एकदिन मैले भगवानलाई जिस्काएं,
‘मानिसलाई यहाँ कति मुश्किल छ -
आफ्नै एक दुइ जनालाई मनाउन
तिमी क-कसलाई मनाउँछौ ?
क-कसलाई बनाउँछौ ?
क-कसका पीर सम्झेर बस्छौ ?
क-कसलाई समाधान दिएर सक्छौ ?
हजारौं मानिस लाम लागेका छन्
मन्दिर, मस्जिद र गुम्बाहरुमा
लाखौँ उभिएका छन् गंगा किनारमा
खेतका किसान, दुकानका ब्यापारी
जात्राका जात्रु, यात्राका यात्री
दुखी-गरीब, रोगी-कम्जोर,
कैदी- बन्दी, अपराधी-चोर
नेता,कार्यकर्ता, दलाल, फटाहा
साराका सारा
तिम्रै सहारा खोजिरहेका छन्
तिमी
क-कसलाई आफ्नो हिसाबमा चढाउँछौ
क-कसलाई के के बाँडेर भ्याउँछौ ?
तिमी साँच्चिकै त्यति सर्ब-शक्तिमान छौ ?’
भगवानले फिस्स हाँसेर भने –
‘असम्भव, मनुवा ! असम्भव,
त्यो असम्भव छ एक्लैले गर्न
त्यो असजिलो पनि छ – असाध्यै,
पढेकै होउला कतै,
कहिलेकाहीं रामले सीतालाई र
शिवले पार्वतीलाई सम्झाउन नसकेको
लक्ष्मी र सरस्वती नमिलेको
गणेश र कुमार बाझाबाझ गरेको
स्वर्गमै पनि असजिलो छ धेरैथोक
कसैको वशमा छैन – सम्पूर्ण समाधान !’
तैपनि,
मलाई ढाडस दिंदै
भगवानले भने – ‘त्यसैले त मैले
राखिदिएको हुँ
धर्तीका हरेक प्राणीलाई
आफ्नो एक एक टुक्रा हृदय -
तिनकै अन्तस्करणमा !’
No comments:
Post a Comment