तिलोत्तमा,
म बेपत्ता हराइरहेको छु
संसार मलाई खोजिरहेछ
म कसैलाई खोजिरहेछु
सागर किनाराको बालुवा झैं
सरक सरक
पाउमुनिको धर्ती खस्किँदो छ
म जोरजोरले कराइरहेको छु
मेरो आवाज
कसैले नसुनेको भान भएपछि
म भित्रैदेखि डराइरहेको छु
यो सपना हो कि बिपना
यो भ्रम हो कि यथार्थ
आफु उभिईरहेकै ठाउँ हेरेर
म सोध्दै छु,
म कहाँ उभिइरहेको छु ?
आफु उभिईरहेकै तरिका हेरेर
म सोध्दै छु
म कसरी उभिइरहेको छु ?
म साँच्चै उभीईरहेकै त छु ?
मलाई पागल नठान तिमी
आफ्ना अदना प्रश्नको समेत
गतिलो जवाफ नभेटेर
म पल पल आत्तिइरहेको छु
यो अन्तहीन धरापबाट
उम्किने बाटो नदेखेर
म समयसंग च्याँठठिरहेको छु
म यसरी किन हराएँ ?
मलाई हिसाब चाहिएको छ
कसका कारणले म हराएँ ?
मलाई निसाफ चाहिएको छ
कतै पत्रिकामा देख्यौ कि मेरो फोटो, तिलोत्तमा ?
कतै रेडियोमा सुन्यौ मेरो सूचना ?
बिन्ति,
कतैबाट एक हस्को गन्ध आयो भने मेरो
कतैबाट एक फुस्को सुस्केरा सुनियो भने मेरो
मलाई त्यहीं रोक्नु, त्यहीं खोज्नु
धुंईपत्ताल खोज्नु मलाई
चिच्याएर बोलाउनु -“ गौतम !” भनेर
नदेखे झैं नगर्नु
तिमीलाई पत्यार नलागेको होला, तिलोत्तमा,
म बेपत्ता हराइरहेको छु
संसार मलाई खोजिरहेछ
म आफैंसमेत आफुलाई खोजिरहेछु
निकै राम्रा र निखारिएका कविता लेख्नमा माहिर लाग्ने एक ब्लगर मध्ये -Chaitanya जी तपाइँ मेरो रोजाइमा पर्नु हुन्छ ! यसरी पोस्ट गर्दा कविता लाइ सुहाउदो कुनै तस्विर पनि राख्नु भए अझ राम्रो हुने थियो !
ReplyDeleteम बेपत्ता हराइरहेको छु
ReplyDeleteसंसार मलाई खोजिरहेछ
म आफैंसमेत आफुलाई खोजिरहेछु
हराउनुको पीडामा मैले भने भरपूर मस्ती भेटेँ :)
हराउनुको पीडालाइ आफै सँग तुलना गरेर हेरेँ । सदाझैं सुन्दर कविता ।
ReplyDelete