Tuesday, November 27, 2012

हराउनुको पीडा


तिलोत्तमा,

म बेपत्ता हराइरहेको छु

संसार मलाई खोजिरहेछ

म कसैलाई खोजिरहेछु

सागर किनाराको बालुवा झैं

सरक सरक

पाउमुनिको धर्ती खस्किँदो छ

म जोरजोरले कराइरहेको छु

मेरो आवाज

कसैले नसुनेको भान भएपछि

म भित्रैदेखि डराइरहेको छु



यो सपना हो कि बिपना


यो भ्रम हो कि यथार्थ

आफु उभिईरहेकै ठाउँ हेरेर

म सोध्दै छु,

म कहाँ उभिइरहेको छु ?

आफु उभिईरहेकै तरिका हेरेर

म सोध्दै छु

म कसरी उभिइरहेको छु ?

म साँच्चै उभीईरहेकै त छु ?

मलाई पागल नठान तिमी

आफ्ना अदना प्रश्नको समेत

गतिलो जवाफ नभेटेर

म पल पल आत्तिइरहेको छु

यो अन्तहीन धरापबाट

उम्किने बाटो नदेखेर

म समयसंग च्याँठठिरहेको छु



म यसरी किन हराएँ ?

मलाई हिसाब चाहिएको छ
कसका कारणले म हराएँ ?
मलाई निसाफ चाहिएको छ



कतै पत्रिकामा देख्यौ कि मेरो फोटो,
तिलोत्तमा ?

कतै रेडियोमा सुन्यौ मेरो सूचना ?

बिन्ति,

कतैबाट एक हस्को गन्ध आयो भने मेरो

कतैबाट एक फुस्को सुस्केरा सुनियो भने मेरो

मलाई त्यहीं रोक्नु, त्यहीं खोज्नु

धुंईपत्ताल खोज्नु मलाई

चिच्याएर बोलाउनु -“ गौतम !” भनेर

नदेखे झैं नगर्नु

तिमीलाई पत्यार नलागेको होला, तिलोत्तमा,

म बेपत्ता हराइरहेको छु

संसार मलाई खोजिरहेछ

म आफैंसमेत आफुलाई खोजिरहेछु


javascript:void(0)