Wednesday, November 23, 2016

हिंड्दा हिंड्दै












हिंड्दा हिंड्दै हिंडिएको रहेछ यत्रो बाटो
बसेको भए
बसिरहेकै हुनेथियौं एकै ठाउँमा
अब थकाइको
दुखाइको, पसिनाको
र भोक तिर्खाको भर्त्सना के गर्नु
तिनको सम्झना अब सुखद नै छ
ती बिना सम्भव हुनेथिएन यो यात्रा |

उक्लिंदा उक्लिँदै उक्लिइसकिएछ यति माथि
ओरालो लागेको भए यति नै झरिइन्थ्यो होला
अझ बेसी !
जीवनको र सामर्थ्यको
बरु एउटा सीमा होला
यात्राको कुनै सीमा छैन
र म “ऊ त्यो सीमासम्म पुगेर आएँ”
भन्ने मान्छे पनि भेटिएको छैन
प्रेमले, सद्भावले या करुणाले  
जसले यो उकालोको बाटो देखाइदियो
उसलाई कोटी धन्यबाद दिंदै
हामी लागौं
अझ माथि माथि | 

Saturday, October 29, 2016

महामहिम राष्ट्रपतिजी से नम्र निबेदन

महामहिम राष्ट्रपति जी !
हम आपके स्वागतमे खडे है
अभी त्योहारका बक्त है
पर सच्चा त्योहार तो आपके आनेसे होगा
सडक बिलकुल खालि होगा
घर घर मे दिवाली होगा
कोइ भी काम पे नहीं जाएगा
जय जयकार और ताली होगा
हम एकदम तयार है
आपको ब्यग्र इन्तजार है

आपकी आजादीका छेसठ साल गुजर गए
हमारी लोकतन्त्र भी उतनी ही हो गए
दोनो बक्त हम साथ साथ रहे
सारे चिजें तो बिलकुल अच्छे रहे
पर एक बात हमसे गलती हो गई
हमारा चाबी खो गई
बादमे पता चला
धन्य, चाबी दिल्लीमे ही छुट गया था
हमारा तो होश टुट गया था
लोग कहते हे- तुम बुद्दु हो
अपना चाबी वहाँ छोड आते हो
फिर बार बार चिल्लाते हो












हमारे जो भी उधर जाते हे
गान्धीजीके समाधिमे फूल चढाते है
डोसा, नान और मीठा पान खाते है
रोटी बेटी रिस्ता से बात उठाकर
एम्बुलेन्स, दमकल और साइकल जैसे
अच्छी अच्छी चिजें भेटी ले आते है
फिर भी वह चाबी छुट जाते है

नजाने कैसा हे वह चाबी
लगेज कि भार से ज्यादा तो नहीं ?
हम छोटे लोग क्या जानते है
जो भी हो, फिर भी वह लेकर आना था
अपना ताला बन्द होते ही
रिस्तेदारों को दिक्कत नहीं देना था
हम भी यहाँ बहुत सर्मिन्दा है

दुसरे ने ‘बुद्दु’ कहकर भी
हम इतने दिनोतक सुनता रहा
फिर आज हमे ये क्या हुवा
हम थोडा सा घबराने लगे
आपको एक निबेदन लेखकर
स्वयम् अपनेको समझाने लगे

महामहिम राष्ट्रपति जी !
हम आपके स्वागतमे धीर से खडे है
हमको बडा कृपा करके
फिर अच्छी रिस्तेदारीको निभाना,
वह चाबी लाकर सबके सामने
सिंहदरबारमे रख जाना |   

Wednesday, June 29, 2016

कलाकार र आँखाहरु

“आज पहिलो दिन, म के बनाउँ”
कलाकार गुरुले सोधे
स्कुले नानीहरुले मजाकमै भने  
आँखाको नानी सर !
एउटा असाध्यै ठूलो – तपाईंभन्दा पनि ठूलो
र अर्को असाध्यै सानो- हामीभन्दा पनि सानो |













कलाकारले पहिले ठूलो नानी बनाउन बसे
आकार बढ्दै गएर नानी गुच्चा जत्रो भयो
स्याउ जत्रो भयो
भकुण्डो जत्रो भयो
त्यसपछि
जाँतो, ट्रकको पांग्रा, बौद्ध स्तुपाको पिंध, दशरथ स्टेडियम,
रिंगरोड जत्रो हुँदै हुँदै ...................
पृथ्वी जत्रो
सौर्यमंडल जत्रो
आकाशपुन्ज र ब्रम्हाण्डजत्रो भयो
कलाकार अत्तालिए
उनले भने - रंगहरु असाध्यै फिका हुँदै गए
पुरै चित्र
असंख्य
फैलिईरहेका, हराइरहेका, फेरि निस्किईरहेका
पानीको फोकाजस्तै धब्बाहरुको कम्जोर संयोजन बन्यो
मेरो कुची रंगमा चोपिन नपाउंदैमा 
मेरा रंगहरु क्यानभासमा पोतिन नपाउंदैमा  
कुनै असती बेग हावाले उडाए झैं
रंगहरु टाढा टाढा भागिरहेको देख्दैछु
म चक्कर खान थालेको छु |

“भो सर”, केटाकेटीहरुले डराएर भने –
“अब सानो नानी बनाउँ”

कलाकार सानो नानी बनाउन बसे
आकार घटेर नानी
पहिले कागतीको बियाँजत्रो भयो
त्यसपछि तिलको दानाजत्रो भयो
र क्रमश : बालुवाको कण, किबोर्डको डट, ज्यामितिको बिन्दु ,  
सियोको टुप्पोजत्रो हुँदै हुँदै गयो 
बिध्यार्थीहरुले अरु देख्न छोडे 
कलाकारले आखाँ खुंच्याएका हुन् कि चिम्लेका
थाहा भएन
उनको हात भने चलिरहेकै थियो
बरु कुचीको टुप्पा भने
रंगमा चोपिनु अगावै उठिसकेको देखिन्थ्यो
त्यो क्यानभासमा पुरै छुन्नथ्यो पनि
एकछिनपछि ध्यानभंग भए झैं कलाकारले भने –
आज दिन राम्रो छैन
यो सानो आँखाभित्र पनि
ठ्याक्कै म अघिकै बिशाल दृश्य देखिरहेछु
असंख्य अति सुक्ष्म कणहरु
बादलको मुस्लो झैं सल्बलाईरहेको देखिरहेछु
मुटुको धड्कन झैँ भटक भटक बल्किरहेको देखिरहेछु
यो कस्तो लीला हो, म तीन छक परिरहेछु
मेरो आफ्नै मुटु जोर जोरले धड्किन लागिरहेछ

केटाकेटीहरुले भने – भैगो सर, छाडिदिनुस्
आजलाई पुग्यो
आँखा त आँखै हो नि,
आँखाले देख्ने चिज पनि उही हो 
तपाईंको र हाम्रो आँखा पनि त उस्तै हो ! 

त्यसपछि गुरुले कहिल्यै आँखा बनाएनन् | 


Friday, May 27, 2016

बसपार्क

मर्निंगवाकमा
म हिंड्दै गएर बसपार्कमा उभिएँ
मानिसहरु सारेबारे गर्दैथिए
सोचें-
मानौं कि म पनि कहीं जाँदैछु –
उत्साह छ
हुटहुटी छ
आँखाहरु निकै चनाखा छन्
शरीर फुर्तिलो छ
मन हलुका छ
धेरै दिन भएको थियो
यो शहरमै रुमलिएर बसेको
माकुराले आफ्नो जालो नछोडे झैं
त्यो उकुसमुकुसबाट आज निस्कंदैछु
म बेग्लै भएको छु आज
पहाड, खेत, खोंच, मैदान हुँदै 
बस कुदेर आधा बाटो काटेपछि
यहींका यात्रुहरु पनि अन्यत्रका झैं लागिरहेछ |

अर्को दिन
फेरि त्यसरी नै बसपार्कमा उभिएर
सोचें - महिना दिन पछि
म फेरि फर्की आएको छु
यही बसपार्कमा
यही शहरमा 
लामो यात्राले जिउ कक्रक्क भएपनि
यहाँ झरिसकेपछि 
मलाई सब चिज आफ्नो लागिरहेछ
मलाई सब चिज प्यारो लागिरहेछ
छिटै घर पुग्नु, थकाइ मार्नु 
दुध राखेको मीठो चिया खानु
साथीभाई भेट्नु
र बाँकी आफ्ना काम गर्नु
यो शहर जस्तो सजिलो मलाई कहीं हुँदोरहेनछ  
एक महिना,
अहो यत्रा दिनसम्म
कसरी म टाढा रहन सकें
र बल्ल आफ्नो ठाउँ भेटें भन्ने परिरहेछ |

Monday, May 9, 2016

आँखाको सुन्दरता

भगवान मेरा आँखाहरुको पिछा नगर
ती अतीव सुन्दर छन् र
ती भित्र झन् तीब्र सुन्दरताको स्वप्न टांगिएको छ

म चौबाटोमा उभिएको छु यतिबेला र
चारैतिर फैलिईरहेछु खाली आँखै-आँखा भएर
आफ्नै अनुहारमा एक सुन्दर फूल फुलाएर    
हरेकका मुहारमा म फूल देखिरहेछु
आफ्नै शरीरलाई एक सुन्दर कला झैं उठाएर   
हरेक आकृतिमा म बेजोड कला भेटिरहेछु
छायाँमा पनि रंग मस्किएको देखिरहेछु    
किन हो  
अंध्यारोमा प्रकाशले ठेलिरहेको देख्छु  
   
भगवान् मेरा आँखाहरुको इर्ष्या नगर
ती अतीव सुन्दर छन् र
झनै सुन्दर छ ती भित्रको ज्योति |

Thursday, February 25, 2016

फेरि पांच थुंगा


नराम्रा कुराहरु र कविता
जानिराख,
चर्चित हुनु राम्रो कुरा होइन
चर्चित हुनुको भोलिपल्टैदेखि
तिमीले एउटा पर्खाल ठड्याउन थाल्नु पर्छ
कम्ता छन् र मानिसहरु पनि !
त्यहीं भर्यांग राखेर चियाउने छन्

सुन्दर हुनु पनि राम्रो होइन
सुन्दर हुँदाको भोलिपल्टदेखि
तिमीले कैद हुने कुरा सोच्नुपर्छ
पसल जाँदा पनि कोही तिम्रो पछि लाग्नेछन्

कबिता लेख्नु त झनै राम्रो होइन
कबिता लेखेको थाहा भयो भने चाहिं
मानिसहरु तिमीभन्दा पर पर भाग्नेछन् |

टौवा र बुबा
पराल थप्दै जाँदा
टौवा अग्लिंदै गयो
र संगसंगै अग्लिनु भयो बुबा पनि
केटाकेटीहरु झुम्मिएर हेर्न आए
उनीहरुको मनमा एउटै डर थियो
अब बुबा कसरी झर्न सक्नुहोला ?


सपनाका रेल
जीबन प्लेटफर्ममै उभिई रह्यो
सपनाहरु रेल झैं कुदिरहे
जति टाढा गयो
स्वप्नका रेलहरु झन् बेगले कुदे 
सुमात्राबाट निस्केको सुनामी जस्तै
र अब त झन् ती
उडिरहे झैं लाग्दैछन् |

फाँट-मोह
ए मुर्ख !
किन समथर फाँटहरु मात्रै टिपेर
छातीमा बेरिरहेछौ फनफनी ?
एकपल्ट  
आफ्नो शरीर हेर ऐनामा
र विचार गर
जम्मै समथर हुँदाको परिणाम ?

धुलो र हावा 
सर्लक्कै धोएर सुकाएथें रुमाल
सोचेथें एउटै  बाँकि छैन धुलोको कण 
हावाले अनगिन्ती टाँसेर गएछ |

Sunday, January 24, 2016

पांच थुंगाहरु

बाटो / धुलो

हराउने डरले म चिन्तित थिएँ
एक्कासी धुलो उदाउँदै
जब कोही हुँइंकिएर अघि गयो   
मलाई बाटो प्रष्ट भयो |

भाषा अन्यौल 
रेडियोमा प्रहरी समाचार बज्छ
कान थाप्दै सुनिरहेका
रिमालदाइ झोक्किन्छन -
घटना घटे भन्छ पुलिस !
चोरीका, लुटपाटका, हत्याका, अपहरणका
ख्वै कहाँ घटेका छन्, घटना ?
म त झन् बढेको देख्छु
अर्थ बुझाउन खोज्दा
उनी झन् चिच्याउँछन् -
बढेकालाई घटेको भन्ने 
यो कस्तो भाषा हो प्रहरीको ?

प्वाँख
तिमीले मेरो घरकालाई भेट्यौ
र सहृदय कुरा गर्यौ
हाँस्यौ, हँसायौ
र सबैलाई अन्जुलीमा फूल झैं उठायौ 
पछि - खूब तारिफ भयो तिम्रो यहाँ
यसरी जो खुल्यो बिश्वासको ढोका
र फैलियो त्यहींबाट प्रेमको संसार
साथी, अब तिमी मेरो प्वाँख भयौ |


प्रश्न / मृत्यु
अक्सर प्रश्नहरु अनुत्तरित नै रहन्छन
ती प्राय अकाल मर्छन पनि
हामी प्रश्नका उत्तरहरु होइनौं
प्रश्नहरु माथि प्रश्न उफार्दै
हामी जन्मन्छौं
र केही मामुली प्रश्नहरुमै रुमल्लिएर
हामी मर्छौं
हामीसंगै पनि मर्छन् 
हाम्रा कैयौं अनुत्तरित प्रश्नहरु !

निर्बिकल्प उठान
हल्लिरहने खाटमाथि
एउटा बिछ्यौना लगाइदियो कसैले हामीलाई
र भन्यो – सुत, नचली सुत,
तिमीहरु सुत्दा बल्ल मलाई आनन्द हुन्छ
हामी सिरक तानातानमै व्यस्त थियौं   
उसले खाटमुनि हात राखेकै थियो  
के के गर्नलाई हो कुन्नि !   
जब एकाएक
सुतिरहेको बिछ्यौना नै उल्टिएर आयो,
हामीसंग उठ्नुको अर्को बिकल्पै थिएन |  
javascript:void(0)