Sunday, June 19, 2011

हजुरआमाप्रति

सय साल पुग्नुभयो हजुरआमा

उहाँलाई धेरै धेरै शुभकामना ! 


जब हामी कच्चा बच्चा थियौं

हजुरआमा हट्टाकट्टा हुनुहुन्थ्यो

हामी अबोध र कमजोर हुँदा

भूत, चोर, सर्प, बाघ या दुष्टआकृति जेसुकै होस्

हाम्रा डरका हर कुनामा

संरक्षकको भूमिकामा

हजुरआमा उभिनुहुन्थ्यो

(हुन त हामी अटेरी बन्दा,

राडीपाखीको भुत निकाल्ने पनि उहाँ नै रहेछ !)


जे होस्

ती दिन बिते र धेरै चिज बदलिईसक्यो

अब हामीलाई

अप्ठेरो गौंडा झर्न परे

हजुरआमाको हात चाहिन्न

उर्लंदो खहरे तर्न परे

हजुरआमाको काख चाहिन्न

पर्खालको डिलमा बसेर

हामी घर नफर्कुन्जेल कुरिरहने

हजुरआमाको त्यो बेला पनि छैन अब

मध्यदिनको घाममा घरभित्र छिरेर

नातिहरुकै निम्ति

अगेनाको भुंग्रोमा मकै पोल्ने

समय पनि रहेन अब

खालि उही रहेको कुरा

हामीहरुप्रतिको हजुरआमाको गर्व,

निरन्तर कामना र आशिर्बाद नै हो


आज उहाँ कमजोर हुनुहुन्छ

बृद्ध, अशक्त र बिरामी हुनुहुन्छ

शायद,

हाम्रा सबैकुरा पनि बुझ्नुहुन्न उहाँ

सुनाउने उस्तो फुर्सत पनि छैन हामीलाई

(फूल गुच्छा र बर्थडे-केकसम्मको

लम्बेतान योजनाको प्रसंग पनि होइन यो ! )

बेफुर्सदीकै बीचमा पनि

हजुरआमालाई भेट्ने नाममा

जहिलेसुकै कोही आए पुग्छ उहाँलाई

टाढाबाटै सही

सन्चो बिसन्चो सोधेर हजुरआमाको

एक घन्टी फोन बजाए पुग्छ उहाँलाई


डाँडामाथिको जुन भएकी हजुरआमालाई

हामी काखमै हुर्केकाले

सम्झेमात्रै पनि लाख होला कि ?

4 comments:

  1. Well Composed Bhinaju ..... May she be happy and healthy for the rest of her life .....

    ReplyDelete
  2. Hare Ram ARYALJun 30, 2011 10:33 PM

    दीर्घायूको कामना हजूरआमा !

    ReplyDelete
  3. सोध खोज पनि एउटा सम्झना र माया दर्शाउने चेष्टा हो नि !
    अझ शब्दमा पनि उतार्नु भएको छ - त्यो उहा प्रतीको तपाइको राम्रो आदर सद्भाव हो !

    ReplyDelete
  4. प्रतिक्रिया ब्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !

    ReplyDelete

javascript:void(0)