संसारको सबैभन्दा दुखी मानिस हिंड्ने बाटो हो-
द्वैधता
जहाँ कोही बुझ्दैन फूलको
सुन्दरता
तैपनि ऊ भनिदिन्छ : ओहो
क्या सुन्दर प्रकृतिको छटा !
जहाँ कोही बुझ्दैन जुनको
उज्यालो
तैपनि भनिदिन्छ – ख्वै अब
कहाँ बाँकी छ अँध्यारो ?
ऊ हिसाब गर्छ मनमनै
एक झुप्पा फूलको बजारमूल्य
र त्यसैबाट योजना बनाउँछ
कुनै शिकारको
एउटा क्रुर, निर्लज्ज, कुरूप
योजना !
टहटह पूर्णिमाको रातमा पनि
औंशीको भन्दा भयानक कालो हृदय
बोकेर
ऊ बाहिर निस्कन्छ
र बोलाउँछ अबोध शिकारजन्य प्राणीहरुलाई-
‘आओ, उत्सवको निम्ता मान्न आओ
तालमा ताल मिलाओ, नाच, गाओ’
यसरी हाँस्दै रमाउंदै गर्दा
आफ्नै संगीको गला निमोठ्ने
मनसाय लुकाइराख्नु
कत्ति कष्टकर होला ?
कत्ति दयनीय होला,
पलपलमा तूफानी सत्यसँग
ठोकिंदै जोगिन खोज्नु,
अनायास झस्किनु पटक पटक ?
ऊफ, जिन्दगी नै यसरी
एकपछि अर्को नक्कली भेषमा
कटाउनु
र बनावटी श्वास फेर्नु
कत्ति निरस, बिरक्तिलाग्दो र ग्लानिपूर्ण होला ?
निसन्देह,
संसारको सबैभन्दा दुखी मान्छे
संसारको सबैभन्दा दुखी मान्छे
हिंड्ने बाटो हो-द्वैधता !
No comments:
Post a Comment