मन कसैको भाँच्न हुँदैन
भाँचिन्छ कि भनेर जाँच्न पनि हुँदैन
मन त राख्ने चीज पो
राखिदिनुपर्छ
सानो, ठूलो जो होस्, आफ्नो - पराइ
प्रेमको उज्यालोले ढाकिदिनुपर्छ
थाहा हुँदैन,
कतिबेला कसको मन लुलो भएर बसेको हुन्छ
घाउ सानै भएपनि पीर ठूलो भएर बसेको हुन्छ
मजाकमै सही
मनको कोमल तन्तुमा घोच्न हुँदैन
के नै फरक पर्छ भनी सोच्न हुँदैन
मन सबैको उस्तै भएपनि
उहीं हुँदैन
आफ्नो मन हिमाल झैं अग्लिंदै गर्दा
हिउँ झैं पग्लिँदो मनमाथि नटेक
आफ्नो मन इन्द्रेणी झैं रंगिएको बेला
कुहिरो झैं धुम्मिँदो मनलाई नहेप
मनको संबेदनलाई सम्बोधन गर
थाहा हुँदैन,
कतिबेला तिम्रो मन पनि
मसिनो छेस्को भएर हल्लिएको हुन्छ
कसैको नजर नपर्ने
साँगुरो गल्ली हुँदै रल्लिएको हुन्छ
बोलाएर बोलिदिने
कुनै मनको खोजीमा हुन्छ त्यो
त्यसैले, मन फर्किने बाटो राख
मनलाई मनकै साटो राख
मन भाँचियो भने धेरै थोक भाँचिन्छ
दुखले आर्जेका धेरैथोक नासिन्छ
फेरी जोड्दा पर्ने तोडलाई सम्झेर
मन कसैको भाँच्न हुँदैन,
भाँचिन्छ कि भनेर जाँच्न पनि हुँदैन |
हजुर एकदम सहि है य ओ भने ..................
ReplyDeleteमीठो आग्रह । राम्रो कविता ।
ReplyDelete