Thursday, September 5, 2013

पहाड-आग्रह


यो चौघेरा शहरमा
मन रुमल्याई राख्यो भने
बन्द कोठाभित्रको
चुरोटको धुवाँले जस्तै
जीवन विषाक्त हुन सक्छ
आऊ उक्लेर
अग्ला पहाडहरुबाट हेरौं


हामीसंग
यत्तिका अग्ला पहाडहरु छन्
आऊ, एकपल्ट उचाइबाट तल हेरौं
र बगिरहेको ताजा हावामा सास फेरौं
जीवनलाई खोल्सा/खाल्डाकै वरपर घुमिरहने
नियतिको दास नबनाऔं


हेर
पहाडहरुले पहाड ढोगेका
पहाडहरुले पहाड बोकेका
पहाडले  नै पहाडलाई ढेपेका
पहाडले  नै पहाडमाथि  टेकेका
पहाडका अनगिन्ति आकृति
पहाडका चालढाल र अन्तर्दृष्टि
पहाड रुंघ्ने पनि पहाडहरु
पहाड सुँघ्ने पनि पहाडहरु
पहाडलाई काट्ने / लछार्ने पनि पहाडहरु
पहाडलाई चाट्ने/ मुसार्ने पनि पहाडहरु
सेता काला बादलका पछौरीहरु
परस्पर साटासाट गरिरहेका

आफ-आफैं माथि चढ्ने,
अड्ने, लड्ने र घचेटने
यी पहाडहरुको पनि
तिम्रो मेरो जस्तै कुनै नाता त होला नि !

आऊ पहाडहरुलाई चिनौं,
हामीसंग यत्तिका धेरै पहाडहरु छन्
एकपल्ट पहाडहरुको बस्ती हेरौं
सोचका खोंचहरुबाट माथि उक्लेर
आफुलाई फेरौं !
मनोरम पहाडका ढाडमा पल्टिएर
सम्भावनाका बिशाल फाकटहरु कोरौं !  

No comments:

Post a Comment

javascript:void(0)