Sunday, June 19, 2011

हजुरआमाप्रति

सय साल पुग्नुभयो हजुरआमा

उहाँलाई धेरै धेरै शुभकामना ! 


जब हामी कच्चा बच्चा थियौं

हजुरआमा हट्टाकट्टा हुनुहुन्थ्यो

हामी अबोध र कमजोर हुँदा

भूत, चोर, सर्प, बाघ या दुष्टआकृति जेसुकै होस्

हाम्रा डरका हर कुनामा

संरक्षकको भूमिकामा

हजुरआमा उभिनुहुन्थ्यो

(हुन त हामी अटेरी बन्दा,

राडीपाखीको भुत निकाल्ने पनि उहाँ नै रहेछ !)


जे होस्

ती दिन बिते र धेरै चिज बदलिईसक्यो

अब हामीलाई

अप्ठेरो गौंडा झर्न परे

हजुरआमाको हात चाहिन्न

उर्लंदो खहरे तर्न परे

हजुरआमाको काख चाहिन्न

पर्खालको डिलमा बसेर

हामी घर नफर्कुन्जेल कुरिरहने

हजुरआमाको त्यो बेला पनि छैन अब

मध्यदिनको घाममा घरभित्र छिरेर

नातिहरुकै निम्ति

अगेनाको भुंग्रोमा मकै पोल्ने

समय पनि रहेन अब

खालि उही रहेको कुरा

हामीहरुप्रतिको हजुरआमाको गर्व,

निरन्तर कामना र आशिर्बाद नै हो


आज उहाँ कमजोर हुनुहुन्छ

बृद्ध, अशक्त र बिरामी हुनुहुन्छ

शायद,

हाम्रा सबैकुरा पनि बुझ्नुहुन्न उहाँ

सुनाउने उस्तो फुर्सत पनि छैन हामीलाई

(फूल गुच्छा र बर्थडे-केकसम्मको

लम्बेतान योजनाको प्रसंग पनि होइन यो ! )

बेफुर्सदीकै बीचमा पनि

हजुरआमालाई भेट्ने नाममा

जहिलेसुकै कोही आए पुग्छ उहाँलाई

टाढाबाटै सही

सन्चो बिसन्चो सोधेर हजुरआमाको

एक घन्टी फोन बजाए पुग्छ उहाँलाई


डाँडामाथिको जुन भएकी हजुरआमालाई

हामी काखमै हुर्केकाले

सम्झेमात्रै पनि लाख होला कि ?

Sunday, June 12, 2011

प्रस्ताव र बहस

प्रस्ताव-

सरकारले यौटा ठूलो पार्क बनायो भने

र त्यहाँ राम्रा राम्रा फूलहरु लगायो भने

मानिसहरुले पनि

त्यसैको सिको गर्नेछन र

आ-आफ्नो घरमा पनि

चाक्लो फूलबारी बनाउने छन्

राम्रा राम्रा फूलहरु खोजेर

मिहिनेतपुर्बक लगाउने छन्

यसरि नै सबै घरहरु

टोलहरु र बस्तीहरु सजिए भने

देश यसै सुन्दर हुनेछ


बहस-१

होइन यो चौर यत्तिकै रहन दिउँ

अग्लो अग्लो घाँस पलाएर के भो र?

पार्क बनायो भने

यहाँ बिबिध अबैध कामहरु हुनेछन

स्कुल जाने केटाकेटीहरु

बाबु आमाको आँखा छली छली

पार्कमा दिनभर रल्लिने छन्

नशा लिने र जाँड धोक्नेहरु

पार्कमै निस्फिक्री हल्लिनेछन्

रुखहरुको छेलमा बसेर

गुन्डा, लुटेराले निशाना साँध्नेछन्

पार्कमै नारा सभा गरेर

पार्टीहरुले मान्छे खाँद्ने छन्

यसरि हाम्रै घर बस्तीमा

हामीलाई चैनले बस्न दिने छैन

त्यो पार्कले


बहस-२

पार्क बनाउने कुरा त राम्रै हो

तर

हामीकहाँ 'पार्क संस्कृति' नै छैन

बन्नासाथ

पार्कको पर्खाल फोड्न

या वरपरका तारबार तोड्नमा

बहादुरी मान्नेहरु छन् यहाँ

भर्खर उम्रेका कलिला बोटलाई नै

कुर्ची ठान्नेहरु छन् यहाँ

पार्कमा

यौटा राम्रो शौचालय बन्यो भने पनि

पहिले चुकुल बिग्रनेछ

त्यसपछि ढोका उध्रिनेछ

लाजैमर्दो गरी

भित्तामा जथाभाबी कोर्नेछन केटाहरुले

सरसफाई राम्ररी हुँदैन नै थाहा  

पर परसम्म गनाउने डर

साँझ बिहानको ताजा हावा समेत

यस्तै रहला भन्ने के भर ?


बहस-३

त्यसो भनेर त कहाँ हुन्छ यार ?

यो जग्गामा पराइले जमाउला अधिकार

पार्क त बनाउनुपर्छ , थालौं

बोलपत्र आह्वान खोलिहालौं

मेरो संपर्कमा छन् राम्रा ठेकेदार

बेजोड बनाएका छन् बाटो, पुल, घर

अबैध काम नहोस भन्नलाई

ठाउँ ठाउँमा सूचना टाँसौंला

संगै प्रहरीको बिट राखौंला

त्यस्को लागि म आफैं समेत

माथि कुरा गर्न जाउँला

सबै ब्यबस्था मिलाउंला


बहस-

अहँ हुँदैन, पुलिस त राख्नै हुँदैन

चोर माथिको चकार छ पुलिस

लागु-औषधदेखि बलात्कारसम्मको

अपराधको मतियार छ पुलिस

बरु सेना नै राखे हुन्छ

मेरो सालो समेत सेनामा

भनसुन गरियो भने बेलामा

यतै ल्याउन सकिन्छ, के भो र ?


बहस-

अहँ, सेना मात्रै राख्न कहाँ पाइन्छ ?

खबरदार

जनसेनालाई पनि ठाउं चाहिन्छ

बरु गरौं एउटा गतिलो छलपल

हाम्रो आफ्नै छ जुझारू युबादल

पार्क बनाउन अरु कोहि चाहिंन्न

नराम्रो भयो भन्ने मौकै पाइन्न

जनताको पार्क बनाउने जिम्मेवारी

यसैको हुन्छ, बरु गरौं समझदारी


बहस-

यार हाम्रो पनि त छ युबाबल

कसैको भन्दा कम छैन चहलपहल

यथोचित भागबंडाको गरौं सहमति

नत्र यो प्रस्तावमा हुन्न कुनै प्रगति


यसरि एउटा राम्रो प्रस्ताब

राजनीतिमा पुगेर टुंगिन्छ

प्राय: सबै खुसि देखिए पनि

प्रस्ताबक दुखी हुन्छ

अर्को प्रस्ताव अघि सार्छ-


सरकारले यौटा चाक्लो बाटो बनायो भने

र त्यसको वरपर लहरै रुखहरु लगायो भने

मानिसहरुले पनि ..................

javascript:void(0)