Monday, April 13, 2020

नयाँ बर्ष र भयाक्रान्त स्वरहरु











पाठक महोदय !
यो कविता होइन, समाचार हो 
र यसमा आजैको खबर छापिएको छ 
अघि कहिल्यै कसैले नजानेको  
यो 'लकडाउन' र 'क्वारेन्टाइन'को समयमा सुनिएका 
अनपेक्षित र अनमेल आवाजहरू 
यहाँ यथारूप प्रेषित गरिएका छन् 
  
खबर आफैंबाट शुरु गरौं,
मध्यरातमा
चराहरु सधैं झैं निदाइसकेका हुन्छन्
सडक चकमन्न हुन्छ,
एकाएक कोठाभित्र
किताबको दराज मचक्क गर्छ,
झ्यालका खापा कक्रक्क पर्छन्,
ढलानघरको छतको रड टन्ग्रंग बज्छ
र टिनको छाना समेत कटक्क गर्छ 
बादल एकपल्ट गडंग गर्छ
र पानीका दुइचार थोपा मात्रै झारेर 
हठात् चुप लाग्छ,
कुनामा थन्क्याएको मेरो किबोर्ड समेत 
आफैं कर्र कर्र गर्छ
यसरी शुरु हुन्छ, यो पल्टको नयाँ बर्ष !

अब देशका कुरा गरौं,
धेरै भयो, अखबार आएका छैनन्
तर खबर असाध्यै धेरै आएका छन्
प्रधानमंत्रीको 'भिडियो कन्फरेन्स'देखि  
पत्रकारका 'लाइभ रिपोर्टिंग' समेत 
कुनै क्षण खालि छैनन् 
कोरोनाबिरुद्ध सरकारको तयारी र 
राहत वितरणका समाचारहरुले,  
तर, 
कतैबाट पनि आश्वस्त हुन नसकेर 
यसैबीचमा 
भोकले मर्नुभन्दा 
बहुलाउनु निको ठानेर 
मध्यरातमै कोही मजदूर
फिटिक फिटिक चप्पल बजाउंदै
सात आठ दिनको संकल्प गरेर  
राजधानीबाट मधेश झर्छ
र उ हिंड्दा हिंड्दै 
लखतरान भएर सुस्ताएको बेला 
बाटैमा शुरु हुन्छ नयाँ बर्ष !

त्यसरी नै
सीमापारिको क्वारेन्टाइनबाट भागेर  
पुलिसलाई छल्दै छल्दै
झाडी, बस्ती र खरबारी छिचोल्दै
अबैध बाटोबाट घर फर्किन
बिल्कुलै जनावरजस्तै चारपाउ गर्दै
मध्यरातमै कोही जंगलमा खसर खसर गर्छ  
या महाकालीमा झ्वाम्लांग हाम्फालेर
फ्याँ-फ्याँ गर्दै वारि तर्छ,
यसरी शुरु हुन्छ यो पल्टको नयाँ बर्ष !

हुन त म पत्रकार हुँदै होइन 
तैपनि, 
कुनै कबिताभंदा आकस्मिक 
आजको समाचार भएको छ 
हामी बाँचेको यो मुलुकमा 
संबिधान र सरकार बर्करार छँदा छंदै
यी पछिल्ला 
भयाक्रान्त आवाजहरुले 
मेरो अस्मितामा प्रहार भएको छ 
मेरो स्वाभिमान डगमगाएको छ| 

त्यसैले 
पाठक महोदय .............



No comments:

Post a Comment

javascript:void(0)