Wednesday, September 19, 2018

अरिंगाल र हाम्रो दुखेसो

तिमीसंग खील छंदैछ  
डस, अरिंगाल महाराज, डस !

हामीसंग खील छैन, डस्दैनौं
हामीसंग खालि एकजोर खुट्टा छन्
सडकमा निस्कन्छौं कहिलेकाहीं
र हावामा उराल्छौँ एकजोर हात
हामीसंग एकजोर खालि हात पनि छन्
सम्झेका छौ भने
पोहोर साल तिनै हातले 
भोट खसालेथ्यौं हामीले

थाहा पाइयो, तिमीसंग
निर्दोष बटुवाको छातीमै ताकेर हान्न मिल्ने
चुच्चा, छर्रा, डल्लाहरू पनि रहेछन्
हामीसंग ती पनि छैनन्
हामीसंग एउटा थुतुनो मात्रै छ
हल्ला, होहल्ला गर्ने
र त्यसैको भरमा
माइतीघर मण्डला,
मानवाधिकार चोक
टुँडिखेल
या चौबिसकोठी कहीं निस्केर कुर्लन्छौँ
रीस पोख्छौँ, खुट्टा बजार्छौँ

अरिंगाल प्रभो,
यतिबेला कन्चनपुरको उल्टीखामबाट
तिम्रो मुकाममा छिरेकी छन्
एउटी चट्पटवाली महिला र उनका श्रीमान्
आफ्नी छोरीको विभत्स हत्या र बलात्कारको कथा बोकेर 
र तिनका पछिपछि आएका छन्-
आधेक दर्जन एनजीओका ट्याऊंट्याऊंहरु
तिनीहरुसंग एक तिहाई नै कहाँ छ ?  
तानतुनले पनि पुग्दैन,
तिमीसंग दुइ तिहाई छ महाराज
नसुन, सुन्नुपर्दैन तिनका कथा
किनभने
तिमीसंग नभएको एकजोर कान मात्रै न हो
र अलिकति समबेदना
उसो त,
तिम्रो रोम रोममा
घुनुनुनु गुन्जिएकै छ
सुखी नेपाली र सम्बृद्ध नेपालको नारा
यसैलाई उराल, नाच, गाऊ, रमाऊ !  

हामी भने साह्रै दुखी छौं
किनभने यस्ता विभत्स कथा सुनेर
हामी बहकिएका छौं, हुंडलिंएका छौं
डराएका छौं आफ्नै छोरीचेली हुर्कंदै गर्दा    
मन चूकभंदा बढ्ता अमिलिएको छ हाम्रो
हामीसंग दुख्ने एउटै मन छ
र दुर्भाग्यबश:
त्यही नै मेची महाकाली जत्रो फराकिलो भएको छ
त्यो बेला बेलामा दुखिरहन्छ, टन्किरहन्छ

दु: ....!
यो हाम्रै भागमा मात्रै लेखिएको पनि हुनसक्छ !

हामी दुखी यसकारण पनि छौं कि
बग्रेल्ती खील पालेका अरिंगालहरु
तिमीजस्तै 
मालिक भएर बसेका छन् कुर्चीमा
तिनलाई हामीले माहुरी झैं खटेर पाल्नुपरेको छ,

तिमीसंग खील छंदैछ, .....................!
  


1 comment:

javascript:void(0)