एउटा ठूलो पीर थियो मसंग
आज त्यसलाई मैले
अग्लो भीरबाट खसाएर आएँ
अब मसंग कुनै पीर बाँकी छैन
एउटा ठूलो डर थियो मसंग
आज मैले त्यसलाई
एउटा मसाने बगरमा गाडेर आएँ
अब मसंग कुनै डर बाँकी छैन
अब मेरो मनको मालिक मै हुँ
अब मेरो स्वाभिमानको सम्राट
मै हुँ
अब मेरो आरोहणको अगुवा मै
हुँ
मेरो उडानको उर्जा पनि मै
हुँ
धन्य आंधी बतास,
धन्य अंध्यारो रात,
ज-जसले मलाई उचाल-पछार
पारेर
मेरो निजत्व चिनाए
कालो पत्थरभित्रको हीरा
र सुनाखरी थेग्ने जरा देखाए
भने – हिंड्ने भए खश्रो
भुइं रोज,
चिल्लो – चिप्लोको भर
हुँदैन
अन्यथा
म के हुन्थें
हावामा निरुद्देश्य
तैरिरहेको
एउटा अर्को
सिमलको भुवाभंदा बढ्ता ?
एउटा ठूलो संकोच थियो मसंग
आज मैले त्यसलाई
नदीको खोंचबाट बगाएर आएँ
अब मसंग कुनै संकोच बाँकी छैन |
No comments:
Post a Comment