Sunday, January 24, 2016

पांच थुंगाहरु

बाटो / धुलो

हराउने डरले म चिन्तित थिएँ
एक्कासी धुलो उदाउँदै
जब कोही हुँइंकिएर अघि गयो   
मलाई बाटो प्रष्ट भयो |

भाषा अन्यौल 
रेडियोमा प्रहरी समाचार बज्छ
कान थाप्दै सुनिरहेका
रिमालदाइ झोक्किन्छन -
घटना घटे भन्छ पुलिस !
चोरीका, लुटपाटका, हत्याका, अपहरणका
ख्वै कहाँ घटेका छन्, घटना ?
म त झन् बढेको देख्छु
अर्थ बुझाउन खोज्दा
उनी झन् चिच्याउँछन् -
बढेकालाई घटेको भन्ने 
यो कस्तो भाषा हो प्रहरीको ?

प्वाँख
तिमीले मेरो घरकालाई भेट्यौ
र सहृदय कुरा गर्यौ
हाँस्यौ, हँसायौ
र सबैलाई अन्जुलीमा फूल झैं उठायौ 
पछि - खूब तारिफ भयो तिम्रो यहाँ
यसरी जो खुल्यो बिश्वासको ढोका
र फैलियो त्यहींबाट प्रेमको संसार
साथी, अब तिमी मेरो प्वाँख भयौ |


प्रश्न / मृत्यु
अक्सर प्रश्नहरु अनुत्तरित नै रहन्छन
ती प्राय अकाल मर्छन पनि
हामी प्रश्नका उत्तरहरु होइनौं
प्रश्नहरु माथि प्रश्न उफार्दै
हामी जन्मन्छौं
र केही मामुली प्रश्नहरुमै रुमल्लिएर
हामी मर्छौं
हामीसंगै पनि मर्छन् 
हाम्रा कैयौं अनुत्तरित प्रश्नहरु !

निर्बिकल्प उठान
हल्लिरहने खाटमाथि
एउटा बिछ्यौना लगाइदियो कसैले हामीलाई
र भन्यो – सुत, नचली सुत,
तिमीहरु सुत्दा बल्ल मलाई आनन्द हुन्छ
हामी सिरक तानातानमै व्यस्त थियौं   
उसले खाटमुनि हात राखेकै थियो  
के के गर्नलाई हो कुन्नि !   
जब एकाएक
सुतिरहेको बिछ्यौना नै उल्टिएर आयो,
हामीसंग उठ्नुको अर्को बिकल्पै थिएन |  
javascript:void(0)