ऊ भित्र गहिरोमा बस्छ
कुनै गुमनाम तपस्वी झैं
तर सबैभन्दा भड्किलो उही छ
उसको कामै के छ
मलाई बस्त्र बनाएर ऊ न्यानो
ताप्छ
मेरा पैतालाबाट ऊ हिंड्छ
मेरा नजरबाट उसले हेर्छ
र
फेरि मैलाई हावामा उचालेर
यसै यसै
फुत्रुक्क भुइंमा छोड्छ
मनको पहाडलाई कुटुकुटु खान्छ
कतिबेला
र हठात् गहिरो पहिरो चलाउँछ
के भन्नु
आधा आधी होशको हाँगामा
टेकाएर
आधा आधी बेहोशीको,
मदहोशीको पींगमा मच्चाएर
असंख्य चेहराहरुको फाँट
फाँटै हिंडाएको छ उस्ले मलाई
अनन्त आँखाहरुको डीलडीलै बगाएको छ उस्ले मलाई
रङ्गीन रहरहरुका स्वप्निल
छायाँहरु टेकाएर
बलौटे बगरहरुमा
मलाई आफ्नो एकलौटी घोडा
बनाएर
कुदाएको कुदायै छ उसले
म पनि उस्तै छु,
एकदिन उसैलाई तबेलामा
बाँधेर
एक्लै कतै हिंड्न मन गर्छु
मात्रै !
No comments:
Post a Comment