कहिलेकाहीं तिमी
सुस्तरी बोलेको सुनेको छु
भित्ताको कान हुन्छ भनेर
उसोभए
कोठाभित्रै पसेका
या
वरंडामा पलेंटी कसेर बसेका
घामका किरणहरू
आकाशका हजार आंखा होइनन् ?
तिनले
कहां कहांसम्म पुर्याउंदैनन् होला त
तिम्रो मुहार
तिम्रो आकृति
तिम्रो भावभंगिमा
र तिम्रो मनस्थिति,
तिनको कुद्ने गति
तिमीलाई याद नभएको हो र ?
कुरा यत्ति हो
सधैं हांसिराख
सोझो हिंड
र अनावश्यक वखेडा नझिक
तिमी जहांकहीं प्रतिविम्वित भएको हुनसक्छौ
तिमी सोचेभंदा बेग्लै देखिएको हुनसक्छौ
आफ्नो वशमै नभएको कुरा देखावटी नसच्याऊ
आज घामै लागेको छैन भनेर पनि नचिच्याऊ ।
No comments:
Post a Comment