Sunday, May 12, 2019

अँध्यारो-उज्यालो












यो उज्यालोमा
लेखुं कि नलेखुं
ती अँध्यारो समयका कुराहरु
जसले कटक्कै मेरो मन खाएका थिए

धर्मग्रन्थ भन्छन्
जे भयो भयो कटेर गयो
विद्वानहरु सुनाउँछन्
पुरानो दुखको पछुताउ नगर
जो भयो, त्यही बढ्ता महत्वपूर्ण छ

एकदम मनासीब हो
कारण पल पल किमती छ यो उज्यालो
आशाका किरणहरु झिल्मिलाएका छन्
बर्तमान असरल्ल भएपनि
अगाडिको धुन छ मधुर र मोहक,

तैपनि
आफू गुज्रेर आएको बाटोले
यादको पत्र मन्जुषामा
सुटुक्क खसाउँदो रहेछ
पुरानो तस्बिर जस्तै केही
जो आँख आँखै बोल्न खोज्दो रहेछ
र भन्दो रहेछ –

नबिर्स,
अंध्यारो भित्रबाटै
तिमीले बोकी ल्याएका हौ
उज्यालोको झिल्का !

Tuesday, May 7, 2019

एक सामान्य माउसुलिको नाममा श्रद्धान्जली










सामान्य माउसुली (छिप्कली) 
भावपूर्ण, हार्दिक श्रद्धान्जली !

यसरी मूल ढोकैमा च्यापिएर
तिमी पापड झैं पेलिईजाउला भनेर
मैले कहिल्यै चिताएको थिइन
मलाई असाध्यै दु: लागेको

उहिल्यै कुनै बक्बके बुढाले हो 
या
कुनै उरन्ठेउला कविले भनेका थिए -
'जब भित्ताभरी अनगिन्ती भरिन्छन् माउसुली
ति भुइंमा पनि खस्छन्
ति भाँडोमा पनि खस्छन्
भान्सामा  
तिमीले पकाउँदै गरेको भातमा पनि खस्न सक्छन्
तिमीले खाँदै गरेको भागमा पनि खस्न सक्छन्

होशियार  हुनु
तिनले भन्दैनन् बिचरा
तिनले जान्दैनन् बिचरा, तिनलाई थाहै हुन्न
हेर्दा पनि ति निर्दोष झैं लाग्छन्
तर ति असाध्यै बिषालु हुन्छन्
ज्यानै पनि लिन सक्छन् '

यति सुनेर पनि
हामीले कहिल्यै तिमीझैं माउसुलीलाई
भित्ताबाट लखेटेनौं,
अझै लखेट्दैनौं

माकुराको जालैनिर ढुकेर 
ट्याक ट्याक मृदुल ध्वनि निकाल्ने 
तिम्रो मिठाउरे मुख 
किरै समेत पचाइदिने तिम्रो चिल्लो पेट 
छिचिन्याट्ट परेर 
क्षत विक्षत भएको सम्झंदा 
मेरो आंग अझै जिरिंग हुन्छ 

स्तब्ध छु
सामान्य माउसुली,
तिम्रो मृत्युमा 
असामान्य शोकवरण गरिरहेको छु
यसरी मूल ढोकैमा थिचिएर
तिम्रो देहावसान होला भनेर
मैले सपनामा पनि
चिताएको थिइन,

अन्त्यमा
म तिम्रो दिबंगत आत्माको
चिर शान्तिको कामना गर्दछु !

javascript:void(0)