थुइक्क!
स्टेट्स र क्यानाडाको मौसमको कुरा छाडेर
लन्डन ओलम्पिकको रमझमको कुरा छाडेर
सिड्नी र पेरिस घुम्दाका प्रसंग नजोडेर
किन प्वाक्क सोधें हुँला मैले
जाबो देश फर्कने कुरा ?
गफै निकाल्नलाई
एप्पल र गुगल पनि त थिए नि !
शेयर मार्केटको उतार चढाव
'रिसेसन' र 'बबल' पनि त थिए नि !
परदेशमा
हामी संगै एउटा रात्रिभोजमा छौं
भित्तामा देशकै तस्वीर टाँसिएको छ
तिनकुने झन्डा समेत टांगिएको छ
माहोल पनि किन्चित भिन्न छैन देशको भन्दा
तिमी भन्दैछौ-
“हेर्नुस्,
संबिधान अझै बनेको छैन
बन्ने छाँट पनि देखिंदैन
हड्ताल, बन्द र चंदाबाजी उस्तै छ
हत्या, अपहरण र गुन्डागर्दी उस्तै छ
यत्रतत्र राजनीतिक हस्तक्षेप छ
सर्बत्र घुसपैठ र दाउपेच छ
केहि गर्न खोज्नेलाई पनि
गरिखान दिए पो,
देख्नुभएन
अस्ति एउटा उद्दोग नै बन्द भो ?“
म सुनिरहन्छु、
“अँ, हो ” पनि भनिरहन्छु、
तिमी अझै थप्छौ-
“यहाँ यस्तो राम्रो, ब्यबस्थित छ
सबकुरा सफा, सुन्दर, सुरक्षित छ
बच्चाबच्ची पनि रमाएकै छन्
महिनावारी भत्ता समेत पाएकै छन्
बिजुली, पानी सबथोक फालाफाल छ
हेर्नुस् त काठमान्डूमा के हाल छ ?
किनेर खाने चिजमा कुनै छैन भरोसा
पढिहाल्नुभो होला नि गुद्पाकको तमाशा ! “
म मुण्टो हल्लाउँछु
तिमी झन् उत्साहित हुँदै भन्छौ-
“बरु हजुर,
बिदेशमै बसेर
हामीले देश बचाएका छौं
अर्थतन्त्र गिर्न नदिन
रेमिटान्स पठाएका छौं
चाडबाडमा जमघट गरेर
संस्कृति समेत जोगाएका छौं
देशको माया कसलाई हुँदैन र ?
सकेसम्म त राखेकै छौं नि स्वदेशको नाम
अब उतैकाले गरे पो हुन्छ राम्रो काम !
हैन र हजुर ?”
बिस्तारै तिमी यसो पनि भन्छौ-
"पाखुरीमा बल छउन्जेल
२/४ पैसा कमाउने बेलामा
यस्तो स्वर्गजस्तो ठाउँबाट
देशै भनेर फर्कने कुन मुर्ख होला र ?”
बिदा हुने बेलामा
लामो अभिवादन गर्दै
मनमनै तिमीलाई भनिरहें -
“यत्तिका जानकार,
दिग्गज होनहार,
तहैपिच्छेका छात्रवृत्ति,
मानपदवी, अलंकार
तिमी नै यसो भन्दैछौ
उसोभए
कसले बनाइदिएर
कहिले देश फर्कौला तिमी ?”
देश नफर्कनलाई तिमीसंग अनगिन्ती तर्कहरु छन्
देश फर्कनलाई तिमीसंग अनगिन्ती शर्तहरु छन्
तिनको झारफुक समाधान नदेखेर हो कि
तिम्रा शब्दका अस्थिपंजरमा विदेश पलाइरहेको देख्छु म
तिम्रो देशप्रेमको परिभाषाबाट देश डराइरहेको देख्छु म !
गतिलो हिर्काउनु भयो कविताले तर देखाईेको पाटोबाट गजब कविता!
ReplyDeleteमेरो यसमा बिमति छ मेरो हेरे मा मेरो अनुभव मा जिन्दगी लाइ बच्ने तरिका आदर्श र काल्पनिकता भन्दा पनि पर बास्तबिकता पनि छ . बास्तबिकता मा बचेर हेर्यो भने मान्छे ले अहिले मान्छेलाई मुल्यान्कल गर्ने आखाले हेर्यो भने यहाँ हरेक आखा भौतिकबाद मा अल्झिएको छ यहाँ मान्छे को मुल्यांकन पैसा ले हुदो रैछ जब मान्छे गाडी मा हिन्दैना अनि बंगल हुदैन विद्वान मान्छे पनि यहाँ मुर्ख बन्छ बिचरा हुन्छ .अनि नाइँ सबै जना पैसा कमौना मा लागेका होलान ...........पैसा को पछाडी नै भागेको होलान यो दौड मा आदर्सः अनि आत्मसम्मान पनि बिचार हुन्छ सायद संसार को यो दौड मा सामेल हुनुनै अहिले सबै नि नियति बने को हुन्छ अनि बद्यता पनि .......
ReplyDeleteनिकै चोटिलो कविता! देश फर्कने-नफर्कने कुरा भिन्न होला, तर हाम्रा निरपेक्ष 'आग्रह' देखेर भने कहिलेकाहिँ उदेकै लाग्छ।
ReplyDeleteबेस्करी ठोक्नु भो गाठेँ। “बरु हजुर,
ReplyDeleteबिदेशमै बसेर
हामीले देश बचाएका छौं
अर्थतन्त्र गिर्न नदिन
रेमिटान्स पठाएका छौं
..................।।
हैन त साचोँ कुरा। बिदेशिनेलाई नेपाली भन्न समेत डराउने स्बदेशी लाहुरेहरुले सोच्नु पर्ने हो देश चलेकै कस्ले भनेर। मन पराए मैले यो सबै।