Wednesday, December 30, 2009

नयाँ सालको जुत्ता

(सर्बप्रथम, यहाँहरु सबैलाई नयाँ बर्ष २०१० को हार्दिक मंगलमय शुभकामना !)

नयाँ सालको संघारमा
एउटा खिन्न मान्छे जस्तै
ठिङ्ग उभिएको छ कोही
असमंजस, दोधारमा
लज्जा आधा अनुहारमा
आशा आधा अनुहारमा

आफ्नो गोडामा लगाएको
फित्ते चप्पललाई देखाउंदै
ऊ भन्छ -
यो साल नयाँ बुटजुत्ता लाउँछु कि ?
दह्रो खुट्टा हिंड्न पाउँछु कि ?
पुरानो जुत्ता एम्बुशमा खस्यो
हिंडिरहेको बाटो हठात् धुवाँमा फँस्यो
नपत्याए हेर,
यी पैताला भरि आगोले पोलेका डामहरू!

यसपालिको बुट जुत्ता
मागेर नपाउने खालको हो भनेका छन्
आफैंले सिलाउने खालको हो भनेका छन्
सिउनेहरु भने
पिउनेको आनन्दमा झैं मस्त देखिन्छन
सियोसंग खेलिरहेका भेटिन्छन
कतै घोचाघोच गरेर
रक्ताम्य पार्ने त होइनन जताततै ?














यिनीहरुले नै हो,
यसपालिको बुट जुत्ता
टलकदार चमकदार हुन्छ भनेका,

टाला टाला मिलाएर
छाला छाला मिलाएर
रंगीबिरंगी बन्छ भनेका,
तलुवा एउटै छालाको चाहिन्छ भन्ने पनि छन्
त्यस्तो कहाँ पाइन्छ भन्ने पनि छन्
उफ! लाउनेका भन्दा बनाउनेका सुर्ता !

नयाँ सालको संघारमा
घाउमा लगाउने टेप जस्तै
पटक पटक उप्काउँदै टाँस्दै गरेको
एउटै मात्र तिथि-मिति भएको
अरु कुनै चाडबाड नलेखिएको

एउटा अनौठो क्यालेन्डर च्यापेर
कोही भनिरहेछ -
यो साल पनि
जुत्ता बनेन भने
असह्य हुनेछ मेरो पीडा...
बलजफ्ती घिसार्दै
कत्ति पो तन्काउन मिल्ला
यो काइते चप्पलको फित्ता ?

मलाई सोध्छौ भने ऊ को हो,
शायद त्यो मेरो देश हो

Saturday, December 12, 2009

छाता भुल्ने मान्छे

यो सधैंजसो पानी पर्ने शहर र
म सधैंजसो छाता भुल्ने मान्छे
समझदारीमै बसेका छौं

उज्यालो हुनासाथ
काममा हिंड्न बेचैन म
कपालले बिर्सेको तालु सुकाउँदै
घाममा हिंड्न बेचैन म
हिंजोकै झोला जुरुक्क उठाएर हिंड्छु
झोलाभित्र के छ, सधैं गुट्मुट्याएर हिंड्छु
खोलेर हेर्नलाई सधैं हतार हतार
कहिलेकाहीं सुनिहाले पनि
एफएममा मौसमको समाचार
झ्यालबाट बाहिर हेर्दा
उतिसारो लाग्दैन पत्यार

सधैं झैं
खाजा खान निस्कंदा एक बजेतिर
यो धोकेबाज आकाशमा
कालो-कालो बादल सरेको देख्छु
पातला दुई-चार सर्का
सिम सिम झरेको देख्छु
बिश्वास हुँदैन यार
आफ्नै आँखैअघिको दृश्य!
बिहानको भाग्यमानी शिर
फेरि एकपल्ट छाम्छु
र मनमनै भन्छु-
ला! सत्यानाश भयो !
आज पनि छाता घरमै रह्यो!
अब फेरि माग्नुपर्ने भयो अफिसमा गुहार
छाताभंदा पनि, इन्द्रध्वज,
हाकिमसाहेबको अनुहार !

यत्रो अफिस हाँक्ने मान्छे हाकिमसाहेब,
कुरा पलकमै जाँच्नुहुन्छ
म भित्र पस्नासाथ मुसुक्क हाँस्नुहुन्छ
र भन्नुहुन्छ -
अफिसको छाता इन्द्रध्वज,
तिम्रै व्यक्तिगत खाता भएको छ !
सोच्छु- धन्य!, पानीले पगाल्दैन छाता
भोलिपल्ट दुरुस्तै फिर्ता आउँछ
पेश्कीको पैसा झैं सकिईहाल्ने भए साहेब,
इन्द्रध्वजले सापट फेरि पाउँछ ?

यसरी नै,
सधैंजसो गुहार लगाइरहने म
र सधैंजसो बचन लगाइरहने हाकिमसाहेब
समझदारीमै बसेका छौं

छाता माग्नको लाजले कहिलेकाहीं
रुझ्दै घर हिंडेको पनि छु
छाता माग्दाको भोलिपल्ट,
सफा दिनमा,
दुई-दुईटा छाता भिरेको पनि छु
घरको छाता अफिसमै छुटेर
छिमेकीको पैंचो तिरेको पनि छु
कहिलेकाहीं,
आफ्नै जहान र छर-छिमेकीसमेत
कतै कसैबाट सहारा नमिल्दा,
जाबो छाता पनि नदिने भनेर झोक नचलेको होइन
जाबो छाता दिएनन् भनेर झोक चलाइहाल्न पनि भएन

यसरी, छाताको रडाको गरिरहने म
र त्यो कत्ति नरुचाउने मेरै आफन्तहरु
समझदारीमै बसेका छौं
----------------------------------
(जागिरे जीवनकाल त यसैगरी गयो
अब बाँकी भन्नु एकै साल रह्यो,
त्यसपछि पनि छाता चाहिएला कि ?
यसैगरी माग्दा पाईएला कि?)

Wednesday, December 2, 2009

जवाफ

(पोखरेली युवा साँस्कृतिक परिवार, पोखराले केही बर्ष पहिले भ्रष्टाचारको बिरोधमा कविता लेख्ने यौटा बिशेष कार्यक्रम चलाएको थियो आफू त्यसमा उपस्थित नभएपनि त्यसको भावनासँग मेल खाने गरी हालसालै लेखिएका दुई टुक्राहरू प्रस्तुत गरेको छु)


घर छोड्न पाउँदिन

भो साथी
तिम्रो बिहेमा म आउँदिन
घर छोड्न पाउँदिन


सुन्छु, निकै पैसा कमाएका छौ
अनेकौं नयाँ साथी पाएका छौ
जन्तीमा पुरानाको गन्ती होला र ?
आफैं पनि बेहद नयाँ भएका छौ !

भो साथी
तिम्रो बिहेमा म आउँदिन
अफिसमा छुट्टी पाउँदिन

समयले धेरै कोल्टो फेरिसक्यो
सबैजनाको औकात हेरिसक्यो
तिमीले त छिट्टै चुली टेकेका छौ
'आँट' र 'गाँठ'को नाता देखेका छौ

भो साथी
तिम्रो बिहेमा म आउँदिन
आफन्तकै बिहे छ, भ्याउँदिन

अट्किने/खट्किने के नै होला र ?
बाजागाजा, सज-धज, होटल, मोटर
महंगा कपडा, गहना, फर्निचर
बिदेशी रक्सी र विशिष्ट अतिथि
तिम्रा बैभव-यात्राका सहचर

भो साथी
तिम्रो बिहेमा म आउँदिन
तराई बंद छ, बस पाउँदिन

नरिसाऊ है साथी, म आउँदिन
कोट अलि फाटेको छ, भो सिलाउंदिन




कम्प्लेक्स मान्छेहरु

अचेल जहाँतहीं बाक्लै मान्छेहरु बिझाइरहेछन
टोलमा गल्लीमा
गाउँमा बस्तीमा
मान्छेका अनुहारहरुले गिज्याईरहेछन

तिनको शिर
अनेकपल्ट भाँचिएका अस्थि-अडेसाहरुमा
अझैपनि स्थिर अडिएको छैन
तिनका आँखामा
अनौठा स्वप्नहरू
कचेरा झैं लपक्क टाँसिएका छन्

सोझो हिंडेका छैनन् तिनका पैतालाहरु

एकदिन
माछापुच्छ्रेले मलाई सोध्यो -
यो तलाउमा ऐना हेर्न
किन अरु कोही नआएका हँ ?
मसंग जवाफ थिएन

मनमनै सोचें,
हुन त अचेल
चौतारीमा बिसौनीमा
चोकमा बजारमा
जहाँतहीं लस्करै मान्छेहरु भेट्छु
गम्केका, चम्केका र लम्केका पनि देख्छु
मसंग खासै बोल्न नचाहेपनि
दास झैं
कसैको वरपर घुमिरहेको देख्छु
हजूर हजूर भनिरहेको देख्छु
के को चक्करमा छन् कुन्नि यिनीहरु?

माछापुच्छ्रेले फेरि सोध्यो
यसरी
पाखा पखेरामा गुराँस फुलेको बेला
यति मीठो बतास चलेको बेला
यो नदीमा नुहाउन
किन कोही नआएका हँ ?

अन्यौलमै मैले जबाफ भेट्टाएँ
भनिदिएँ-
प्यारो हिमाल !
मान्छेहरु अचेल "कम्प्लेक्स" भएका छन्
तिनका दिनचर्या र स्वभाव पनि बदलिएका छन्
एक अन्जुली सङ्ग्लो पानी लिएर
घट घट पिउन त डराउँछन्
अब यत्रो जलाशयमा
डुबुल्की लाउन कहाँ आउँछन् ?
javascript:void(0)