Tuesday, April 8, 2014

मौसम-आग्रह

घामका मधुर किरणसंगै 
बाहिर झलमल्ल हिमाल खुलेको छ
को बसिरहला घरभित्रै यतिबेला ?
निस्क, यो उत्सब हो
जो संसारभरकै दुर्लभ हो
झ्याल झ्यालमै हिमाल उभिदिएपछि 
व्यस्तैलाई समेत एकछिन फुर्सद हो

अरे ! चिन्ता छोड, 
कसैका कुरा नकाट आज ! 

यो सफा दिन, यो ताजा हावा 
यो छिन छिनमा रंग फेर्ने हिमाल
त्यो तालमाथिको लच्किँदो बादल
यी पहाड, बेंसीका घर 
यो झपक्क बोगेंभिलाले ढाकेको शहर  
निस्क, खुला मन भिरेर निस्क

दुश्मन भेटे पनि बोल आज
उसलाई समेत बोल्न मन छ तिमीसंग !

यो बरदानजस्तै उल्लासमयी घडीमा
आज मौसम गाउँदै जाउँ, जहाँसम्म पो पुगिएला !
आज मौसम बजाउँदै जाउँ, जहाँसम्म पो पुगिएला !
यो सुन्दर शहरको एक सुन्दर बिहान
सुतेर नगुमाउँ
यो सुन्दर जीवनको एक सुन्दर पल
हृदयभरि चुल्याएर मनाउँ !!! 

ओदाने जुन

जुन यसैगरी कुद्थ्यो
हिंजो पनि
थाकासाकी लाइन या 
चुकुवा एक्सप्रेसको प्रतिस्पर्धामा 
आज पनि यो कुदिरहेछ, 
बर्दिया निकुन्जको माथि-माथि  
खप्तड यातायातको हतारोसंग ताल मिलाउंदै,
       
म पर्दा सारेर
झ्यालका कापबाट निरन्तर हेरिरहन्छु 
फरक यत्ति छ
जुनको ऐनामा  
उतिबेला म घर खोज्थें,
साँझको टुकी बालेको
पहाडफेदीको आफ्नो घर
यतिबेला, सागरपारि साकुरादेशमा 
आफ्नो परिवार खोज्दैछु  

जीबन दोलक बनेको छ,
समयको ढोलकलाई अन्यौलले पिटेपछि !

निरुपाय
जुनमै बिसाएर आफ्ना तमाम बोझहरु  
जब म झपक्क निदाउंछु
सपनामा फेरि उभिन्छ यसपाली   
एउटा झल्झलाकार ओदाने जुन   
जसको प्रार्थनामा
म बेहिसाब गाउँछु,
सबेरसम्म गाइरहेकै पाउँछु आफुलाई !

javascript:void(0)