Thursday, October 25, 2018

घाम / रूख















एकदिन घामले भन्यो - 
'रुख ! म तिम्रो फेदैमा आएर बस्छु 
जुग जुगांतरको मेरै तापले
म अत्यन्त प्रताडित छु
तिमी मलाई एकछिन छहारी देऊ  
थोरै शितल हुन देऊ’

रुखले बिनम्र भै आग्रह गर्यो –
‘प्रभु, अनन्त ऋणी छु म हजुरको,
हजुर भएकै कारण म छु
मेरो बीउ, बेर्ना देखि यो बिशाल वृक्षसम्म
म हजुरकै कृपा हुँ
मेरा पात पातमा हजुर छाउनु हुन्छ
र मेरो शरीर र प्राण बन्छ  
मेरा नशा नशामा हजुरकै करुण रस बग्छ
हजुर बिना म मेरो अस्तित्व कल्पनै सक्तिन

तर लाख बिन्ति छ  
हजुर मेरो यत्ति नजिक नआईदिनुहोला
हजुरको सन्ताप ममा नसारिदिनुहोला
म काबिल छैन त्यसको
असीम कृतज्ञताबाहेक
म हजुरलाई कुनै चिज चढाउने सामर्थ्य राख्दिन
मै भष्म भैजाउँला बरु
मेरो छहारीमा हजुर अट्नुहुन्न’

रुखको बचनबाट निरास घाम  
पर क्षितिजमा पुगेर डुब्नै लाग्दा
उसका दुई आँखामा
सागरका छालजस्तै केही
टिलपिलाइरहेको देखिन्थ्यो |


ऐलान




एउटा ठूलो पीर थियो मसंग
आज त्यसलाई मैले
अग्लो भीरबाट खसाएर आएँ
अब मसंग कुनै पीर बाँकी छैन

एउटा ठूलो डर थियो मसंग
आज मैले त्यसलाई
एउटा मसाने बगरमा गाडेर आएँ
अब मसंग कुनै डर बाँकी छैन

अब मेरो मनको मालिक मै हुँ
अब मेरो स्वाभिमानको सम्राट मै हुँ
अब मेरो आरोहणको अगुवा मै हुँ
मेरो उडानको उर्जा पनि मै हुँ

धन्य आंधी बतास,
धन्य अंध्यारो रात,
ज-जसले मलाई उचाल-पछार पारेर  
मेरो निजत्व चिनाए   
कालो पत्थरभित्रको हीरा   
र सुनाखरी थेग्ने जरा देखाए
भने – हिंड्ने भए खश्रो भुइं रोज,
चिल्लो – चिप्लोको भर हुँदैन     

अन्यथा  
म के हुन्थें
हावामा निरुद्देश्य तैरिरहेको
एउटा अर्को
सिमलको भुवाभंदा बढ्ता ? 

एउटा ठूलो संकोच थियो मसंग
आज मैले त्यसलाई
नदीको खोंचबाट बगाएर आएँ 
अब मसंग कुनै संकोच बाँकी छैन |


Saturday, October 20, 2018

द्वैधता





















संसारको सबैभन्दा दुखी मानिस हिंड्ने बाटो हो-
द्वैधता
जहाँ कोही बुझ्दैन फूलको सुन्दरता
तैपनि ऊ भनिदिन्छ : ओहो क्या सुन्दर प्रकृतिको छटा !
जहाँ कोही बुझ्दैन जुनको उज्यालो
तैपनि भनिदिन्छ – ख्वै अब कहाँ बाँकी छ अँध्यारो ?

ऊ हिसाब गर्छ मनमनै
एक झुप्पा फूलको बजारमूल्य
र त्यसैबाट योजना बनाउँछ कुनै शिकारको
एउटा क्रुर, निर्लज्ज, कुरूप योजना !

टहटह पूर्णिमाको रातमा पनि
औंशीको भन्दा भयानक कालो हृदय बोकेर  
ऊ बाहिर निस्कन्छ 
र बोलाउँछ अबोध शिकारजन्य प्राणीहरुलाई-
‘आओ, उत्सवको निम्ता मान्न आओ
तालमा ताल मिलाओ, नाच, गाओ’
यसरी हाँस्दै रमाउंदै गर्दा
आफ्नै संगीको गला निमोठ्ने मनसाय लुकाइराख्नु
कत्ति कष्टकर होला ?
कत्ति दयनीय होला,
पलपलमा तूफानी सत्यसँग ठोकिंदै जोगिन खोज्नु,
अनायास झस्किनु पटक पटक ?

ऊफ, जिन्दगी नै यसरी
एकपछि अर्को नक्कली भेषमा कटाउनु
र बनावटी श्वास फेर्नु
कत्ति निरस, बिरक्तिलाग्दो र ग्लानिपूर्ण होला ?

निसन्देह, 
संसारको सबैभन्दा दुखी मान्छे
हिंड्ने बाटो हो-द्वैधता !

Tuesday, September 25, 2018

सम्बाद

















बादलुले घेर्नै लाग्दा
चाँदनीले गुहार माग्दा
जुनकिरीले बोल्यो - "दाजै
यो घुम्टोलाई छैन लाजै
भोलि फेरि हुन्छ बरै
घुम्टो छुटी जान्छ बरै
म छु तिम्रो झिल्को सहारा !"

कीट्को भाषा मनमा गढ़यो
बादलुले आँखा तर्यो -
"सधैं भरी चिसो छाति
बोकी उड्छु माथि माथि
त्यस्तो भोलि आउला कैले
न्यानो काख पाउँला कैले ?
बतासले लतार्दामा
को छ मेरो दिलको सहारा ?"

“साथी ! ” भन्यो बतासले -
"किन बोल्यौ अत्यासले ?
आकाशका तारा हेर
कत्ति टाढा टाढा हेर
कैले नजिक हुनु बरै
मनको मैलो धुनु बरै
सबको आफ्नो आफ्नो स्थिति
सबको आफ्नो आफ्नो भार
बोकी लाउनु वार पार
यसैलाई मान्नु बहार !
राजै, कहाँ खोज्नु कस्को सहारा ?"

Wednesday, September 19, 2018

अरिंगाल र हाम्रो दुखेसो

तिमीसंग खील छंदैछ  
डस, अरिंगाल महाराज, डस !

हामीसंग खील छैन, डस्दैनौं
हामीसंग खालि एकजोर खुट्टा छन्
सडकमा निस्कन्छौं कहिलेकाहीं
र हावामा उराल्छौँ एकजोर हात
हामीसंग एकजोर खालि हात पनि छन्
सम्झेका छौ भने
पोहोर साल तिनै हातले 
भोट खसालेथ्यौं हामीले

थाहा पाइयो, तिमीसंग
निर्दोष बटुवाको छातीमै ताकेर हान्न मिल्ने
चुच्चा, छर्रा, डल्लाहरू पनि रहेछन्
हामीसंग ती पनि छैनन्
हामीसंग एउटा थुतुनो मात्रै छ
हल्ला, होहल्ला गर्ने
र त्यसैको भरमा
माइतीघर मण्डला,
मानवाधिकार चोक
टुँडिखेल
या चौबिसकोठी कहीं निस्केर कुर्लन्छौँ
रीस पोख्छौँ, खुट्टा बजार्छौँ

अरिंगाल प्रभो,
यतिबेला कन्चनपुरको उल्टीखामबाट
तिम्रो मुकाममा छिरेकी छन्
एउटी चट्पटवाली महिला र उनका श्रीमान्
आफ्नी छोरीको विभत्स हत्या र बलात्कारको कथा बोकेर 
र तिनका पछिपछि आएका छन्-
आधेक दर्जन एनजीओका ट्याऊंट्याऊंहरु
तिनीहरुसंग एक तिहाई नै कहाँ छ ?  
तानतुनले पनि पुग्दैन,
तिमीसंग दुइ तिहाई छ महाराज
नसुन, सुन्नुपर्दैन तिनका कथा
किनभने
तिमीसंग नभएको एकजोर कान मात्रै न हो
र अलिकति समबेदना
उसो त,
तिम्रो रोम रोममा
घुनुनुनु गुन्जिएकै छ
सुखी नेपाली र सम्बृद्ध नेपालको नारा
यसैलाई उराल, नाच, गाऊ, रमाऊ !  

हामी भने साह्रै दुखी छौं
किनभने यस्ता विभत्स कथा सुनेर
हामी बहकिएका छौं, हुंडलिंएका छौं
डराएका छौं आफ्नै छोरीचेली हुर्कंदै गर्दा    
मन चूकभंदा बढ्ता अमिलिएको छ हाम्रो
हामीसंग दुख्ने एउटै मन छ
र दुर्भाग्यबश:
त्यही नै मेची महाकाली जत्रो फराकिलो भएको छ
त्यो बेला बेलामा दुखिरहन्छ, टन्किरहन्छ

दु: ....!
यो हाम्रै भागमा मात्रै लेखिएको पनि हुनसक्छ !

हामी दुखी यसकारण पनि छौं कि
बग्रेल्ती खील पालेका अरिंगालहरु
तिमीजस्तै 
मालिक भएर बसेका छन् कुर्चीमा
तिनलाई हामीले माहुरी झैं खटेर पाल्नुपरेको छ,

तिमीसंग खील छंदैछ, .....................!
  


Sunday, September 2, 2018

एक कप चिया र जीवन
















जीवन भर पिइयो होला लाखौँ कप चिया
तैपनि अझै म
एक कप चियाकै तारिफ गर्दैछु

अहँ, कुनै चिज संग हुन सक्तैन
एक कप चियाको तुलना

पाँचतारे होटलका सम्मेलनमा 
साथीभाईका जमघटमा
मेला, जात्रा, कन्सर्ट, महोत्सबमा 
बिहे, ब्रतबन्ध, पुजा यज्ञमा
रेल, बस र जहाजका पट्यारलाग्दा यात्रामा
अहँ कहिं कतैपनि खाएका पिएका कुराले भेट्दैन
एक कप चियाको भाउ

मैले सम्झेकै छु
रात भरी जाँचको लागि पढेर
बिहान सबेर हुँदा पिएको एक कप चिया,
दिनभरी हिंडेर बल्ल बल्ल गाउँ भेटेपछि
बाटोछेउको पसलमा पिएको एक कप चिया,
दिनभरी बाँझो खेत खनेर 
अपरान्हतिर
बाटुलो रोटीसंगै पिएको तात्तातो एककप चिया,
हिंड्दा हिंड्दै
चिसो बतासले थप्पड मारेको  
या पानीले निथ्रुक्क पारेको बेलाको 
घरमा पाकेको एक कप दूधचिया, 
या
अस्पतालमा बिरामी कुर्दा कुर्दा
बल्ल पालो पाएर 
क्यान्टिनमा पिएको एक कप चिया,
पहिरोमा घन्टौं रोकिएर बल्ल खुलेको बाटोमा 
बसले खुवाएको चिया

अहँ तुलना हुनैसक्तैन अरु केही संग
एक कप तातो चियाले ल्याउने सान्त्वना
एक कप तातो चिया जस्तो संजीवनी

जीवन त्यही एक कप चियाजस्तो बनोस्
जीवन अरुबेला पिएको
हजार कप चियाजस्तो नबनोस्
जीवन मन लागी नलागी टाँस्सिएको
फलामको खिया जस्तो नबनोस् |
जीवन त्यही एक कप चियाजस्तो बनोस् |

Thursday, July 12, 2018

ब्याधा र शिकार









एकदिन यस्तो आउँछ
शिकार नै ब्याधा खोज्दै हिंड्छ
र उसलाई
असाध्यै बिरामी भेट्टाउंछ
अचेतमै बर्बराइरहेको यस्तो बिरामी
जसको स्वयम्लाई कुनै होश हुँदैन
त्यो देखेर
शिकार दुखी हुन्छ 
उप्रति सम्बेदनशील बन्छ
र यसअघि
आफुलाई बार बार झम्टने ब्याधालाई  
बिल्कुलै निर्दोष करार गरेर
उसको स्वास्थ्यलाभको प्रार्थना गर्दै फर्कन्छ
एकदिन यस्तो पनि आउँछ ........                 

एकदिन यस्तो पनि आउँछ
शिकारले नै ब्याधालाई पछयाउंछ
र उसलाई अत्यन्त भयभीत पाउँछ
र शिकार खूब सर्माउँछ
आफूमाथि पटक पटक थोपरेको भय
उसको भयको एक सानो टुक्रा मात्र रहेछ
यो सम्झेर शिकार दयालु हुन्छ
र शिकारीलाई डराइदिनेले
उसको डर घटाइदिउन् भनि कामना गर्छ

त्यसदिन शिकारलाई थाहा हुन्छ
ब्याधामाथि पनि
अर्को ब्याधा सबार हुँदोरहेछ
शिकारीलाई पनि शिकार बन्ने डर हुँदोरहेछ
एकदिन यस्तो पनि आउँछ

एकदिन यस्तो पनि आउँछ
शिकार ब्याधादेखि डराउन छाड्छ
र उप्रति अगाध करुणा भावले उद्देलित हुन्छ
अब उसलाई मर्नदेखि पनि डर हुँदैन |


javascript:void(0)