Tuesday, December 17, 2013

झोला
















लामो यात्रासंगै
म अत्यन्त थकित भैसकेको थिएँ,
हतार हतार झोला निकालेर
सिरानीमुन्तिर आड लगाउंदै 
लजको खाटमा
पल्टें र भुसुक्कै निदाएं,
हठातको मेरो निर्णय देखेर  
झोला सोचमग्न देखिन्थ्यो

कति बेला हो कुन्नि
झोलाका दुई फिता
दुई हात झैं बनेर उसका
पहिले सुस्त..री मलाई
र पछि आफैलाई छामेको देखें
एक एक गरी
गन्तीको शैलीमा झोला भट्टयाउँदो रहेछ -
अलिकति चिउरा र दालमोठ 
एक बोतल पानी, एक सानो मग  
आधि खोलेको बिस्कुट
आधा चाउचाउ,
यहाँ उहाँ टन्नै कोचिराखेका कपडा
एउटा टर्चलाइट, एकजोर थप ब्याटरी
एक पुरिया साबुन
फेरि अलिकति धुलो डिटरजेन्ट पनि
प्लास्टिकमा बाँधी राखेको,
रेजर, ब्रश र दंतमन्जन
सेभिंग क्रिम र सन्स्क्रिन
ओडोमस – लामखुट्टेको कवच  
एक तौलिया र एकरोल टिस्सू छुट्टै
क्यामेरा र चार्जरहरु
शिरैमा थपक्क राखेको
आइफोन, चश्मा र घडी 
बाहिरी खल्तीमा केहि किताबहरु
एउटा कलम, नोटबुक र नक्सा पनि
अलिकति औषधिहरु र घाऊ छोप्ने टेप
अरु खासै केही भेटिएन,
यति भएपछि यात्रा बन्दो रहेछ
लामै यात्रा,   

एकाएक बिजुली चम्के झैं
झोलाको अग्रभागमा
दुई आँखा झिमिक्क खुले
र झोला चलमलायो,
उसलाई मनमनै लाग्यो होला -
तिमीसंग भएको सबै त मैसंग छ 
आफैं एउटा यात्रा हिंड्छु अब

साँच्चै, पुलुक्क मतिर हेरेर
झोला हिंड्यो
गंडयौला झैं घिश्रेर ढोकासम्म,
ऊ बाहिर निस्कनासाथ
ठूलो आबाज आयो
भर्यांगको दंगदंग पछि   
एक्कासि भुइंमा पछारिएको आवाज !

मेरो निद्रा खुल्यो
बेशक झोला ठाउँमा थिएन
निस्की हेर्दा  
पर्खालले घेरेको लजको आँगनबाट
लाख प्रयाश गर्दा पनि
कतै बाहिर उम्किन नसकेर   
थकित, गलित, धुलित
र बेहिसाब घाइते भएको मेरो झोलाले   
आँखा तर्दै मसित भन्यो –
यसरी बिस्मयी नजरले हेरेर
मलाई लज्जित नपार,
एउटा उन्मुक्त यात्राको भ्रममा हिंडेका  
तिमी पनि त मजस्तै
झोला हौ कसैका !

Thursday, October 24, 2013

तीस बर्ष पछि

तीस बर्षपछि
अकस्मात भेट हुँदा
उसले मलाई भन्यो -
साथी, तिमी त उस्तै रहेछौ,
बिल्कुल उस्तै !
बास्तवमा
हामी दुवै  
निक्कै धेरै  बदलिइसकेका थियौं |

फेसबुक नहेरेरै
हामीले एक अर्कालाई चिन्यौं,
कुरा यत्ति हो |


त्यतिबेला हामीले
संगसंगै बिताएको
आफ्नो बचपनको कुरा गरेनौं
खेत खेतै हिंडेर 
खोलो तरेर
ल्यात-ल्याती बग्दो कमेरे बाटोमा
मुश्किलले धानिंदै  
भीर-भीरै, कुलो-कुलै   
जुत्तैबिना स्कूल हिंडेको
झारमा खुट्टा पुछेको
काठका मुढामा बसेर पढेको
त्यो केही पनि कुरा गरेनौं 
माटे भित्ताले कर्यांग-मर्यांग कोरेका
धुश्रा-फुश्रा लुगाको कुरा पनि गरेनौं


कुरा भए त, 
केवल आ-आफ्ना कामका   
र परिवारका कुरा भए !    
यार,
उ त भेटियो, गयो    
उ भेटिनु भन्नु
आफ्नै सम्झनाको भल बग्नु रहेछ !
आफैसंग झन् गहिरो कुरा हुनु रहेछ !


ऊ गएपछि, सम्झें-
बर्खे खोलाले बाटो छेकेर
घर फर्कन नसकेको,
छुट्टीको दिन रहमा पौडेर  
तातो ढुंगामाथि जीउ सुकाएको,
चौर-चौरै कुहिरो समात्न दौडेको,
र खेत खेतै - बाँदर लखेट्न ,
खनिया खोज्न र ऐसेंलु टिप्न हिंडेको,
उसलाई पनि याद होला शायद
खैर,  
हामीले ती  कुरा गरेनौं  त्यसदिन

अहिले ऊ आधा-आधि शहरिया भैसकेछ,
म झन् पुरै !
मनभित्रको तस्बीरजस्तो 
कहाँ उस्तै रहेको छ र हाम्रो गाउँ पनि ?

छुट्टिनु अघि
अन्तिम मौका नछुटाई
मैले पनि उसलाई भनिदिएँ -
साथी, तिमी पनि त उस्तै रहेछौ,
बिल्कुल उस्तै !


बास्तबमा 
हामी दुवै 
निकै धेरै  बदलिइसकेका थियौं !

Sunday, October 6, 2013

जराको माटो






















ठाउं सरेका रुखहरुले
बोकेकै हुन्छन जरामा
धेर-थोर
आफ्नो माटो
र तिनका नशामा  
धड्किरहेकै हुन्छ
त्यसको रसान


साथीहरु हो !
हाम्रा पनि जरा होलान  
र त्यहाँ टाँसिएको होला  
हाम्रो माटो !


त्यहि खोज्दै
कुनै दिन
तिमी आयौ भने यहाँसम्म
माटोले नाइँ भन्नेछैन !  

Tuesday, September 24, 2013

शहर / लहड


आज बेग्लै शहरको रहरमा
उड्दै छु म यो शहरमा
एक नयाँ लहड लहडमा
एक नयाँ चहक महकमा


यहाँ फूल फुलेका म देखुँ
यहाँ दिल मिलेका म देखुँ
सयौं स्वप्नका सितारा
झिलमिल बलेका म देखुँ


सारा शिर उठेका म पाउँ
कर्म-बीर जुटेका म पाउँ  
हर ओठ  रसिला, रबाफी
हर्ष-तीर छुटेका म पाउँ   


यो शहर छ दिब्य, मनोहर
यो बनोस् धराकै धरोहर
आज यस्कै नशालु झलकमा
बेखबर पथिक छ पलकमा !


आज एक नयाँ बचेरा
नाघेर बादल्- घेरा
उड्दै छ माथि सगरमा
भिन्दै शहरको रहरमा !

Thursday, September 5, 2013

पहाड-आग्रह


यो चौघेरा शहरमा
मन रुमल्याई राख्यो भने
बन्द कोठाभित्रको
चुरोटको धुवाँले जस्तै
जीवन विषाक्त हुन सक्छ
आऊ उक्लेर
अग्ला पहाडहरुबाट हेरौं


हामीसंग
यत्तिका अग्ला पहाडहरु छन्
आऊ, एकपल्ट उचाइबाट तल हेरौं
र बगिरहेको ताजा हावामा सास फेरौं
जीवनलाई खोल्सा/खाल्डाकै वरपर घुमिरहने
नियतिको दास नबनाऔं


हेर
पहाडहरुले पहाड ढोगेका
पहाडहरुले पहाड बोकेका
पहाडले  नै पहाडलाई ढेपेका
पहाडले  नै पहाडमाथि  टेकेका
पहाडका अनगिन्ति आकृति
पहाडका चालढाल र अन्तर्दृष्टि
पहाड रुंघ्ने पनि पहाडहरु
पहाड सुँघ्ने पनि पहाडहरु
पहाडलाई काट्ने / लछार्ने पनि पहाडहरु
पहाडलाई चाट्ने/ मुसार्ने पनि पहाडहरु
सेता काला बादलका पछौरीहरु
परस्पर साटासाट गरिरहेका

आफ-आफैं माथि चढ्ने,
अड्ने, लड्ने र घचेटने
यी पहाडहरुको पनि
तिम्रो मेरो जस्तै कुनै नाता त होला नि !

आऊ पहाडहरुलाई चिनौं,
हामीसंग यत्तिका धेरै पहाडहरु छन्
एकपल्ट पहाडहरुको बस्ती हेरौं
सोचका खोंचहरुबाट माथि उक्लेर
आफुलाई फेरौं !
मनोरम पहाडका ढाडमा पल्टिएर
सम्भावनाका बिशाल फाकटहरु कोरौं !  

Tuesday, July 2, 2013

दश थुँगा - ३


डोकोको पिंधमा

हर्हरी बसाइरहेको

रोपाईंको खाजा

----------------------

छतमा अटेश-मटेश


रोपाइँको बिउ

माइक्रोबसलाई हतार छ

  ---------------------

डोरी

धेरै अग्लो नखेल

चन्द्रमा हंसियाकार छ

-----------------------------

मोटी आमा

दुब्ली छोरीसंगै

मर्निंगवाकमा निस्किन्

-----------------------

शहर झरियो

बलियो मुदुसभित्र

गाउँ कोचेर

_____________

हावाले उचालेको हो कि

पानीले उतारेको

पहाडमाथिको रातो घाम

--------------------------

आफ्नै छातीमा

हिउँ जमाउँदा

पोखरी थिचिएन ?

-------------------------------

खाली बसस्टप

उभिईरहेको आफ्नै झल्को

स्कूलको एक दशक

-------------------------

गोलो रुख

फुलहरु पनि

गोलाकारै झरेका छन्

-----------------

आफ्नै जालोमै

महापरिनिर्वाण

धन्य, माकुरा !

----------------

Monday, July 1, 2013

पहलमान बिद्यार्थीहरुका बारेमा

हेर्नोस, ऊ आए

अर्का टोली चंदाबाज बिद्यार्थीहरु

जबर्दस्त भित्र छिरे तिनीहरु,

पोल्न राखेको मुर्दाले जस्तै

तनक्क जिउ तन्काउँदै

फुर्तिसाथ

तिनीहरु यहाँ आउनु भनेको

अचाक्ली नहुँदो

एउटा बहाना सुन्न पाउनु हो

तिनका पत्रु आदर्शमा उकेरा दिंदै

अनिच्छापुर्बक समय कटाउनु हो

तिनले मागेको नपुर्याए

आजसम्म तपाईं-हामीले नसुनेको / नपढेको

भाषाको निकृष्ट प्रयोग निम्त्याउनु हो

भो सुरुक्क पन्छाउनोस् आजलाई, सर !

यिनै त हुन् नयाँ नेपालका सपनाहरु !

भविष्यका मन्त्री र महामनाहरु !



आजै पनि

कम्ता रवाफ छैन यिनीहरुको !

भिसीसा’बको कोठामा

भित्र/बाहिर गरिरहने यिनै हुन्

रजिष्ट्रारसंग पिउने / पिलाउने र

ठेकेदारलाई काम दिलाउने पनि यिनै हुन्

परिक्षा रोक्ने / चलाउने यिनकै चुड्कीमा हुन्छ

धेरै अंक चाहिएको छ तपाईंलाई ?

कि नयाँ कलेज ?

भन्नोस्, कसलाई भेटाउनु पर्यो ?

कसैलाई जागिर खुवाउनु छ ?



तिनीहरुको खल्तीबाट भुक्क उठेको

एकजोर तालाचाबीको आकृति देख्नुभयो, सर ?

यो भागबन्डा बिश्वबिध्यालयको

अद्भुत चमत्कारी आविष्कार हो

जो हरेक नियमकारलाई लाचार पार्छ

तिनका मर्यादालाई स्वीटर झैं उधार्छ र

भुइंमा फ्यात्त फालेर भन्छ,

“ जो हामीलाई मिल्दैन, त्यो नियम हुँदैन !”

भो नजिस्काउनोस यिनीहरुलाई,

यिनै त हुन् नयाँ नेपालका सुत्रधारहरु !

समुन्नत राष्ट्रका योजनाकारहरु !



देख्नुभो, ऊ फेरि आए,

अघोरी, कल्मुखा, चंदाजीबी ऐजेरु

पत्थरपुरका पहलमान बिद्यार्थीहरु !

javascript:void(0)