Tuesday, April 8, 2014

ओदाने जुन

जुन यसैगरी कुद्थ्यो
हिंजो पनि
थाकासाकी लाइन या 
चुकुवा एक्सप्रेसको प्रतिस्पर्धामा 
आज पनि यो कुदिरहेछ, 
बर्दिया निकुन्जको माथि-माथि  
खप्तड यातायातको हतारोसंग ताल मिलाउंदै,
       
म पर्दा सारेर
झ्यालका कापबाट निरन्तर हेरिरहन्छु 
फरक यत्ति छ
जुनको ऐनामा  
उतिबेला म घर खोज्थें,
साँझको टुकी बालेको
पहाडफेदीको आफ्नो घर
यतिबेला, सागरपारि साकुरादेशमा 
आफ्नो परिवार खोज्दैछु  

जीबन दोलक बनेको छ,
समयको ढोलकलाई अन्यौलले पिटेपछि !

निरुपाय
जुनमै बिसाएर आफ्ना तमाम बोझहरु  
जब म झपक्क निदाउंछु
सपनामा फेरि उभिन्छ यसपाली   
एउटा झल्झलाकार ओदाने जुन   
जसको प्रार्थनामा
म बेहिसाब गाउँछु,
सबेरसम्म गाइरहेकै पाउँछु आफुलाई !

No comments:

Post a Comment

javascript:void(0)