Wednesday, January 9, 2013

प्रकृति र मेरा कविता

छानामा बज्रिदै दर्किएको
झरीको स्वर सुनेपछि
मेरा कविता पनि
दरंग दरंग बजे
पानी झैं सललल बगे
अहिले ती बलेंसिमा
तप्प तप्प
खस्तै छन

 
ए हावा, रिस नगर
फेरि कुनै दिन
मेरा कविता
स्यार्र स्यार्र उड्लान
तापले, सन्तापले रापिएका
दिनहरुमा
सान्त्वना बोकी ल्याउलान्
पुस- माघ ताका
हिउँ झैँ फुरुरु फुरुरु झरेका
मेरा कवितालाई
तिमीले नै हुर्र हुर्र उडाउने छौ
रुख रुखमा अल्झाउने छौ
यसरी अचाक्ली थुप्रिएका
मेरा सेताम्मे कविता
राति कुन बेलादेखि नै
टक्रक टक्रक खसेको पनि सुनिनेछ
बिहानसम्मै सुतिराख्ने
अल्छी कविताहरुको ढाडमा भने
कत्रक कत्रक
यात्रुहरु हिंडेको पनि सुनिएला

 
कहिलेकाहीं मेरा कविता
आफ्नो स्वभाव बिपरित
असिना झैं बरर बरर बर्सिन्छन्
जोर परेरै होला -
अरुलाई दागेर
आफू पनि
छिया छिया भैजान्छन्

 
छ्यांग हिमाल खुलेर
घाम लागेका बेला भने
मेरा शब्दहरु हौसिएर,
बुरुक बुरुक उफ्रेर
हरफैपिच्छे
उज्याला तरंगहरु उछाल्न खोज्छन
सम्हालिँदै मनमनै भन्छु-
समय पनि त्यस्तै आशलाग्दो भए पो !

 
रातको अँधेरीमा
निभेको लालटिन झैं
मेरा कविता पनि
हराउलान् कि भन्ने डर थियो
जुन झैं चम्किबसेका रहेछन !
javascript:void(0)