Tuesday, February 4, 2014

सगुनको बेला

एअरपोर्टको लोडरले भन्यो-
यो साल झन् धेरै भित्रिए,                                 
काठका बाकसहरु काठमाडौँमा |

फूल थाप्दै गरेका    
यस्तै बाकसहरु टुलुटुलु हेर्दै
हातैको पासपोर्ट अझ दह्रोसित थामेर   
ऊ विदेशिएको थियो -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

आफन्तहरु भन्दैथिए –
बाबु, उता नहेर,
यो सगुनको बेला हो |

--------------------------------

जहाज उडिरहेकै बेला
अनिद्रामै उसले देखेथ्यो     
कहालीलाग्दो
भीर-भीरै दौडिरहेको सपना !
अघि कहिल्यै नदेखेको
त्यो सपनालाई
उसले साँच्चिकै आफ्नो भन्ठानेन |

बिचबाटोमा संगीहरु झैं    
अनिच्छापूर्बक उसले पुछेथ्यो  
आफ्नो निधारको रातो अक्षता |

दिर्घायुको आशिर्बाद  
त्यहि चम्किलो अक्षता झैं
गाउँभरका सबैलाई थाहा थियो
उसको परदेश बसाइं-अबधि |

सगुनको बेला
लटरम्म सपनाहरु मात्रै आफ्ना थिए | 


1 comment:

  1. सुन्दर कविता !
    " सगुनको बेला
    लटरम्म सपनाहरु मात्रै आफ्ना थिए |"

    ReplyDelete

javascript:void(0)