मर्निंगवाकमा
म हिंड्दै गएर बसपार्कमा उभिएँ
मानिसहरु सारेबारे गर्दैथिए
सोचें-
मानौं कि म पनि कहीं जाँदैछु –
उत्साह छ
हुटहुटी छ
आँखाहरु निकै चनाखा छन्
शरीर फुर्तिलो छ
मन हलुका छ
धेरै दिन भएको थियो
यो शहरमै रुमलिएर बसेको
माकुराले आफ्नो जालो नछोडे झैं
त्यो उकुसमुकुसबाट आज निस्कंदैछु
म बेग्लै भएको छु आज
पहाड, खेत, खोंच, मैदान हुँदै
बस कुदेर आधा बाटो काटेपछि
यहींका यात्रुहरु पनि अन्यत्रका झैं लागिरहेछ |
अर्को दिन
फेरि त्यसरी नै बसपार्कमा उभिएर
सोचें - महिना दिन पछि
म फेरि फर्की आएको छु
यही बसपार्कमा
यही शहरमा
यही शहरमा
लामो यात्राले जिउ कक्रक्क भएपनि
यहाँ झरिसकेपछि
मलाई सब चिज आफ्नो लागिरहेछ
मलाई सब चिज प्यारो लागिरहेछ
छिटै घर पुग्नु, थकाइ मार्नु
दुध राखेको मीठो चिया खानु
साथीभाई भेट्नु
र बाँकी आफ्ना काम गर्नु
यो शहर जस्तो सजिलो मलाई कहीं हुँदोरहेनछ
एक महिना,
अहो यत्रा दिनसम्म
कसरी म टाढा रहन सकें
र बल्ल आफ्नो ठाउँ भेटें भन्ने परिरहेछ |
No comments:
Post a Comment