Monday, May 25, 2020

कमरेड मोहन सुनारका नाममा एक सांसदको पत्र


कमरेड !
यो कोरोनाले आक्रान्त समयमा
गत चुनावको बेलामा जस्तै
चाहेर पनि तपाईलाई अंगालो मार्न सक्तिन
देशमा अनन्त सम्भावनाहरु छँदाछँदै पनि
अरबको खाडीमा पुगेर देहान्त भएका
आफ्नो भाइको शोकमा डुबेका तपाईंलाई
नजिकै, छेवैमा पुगेर  
सहानुभूति प्रकट गर्न पनि सक्तिन
यो प्रदेशका
सम्पूर्ण तह र तप्काका न्यायप्रेमी जनताको
सम्वृद्धि र उन्नतिको लागि
बिकासको खाका कोर्दाकोर्दै  
अत्यन्त व्यस्त समयका बाबजूद
संसद भवनको क्यान्टिनबाट
खाली एउटा तार पठाएको छु
एक अनन्य मित्र,
एक सहृदयी सुभेच्छुकका नाताले
असीम प्रेमको प्रस्ताव राख्दै
यो समाचार पठाएको छु
कमरेड, मलाई अप्ठेरो नपार्नुस् !
हेर्नुस्, अहिल्यै कहाँ आइपुगेको छ र
हामीले खोजेको व्यवस्था,
अहिल्यै कहाँ छोडिसकेको छ र
समाजले संस्कृति र परम्परा ?
कहाँ भैसकेको छ र चीनको
कमरेड माओले चलाएजस्तो सांस्कृतिक क्रान्ति ?
हामी त निरङ्कुश र सामन्ती ब्यबस्था तोडेर
एक कदम अगाडि पुगेको मात्रै न हो
तपाईंजस्ता अग्रगामी सोच भएका
मुक्तिकामी जनताको भोटले म सांसद भएको
यो त बल्ल सुरुवात न हो परिवर्तनको
अन्तिम शानदार बिजयको खातिर
एक कदम तपाइँ हार्नुस्
कमरेड, मलाई अप्ठेरो नपार्नुस् !

बडो दुक्ख लागेको छ मलाई
मेरो आफ्नै भाइजस्तो
तपाइंको भाइको निधनको खवरले
तर मलाई किन लखेटिरहेछन् कोही
दुश्मनकै तवरले ?

कमरेड, यहाँले भन्दा
दश बीस ठेली मार्क्सबादका किताब
बढी नै पढे हुंला मैले
यहाँले भन्दा दुई चार दर्जन नै बढी
देश विदेश घुमेहुँला म
शोषण उत्पीडनबाट मुक्तिका खातिर
बर्ग संघर्षको आबश्यकतामाथि
कैयौं ठाउँमा कैयौं प्रशिक्षण पनि दिए हुंला
निरङ्कुश शासनका बेलामा
लाठी मुन्ग्रा पनि खाएँ, सहें हुंला
त्यसैले त अहिले म म भएको छु र
मैले तपाईंलाई पनि तपाईं बनाईदिएको छु
कसैले केही नगरिदिए
कसको के बन्छ र नेपालमा ?

त्यसैले, छाड्नुस, कमरेड छाड्नुस्
बितिसकेको भाइको क्रिया बस्न नपाएको
जाबो एउटा क्रियाघरको बिषयलाई लिएर
हृदयमा खील नगाड्नुस्
असीम धैर्य हुनुपर्छ, हामी क्रान्तिकारीहरुमा
क्रान्ति सम्पन्न नहुन्जेल
क्रान्तिका नायकहरुलाई
ससाना कुराले बिथोल्न हुँदैन
क्रान्तिका सहयोद्धाहरुले
नायकको तिलस्मी बलिदान पनि भुल्न हुँदैन
कमरेड,
हामीले अझै कहाँ ल्याइसकेका छौं र साम्यवाद ?
कहाँ निर्माण भैसकेको छ र समतामूलक समाज ?
प्रयास हुँदैछ,
र म जुटिरहेको छु त्यसको अथक प्रयासमा
र जुटिरहन्छु  निरन्तर
अझै दुइ चार वटा चुनाब हामीले नजितुन्जेल
कहाँ पुरा हुन्छ र हाम्रो सपना
त्यसैले कमरेड, छाड्दिनुस्,
तपाइंको मनमा यतिबेला
अपमानको आलो घाउजस्तो
म जे देखिरहेछु  
त्यसलाई अब नकोट्याउनुस्
यो महान पार्टीका दुश्मनहरु हाँस्ने गरेर
समबेदनाको नदी नबगाउनोस्

कमरेड, कृपया
तपाइंले यत्ति बुझिदिनुस्
बुर्जुवा पुंजिबादको चेपुवामा
हामी यसरी परेका छौं कि
'संसारको सबैभन्दा सुन्दर चिज
जनताको मतदान नै हो' भन्नु परेको छ   
र फेरि पनि
त्यही सबैभन्दा दुरुह भएको छ
त्यसैले, हाम्रो अन्तिम लक्ष्यका खातिर
बीच बाटोमा
जे जे अभिनय गर्नुपरेपनि म छंदैछु
ममाथि भरोसा गर्नुस्
यतिबेला तपाईं
प्रतिगामीको जालमा नपर्नुस् |

No comments:

Post a Comment

javascript:void(0)