Thursday, February 18, 2010

हिउँ छरेको दिन

आज हिउँ छर्ने दिन रहेछ
कामको छट्पटीले
रातभरि निद्रा नपरेर होला,
सबै सुतेको मौका छोपेर
अंधेरैमा उठेर
खोइ कसले हो कुन्नि,
यत्रो हिउँ छरिभ्याएछ

उठ्ताखेरि
अलि बढ्तै उज्यालोले पोल्यो आँखामा
अलि बढ्तै सुनसान घुल्यो बिहानीको भाकामा
ओहो, लौ हेर,
लतमन्न हिउँ सुतेको खेतबारी
(धानका निहिन भन्दा बढ्ता!)
मानौं, यसैको कुनिउं लाउने हो यसपाली,
मानौं, यसैको बाली भित्र्याउने हो यसपाली,

झ्याल खोलेर हेर्न खोज्दा
अलि गाह्रो गाह्रो पर्यो,
साह्रो साह्रो पर्यो,
र कतर - कतर बज्यो पनि
ए, लौ हेर..
कस्तो ढंग नपुर्याई छरेको होला यो हिउँ?
यहाँ झ्यालका कापसम्म आइपुग्ने गरी,
यो हिउँ छर्नेलाई
घरका झ्याल हुन्छन भन्ने पनि थाहा छैन कि कसो ?
घरका ढोका हुन्छन भन्ने पनि ज्ञान छैन कि कसो?
आँगनमा पनि छरेको छ,
छानामा पनि छरेको छ
कसको जग्गा, के लाउने हो
केही पर्वाह छैन उसलाई,
खेल्ने चौर र हिंड्ने बाटो त कुरै छोडौं
कहिं ठाउँ नै नपाए झैं गरी,
फुक्ला रुखमा पनि सेतै भरेको छ

हे भगवान !
न जमीन जोतेको छ,
न भुईं खोपेको छ,
झार फाल्ने र ब्याड हाल्ने त
नामोनिशान छैन
एकछत्र सबैतिर छोपेको छ!
यसरी, बिनसित्ती,
किन छरेको होला यत्रो हिउँ ?

मुठ्ठी फुस्किएर अलि धेरै बिउ
एकै ठाउँमा पर्दा त बाली बिग्रन्छ,
यसरी अँगालो अंगालो हिउँ
एकै ठाउँमा छर्दा के सप्रिएला ?
............................................

कतै त्यो हिउँ छर्नेवाला
आफ्नै हिउँको धरापमा फँसेर
घर फर्कने बाटो समेत नचिनेर
रणभूल्ल पर्दै
यतैतिर
पंधेरीको ढुंगे पर्खालमा
या पार्कको बेन्चमा
घसमस्स सुतिरहेको त छैन,
हिउँकै बर्को ओडेर ?

गाउँलेले भेटे भने
पाटी नै पाटीले बजाउने छन् उसलाई
आँगन र मोठ मात्रै होइन,
जुठेल्नो र गोठ पनि
सोहोर्न लगाउने छन् उसलाई!

Friday, February 5, 2010

जिन्दगी/अनुभूति

अनुभूति-१

घामले यति पोल्यो कि
पोल्दा पोल्दा
अब घाम न्याना लाग्न थाले
घाम बिनाका ठाम बेकाम लाग्न थाले

झरीले यति डाम्यो कि
डाम्दा डाम्दा
अब झरी रिमझिम लाग्न थाल्यो
बुँद बुँदको स्पर्शमा हर्ष बग्न थाल्यो

हूरीले यति हल्लायो कि
हल्लिंदा हल्लिंदा
अब हूरी मन्द लाग्न थाल्यो
सिरसिर मीठो छन्द लाग्न थाल्यो

जिन्दगीले यति बहकायो कि
बहकिंदा बहकिंदा
बहकाई नै मुलधार लाग्न थाल्यो
मुलधार किनार भै भाग्न थाल्यो
समयले हिसाब माग्न थाल्यो|

अनुभूति-२

बिहानैदेखि
सागर किनारमा
मानिसहरुको ओहोर-दोहोर चलिरहेछ
कोही खेलिरहेका, कोही पौडिरहेका
लच्किंदै बालुवामा दौडिरहेका,


घाम चर्किन्छ
तिनका छायाँहरु पनि
गाढा बन्छन

तिनीहरु पनि खेल्छन
नयाँ श्वास पाए झैँ

रमाउंदै,

त्यही सागरमाथि
सूर्यलाई हल्कासँग तान्दै गर्छ कसैले
पश्चिमतिर
माझीले नाउ ताने झैं,

एकछिनपछि

यो किनारामा
अग्ला, होचा, दुब्ला, मोटा
सयौं मानिसहरु
लहरै एकसमान उभिएर
सूर्य अस्ताएको हेर्छन
तिनका छायाँहरु पनि
क्रमश: पातलिंदै हराउंछन्
र मानिसहरु स्वयं
आ-आफ्ना छायाँजस्तै बनेर
अन्धकारमा बिलिन हुन्छन

भोलि फेरि बिहान हुनेछ
र सम्भबत:
हूलका हूल नयाँ मानिसहरु आउनेछन् यहाँ,
यसैगरी
किनारामा खेल्न र
सूर्य अस्ताएको हेर्नलाई,
त्यो देख्ने मानिस पनि
शायद अर्कै हुनेछ !




javascript:void(0)