Saturday, December 31, 2011

हिउँप्रतिको अनास्था












खासैमा हिउँ

टाढाको एउटा मोह रहेछ

तृष्णाको फोस्रो आरोह रहेछ

पहाडहरु माथि चुलिएर

रंगबिरंगले सजिएर

दिनमा चारपटक रुप फेरेपनि

हिउंसंग

खासै सौहार्द्रता केही रहेनछ

खासै आत्मियता केहि रहेनछ


मुक्तिनाथ यात्रामा निस्केका हामीहरु

हिउँ हेर्न भनेर दंग थियौं

हिउँमा हिंड्ने भनेर फुरुंग थियौं

पहाड माथिबाट जहाज उड्दै गर्दा

एक चोक्टा हिउँ कतै देखेपनि

ऊ हिउँ भनेर कराउँथ्यौं

हिउँको बिशाल फाकट कल्पेर

रहस्यको नगरीमा हराउँथ्यौं

अब भने हामी आफैंप्रति हाँसिरहेछौं

हिउँका चालबाजीका कथा गाँसी रहेछौं


बताससंग फुर्र फुर्र उडेर

आँखा आँखामा बिझाउन आउने

ढिस्का ढिस्का खसेर

ठाउँ कुठाउं

बाटो खोल्सो एकसमान जमाउने

यो के गरेको हो हिउँले ?

हिंड्दा हिंड्दै गुमराह भयौं हामी

खच्चड पो बन्यो हाम्रो कोलम्बस त्यसपछि

उसका पाउछाप हाम्रा राजमार्ग !


यार, त्यत्रो दोस्ती बोकेर गइयो हिउँ भनेर

दिनभरी उसकै प्रदेशमा हिंडियो, लखतरान हुँदै

हर्हरी खरो त उठायो नै,

अनुहारभरि पोतोले डामेको रहेछ

भुवै भुवाले

अटेसमटेस जीउ ढाक्दा पनि

रातै हुनेगरी

नाक, कान र औंलामा छामेको रहेछ

दिउँसो अरु हेर्न मन भएन,भएन

राति सपनामा पनि

सुकलाम्य सेतोपनले गिथोल्न आइपुगेपछि

हामी हतार हतार घर फर्क्यौं


ए हजुर ,

आफु त्यस्तो चिसो भएर पनि

आगो झैं भत्भती पोल्न खोज्ने

हिउँको बेइमानीको के कुरा गरौँ

घामसंग आफु हारेको रिसमा

पाइला पाइलामा अरुलाई चिप्ल्याउने

हिउँ त खुनी, बैगुनी पो रहेछ


बहुरुपी भएपनि

हिउँ उसैलाई भनेर मरिमेट्नु पर्ने

बहुगुणी चिज होइन रहेछ

हिउँ, ‘आहा भनेर मक्ख हुँदै

छुनजाने चिज होइन रहेछ !

Saturday, December 17, 2011

केहि थुंगा / केहि गुच्छा

ईन्द्रधनुष

त्यतिन्जेल नटांग

कि माकुराले जाल हालोस्

--------------------------

रुख नढाल 

तार फेरि चुँडिन्छ

बत्ति पर्खीबस्नेको मन कुंडिन्छ

------------------------------------

सुनसान जंगल

हतार-हतार हिंड्दा

आफ्नै प्रतिध्वनि

--------------------------

हल्का हिमपात

घामको हस्तक्षेप

सबथोक धुवाउंछ

--------------------------

तीखा कांस

हरेकको टुप्पामा

शीत उनेको

---------------------------

खेतको ठूलो ढुङ्गो

उप्काएर फालेपछि

गहिरो भ्वांग !

------------------------

युद्धका महानायक

बुद्धका गायक 

पैसाको पायक !

----------------------


नेपालको राजनीति

बाह्रै मास फुल्ने

तर कहिल्यै नफल्ने

ओत/छायाँ पनि राम्रो नदिने

बतास पनि छेक्न नसक्ने

तैपनि

सबैलाई अल्झाईरहने

अजबको रुख

के हो भनि कसैले सोधे भने

भन्दिनु,

त्यो यहि कविताको शिर्षक हो |

------------------


झाल र रुख

लहरे झाललाई हेरेर

रुखको अन्दाज नलाउनु

बर्खामा

झालहरुले छपक्कै छोप्छन रुखलाई

झालका पातलाई नै रुखका भन्ठानौला

झालका डाँठलाई नै रुखका भन्ठानौला

त्यो गल्ती नगर्नु

झाल पन्छाएर हेर्नु

बरु यसो गर्नु ,

हिउंदमा पढ्नु रुखलाई !

----------------


मणिहरु

मणिहरु असाध्यै सफा थिए

निकै उज्यालो चहक थियो तिनमा

हजारौं रंगीबिरंगी स्वप्नहरुको

आभा छल्किन्थ्यो

दुर्भाग्यबश ती घुले

खूब चाख मानेर, पानीमा

बर्षौंसम्म यसरी घुलिरहे कि   

पानीको बदलिँदो स्वादको

हेक्कै भएन तिनलाई

अब संतृप्त भएर

फेरि केही उत्रेका छन् सतहमा

जे पनि घुलेर

पानी सहिनसक्नु फोहोर भएको ज्ञान छ तीसँग

तर घुल्न तयार भै बसेका

अरु नयाँ सफा मणिहरु

त्यो कुरो पटक्कै सुन्न चाहंदैनन |

Friday, December 2, 2011

देश फर्कने कुरा

थुक्क

स्टेट्स र क्यानाडाको मौसमको कुरा छाडेर

लन्डन ओलम्पिकको रमझमको कुरा छाडेर

सिड्नी पेरिस घुम्दाका प्रसंग नजोडेर

किन प्वाक्क सोधें हुँला मैले

जाबो देश फर्कने कुरा ?

गफै निकाल्नलाई

एप्पल र गुगल पनि त थिए नि !

शेयर मार्केटको उतार चढाव

'रिसेसन' र 'बबल' पनि त थिए नि !

------------------------------------------------------------

परदेशमा

हामी संगै एउटा रात्रिभोजमा छौं

भित्तामा देशकै तस्वीर टाँसिएको

तिनकुने झन्डा समेत टांगिएको छ

माहोल पनि किन्चित भिन्न छैन देशको भन्दा

तिमी भन्दैछौ-

हेर्नुस्,

संबिधान अझै बनेको छैन

बन्ने छाँट पनि देखिंदैन

हड्ताल, बन्द र चंदाबाजी उस्तै छ

हत्या, अपहरण गुन्डागर्दी उस्तै छ

यत्रतत्र राजनीति हस्तक्षेप

सर्बत्र घुसपैठ र दाउपेच छ

केहि गर्न खोज्नेलाई पनि

गरिखान दिए पो,

देख्नुभएन

अस्ति एउटा उद्दोग नै बन्द भो ?


म सुनिरहन्छु

अँ, हो पनि भनिरहन्छु

तिमी अझै थप्छौ-

यहाँ यस्तो राम्रो, ब्यबस्थित

सबकुरा सफा, सुन्दर, सुरक्षित

बच्चाबच्ची पनि रमाएकै छन्

महिनावारी भत्ता समेत पाएकै छन्

बिजुली, पानी सबथोक फालाफाल

हेर्नुस् त काठमान्डूमा के हाल ?

किनेर खाने चिजमा कुनै छैन भरोसा

पढिहाल्नुभो होला नि गुद्पाकको तमाशा !


म मुण्टो हल्लाउँछु

तिमी झन् उत्साहित हुँदै भन्छौ-

बरु हजुर,

बिदेशमै बसेर

हामीले देश बचाएका छौं

अर्थतन्त्र गिर्न नदिन

रेमिटान्स पठाएका छौं

चाडबाडमा जमघट गरेर

संस्कृति समेत जोगाएका छौं

देशको माया कसलाई हुँदैन ?

सकेसम्म त राखेकै छौं नि स्वदेशको नाम

अब उतैकाले गरे पो हुन्छ राम्रो काम

हैन र हजुर ?”


बिस्तारै तिमी यसो पनि भन्छौ-

"पाखुरीमा बल छउन्जेल

२/४ पैसा कमाउने बेलामा

यस्तो स्वर्गजस्तो ठाउँबाट

देशै भनेर फर्कने कुन मुर्ख होला र ?”


बिदा हुने बेलामा

लामो अभिवादन गर्दै

मनमनै तिमीलाई भनिरहें -

यत्तिका जानकार,

दिग्गज होनहार,

तहैपिच्छेका छात्रवृत्ति,

मानपदवी, अलंकार

तिमी नै यसो भन्दैछौ

उसोभए

कसले बनाइदिएर

कहिले देश फर्कौला तिमी ?”

--------------------------------------------------------------

देश नफर्कनलाई तिमीसंग अनगिन्ती तर्कहरु छन्

देश फर्कनलाई तिमीसंग अनगिन्ती शर्तहरु छन्

तिनको झारफुक समाधान नदेखेर हो कि

तिम्रा शब्दका अस्थिपंजरमा विदेश पलाइरहेको देख्छु

तिम्रो देशप्रेमको परिभाषाबाट देश राइरहेको देख्छु !


javascript:void(0)