तिलोत्तमाले भनी-
गौतम !
तिम्रा कवितामा निकै उपदेश छन्
प्रशस्तै संदेश छन्
देश त झन् हरफैपिच्छे छन्
बिदेश भोगेका अवशेष पनि छन्
तर तिनमा
म प्रतिको अनुराग कहीं भेट्दिन म,
आशक्तिको थोपो देख्तिन म !
हेर न,
कविहरु कस्ता मीठा मीठा गीत-गजल लेख्छन
प्रियतमको साथमा मोहनी भेट्छन्
तिमी खाली हावामा तैरिरहेका छौ
निर्जन मरुभूमिमा फैलिरहेका छौ
मैले भनें -
तिलोत्तमा !
देश जल्दा मन पनि जल्दोरहेछ
देश बल्दा मन पनि बल्दोरहेछ
समस्याले पो खोप्दो रहेछ मेरा कविता
सन्तुष्टिले छोप्दो रहेछ मेरा कविता
कहिलेकाहीं झसंग हुन्छु -
म त कलम मात्रै न रहेछु !
पर्ख प्रिय,
यो कसम भो ,
तिम्रो लागि पनि लेखुँला
बिहानको घाममा डुबेको
यौटा उज्यालो कविता !
पूर्ण चन्द्रले भिजेको
यौटा मोहक कविता !
No comments:
Post a Comment