Wednesday, December 26, 2012

आग्रह

पार्टी, सरकार,

नेता, संबिधान,

(अ)सहमति, बेथिति ..................

भो छाड यी कुरा

कुन जुगदेखि हामी सधैं दुखैका गीतहरु गाइरहेछौं

दुखको नांग्लोमा वर्काइ फर्काइ दुखैको बिस्कुन फिंजाइरहेछौँ

गुमेका अवसर सम्झेर पछुताईरहेछौं

र बाँकी अबसर समेत गुमाईरहेछौं

यसरी भावुक हुँदै जाने हो भने

हामीलाई आत्महत्या नै गर्न पुग्ने

दुखका फास्टाहरु छन्

गुमेका अबसरका पहाड

र टाठाबाठाहरुका

बेइमानीका पराकाष्टाहरु छन्

किन बन्यो

हाम्रो जीवन नै

गुमेका अवसरहरुको फेरहिस्त झैं ?

र किन निस्के यो देशमा

एक से एक

ब्याकुल, बैरागी र व्यथितहरु ?



भो छाड यस्ता कुरा

अब हामीले बनाउन सक्ने कुरा

हामीले गुमाउन नहुने बर्तमान

र पछुताउन नहुने भविष्य हो

संसार अहिले बजार भएको छ

हजार चिजहरु बेच्न सकिन्छ यहाँ

हामी पनि केही बेच्न तयार होऊँ,

ए हुस्सु बेरोजगारहरु

सडकमा टायर जलाउँदै हिंड्ने चुरीफुरी त्यहाँ बिक्तैन

ए बुद्धु कर्णधारहरु

पाठशालामा ताला लगाउँदै हिंड्ने बहादुरी त्यहाँ बिक्तैन

बिक्दैनन् कहीं एक पैसामा पनि

यी मनगढन्ते क्रान्तिका लफ्फाजी,

यी मनमौजी चन्दाबाजी,

यी भित्तेलेखन र कर्कश अधिबेशन !

यार कुन जुगदेखि हामी यस्तै लफंगा रिवाजहरुमा रमाईरहेछौं

आफ्नै भविष्यका लुटेराहरुलाई अबिर खादा चढाईरहेछौं



हामीले पनि जाग्ने बेला भयो अब

जान्ने बेला भयो

रंगहीन झन्डाहरुका पछि नदौडेर

आफ्नो पाखुरीलाई मान्ने बेला भयो

उठौं

भ्रमका पर्दा तोडेर उठौं

श्रमलाई उँचा सोचेर उठौं

जब संसार बजार भएको छ

हामी पनि यसका अंशियार बनौं

र बेचौं हाम्रा उपहारहरु

हाम्रो आँट, हाम्रो हौसला,

हाम्रो सीप, हाम्रो जाँगर

हाम्रो सौहार्दता, हाम्रो मुस्कान

र हाम्रो आतिथ्यले बुनेका

राम्रा राम्रा उपहारहरु !



भो नहाल थकित सुस्केरा,

कुन जुगदेखि हामी सधैं दुखैका गीतहरु गाइरहेछौं !

दुखलाई आफ्नै सहेली सम्झेर दुखैका पंधेरी धाइरहेछौं,

दुखैको सिरानीमा आड लगाएर निरन्तर परेली भिजाईरहेछौं |


javascript:void(0)