बर्षभरीको भुन्ग्रे-तातोलाई माथ गर्न 

आफ्नो पौरख देखाउने यत्ति हिउँद हो

थोरै पनि कसैलाई सहुलियत गरेर

नाथे ज्याकेट, स्वीटर र पछ्यौरीका 

दासहरुसंग नजिस्किऊ 

दम, बाथ र रुघाखोकीको बहानामा  

आफैँ बिमार परेको सेती अंचल अस्पताल   

दिनभर रुंग्नेहरुसंग नमिस्सिऊ 

तिनलाई 

देउता चढेको मस्टा झाँक्री झैं काम्ने गरी 

शिरपाउ, सबैठाउँ डाम्ने गरी

धनगढी अझै चिस्सिऊ, अझै चिस्सिऊ

Monday, January 6, 2014

तीन थुंगा

         -१-

यहि बुझिनसक्नु छ, अंगराज   
तिम्रो हातमा परेपछि
किन हरेक चिज
तातो आलु बन्छ,
र त्यो थेचारिन्छ कसैको टाउको माथि ?

         -२- 

शहर सानो छ,
हामी जहाँतहीं ठोकिन्छौँ |
कहिले नबोली आफ्नो बाटो लाग्छौं
कहिले बोल्नलाई एकछिन रोकिन्छौँ | 

        -३- 

नांग्लो निफंदाका  
बयाँ-धान जस्तै
चारैतिरका कविहरु   
एकै ठाउँ समेलिएका छन्, 
स्वतन्त्रताको बीट समात्दै ! 

javascript:void(0)