एकदिन घामले भन्यो -
'रुख ! म तिम्रो फेदैमा आएर बस्छु
'रुख ! म तिम्रो फेदैमा आएर बस्छु
जुग जुगांतरको मेरै तापले
म अत्यन्त प्रताडित छु
तिमी मलाई एकछिन छहारी देऊ
थोरै शितल हुन देऊ’
रुखले बिनम्र भै आग्रह गर्यो –
‘प्रभु, अनन्त ऋणी छु म हजुरको,
हजुर भएकै कारण म छु
मेरो बीउ, बेर्ना देखि यो बिशाल वृक्षसम्म
म हजुरकै कृपा हुँ
मेरा पात पातमा हजुर छाउनु हुन्छ
र मेरो शरीर र प्राण बन्छ
मेरा नशा नशामा हजुरकै करुण रस बग्छ
हजुर बिना म मेरो अस्तित्व कल्पनै सक्तिन
तर लाख बिन्ति छ
हजुर मेरो यत्ति नजिक नआईदिनुहोला
हजुरको सन्ताप ममा नसारिदिनुहोला
म काबिल छैन त्यसको
असीम कृतज्ञताबाहेक
म हजुरलाई कुनै चिज चढाउने सामर्थ्य राख्दिन
मै भष्म भैजाउँला बरु
मेरो छहारीमा हजुर अट्नुहुन्न’
रुखको बचनबाट निरास घाम
पर क्षितिजमा पुगेर डुब्नै लाग्दा
उसका दुई आँखामा
सागरका छालजस्तै केही
टिलपिलाइरहेको देखिन्थ्यो |
No comments:
Post a Comment