Wednesday, January 24, 2018

किनाराको खण्डन














जहाँबाट छुटेको हो पानी
त्यहींबाट छुटेको हो किनारा
जहाँबाट फुटेको हो मूल
त्यहींबाट फुटेको हो किनारा

पानी बर्सनु अघि नै
या हिउँ पग्लनु अघि नै
किनाराको कुरै हुन सक्तैन
पानी भएर नै किनारा भएको हो
अथवा भनुं  
पानीको आफ्नै भाँडो हो किनारा
गाउँका पँधेरामा तेर्स्याइएको
बाँसको 
आधा कप्टेरो झैं मात्र हुनसक्छ यो
र बाँकी आधा (उर्ध्व)भाग पनि
हामीले देखेकै छैनौं 














वल्लो र पल्लो किनारा ?
होइन, त्यो एउटै हो  

लौ, एकछिनलाई मानिदिएं  
पानीको किनारा भनेर
तर हरेक बुँद पानी बेग्लै हो
यसको किनारा छुट्टै आफ्नै हो  
पानीको सत्व, निजत्व भएकाले   
पानी आकासिंदा किनार आकासिन्छ
पानी भासिंदा किनार भासिन्छ  

अँ, त्यो भासिएको छ पनि नदीहरुमा
र माथि आकाशबाटै माछा देख्ने चीललाई
अलि गहिरो छलांग मार्नुपर्छ त्यहाँ

आफ्नै भारले गर्दा
पानी सीधा हिंड्न सक्तैन
र बांगिन्छ पटक पटक

जहाँदेखि बांगिन्छ पानी
त्यहींदेखि बांगिन्छ किनारा,
जहाँदेखी निख्रिन्छ पानी 
त्यहींदेखि टुंगिन्छ किनारा ! 

No comments:

Post a Comment

javascript:void(0)