Sunday, December 29, 2013

मौन- सम्बोधन


-१-

मनमनै भनें,

सबै कुरा भनें,

भगवानलाई भनें,

यसो गर्दा-

कसैसंग बाझाबाझ हुने गुन्जायस रहेन !


-२-

यो हजुरको कथन

सधैं रहोस् मनन् -

कि, हजुर श्रीखण्डको गींड

हामी खुर्पाका बींड,

हरपल टलपल ढलपल

हजुरको दम्भ

चलमल, अलमल गर्न नमिल्ने

हामी स्तम्भ,

होशियार छौं पलपल,

जब चढ्छ सरकारको पारो

खसिजान्छ नभको तारो

संसार बन्छ अँध्यारो


हजुर श्रीपांच - लवज! ठाँट!

हामी घाँस, पलाँस

हजुर दानी, अन्तर्यामी

हामी छुद्र, अज्ञानी

बात हजुरका महाबाणी

ईश्वर, नश्वर मुग्ध दिवानी,

कोही छिर्छ जब तारिफ गाउँदै

लुसुक्क, हजुरको दरबार

पाउँछ रे किमती उपहार, पुरस्कार

तैपनि घट्ने नाम लिन्न रे,

हजुरको अथाह भण्डार !


हजुर कुलीन, सुगन्धी-मगमग

हामी कीट-पतंग, रगरग

हजुर, मानिसभन्दा माथि

तैपनि बित्थैं दाँजिने हर्कत

गर्छ किन यो अटेरी छाती ?



रोकेर करले यसको धड्कन

जनाउँछु आफ्नो पूर्ण समर्थन

कि यो बातमा, म छु दृढ,

हजुर पावन श्रीखण्ड-गींड

हामी नगन्य खुर्पाका बिंड !

No comments:

Post a Comment

javascript:void(0)